ऋण लागेपछि जेट एयरवेजका सबै उडान बन्द





भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रूपमा स्थगन गरेको छ ।

इन्धन र अरू सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ ।

कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौँदेखि ऋणदाताको खोजीमा कम्पनी रहेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा ऋणदाताको खोजी भइरहेको तर अपेक्षित नतिजा प्राप्त भइनसकेको जनाएको छ ।

भारत सरकारले जेट एयरवेजको योजनामा लगानीका सम्भावना पहिल्याउन राज्य सञ्चालित बैंकहरूलाई अनुरोध गरिसकेको छ । यस कम्पनीमा हाल २३ हजारले रोजगारी पाएका छन् । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका थिए । उनले गत महिना अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

कम्पनीका पाइलट, इन्जिनियर र ग्राउन्ड कर्मचारीले महिनौँदेखि तलब सुविधा पाउन सकेका छैनन् । विमान सेवाको स्थगनसँगै टिकट लिइसकेका विश्वभर हजारौँ यात्रु अलपत्र परेका छन् ।

‘गएराति स्टेट बैंक अफ इन्डियाले जेट एयरवेजलाई पत्र पठाई अल्पकालीन ऋण उपलब्ध गराउन नसकिने सूचना दिएको छ,’ एयरलाइन्सले बताएको छ ।

ऋणदाताबाट कुनै पनि किसिमको आपतकालीन वा दीर्घकालीन लगानीको सुनिश्चितता नभएकाले इन्धन वा अरू दैनिक कार्यसञ्चालनका लागि रकम अभाव भएको छ । त्यसैले तत्काल लागू हुने गरी जेट एयरवेज सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडान रद्द गर्न बाध्य भएको छ ।

प्रतिक्रिया