रेणुको छत्रछायामा क्यान्सर अस्पतालमा लुटतन्त्र !

रेणुको छत्रछायामा क्यान्सर अस्पतालमा लुटतन्त्र !


भ्रष्टाचार र अनियमितताको केन्द्रस्थलका रूपमा समेत चिनिएको भरतपुरस्थित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा विगत नौ महिनादेखि अध्यक्ष चयन हुन नसक्दा ‘लुट’ बढेको समाचार प्राप्त भएको छ ।

अध्यक्ष चयन नभएपछि महानगर प्रमुख रेणु दाहाल आफैँले अस्पताल सञ्चालक समितिको अध्यक्षता ग्रहण गरेर बैठक चलाउँदै आएकी छिन् । उनले आफूअनुकूलका मानिसलाई संरक्षण दिन थालेपछि अस्पतालभित्र वर्षौंदेखि हुँदै आएको भ्रष्टाचारले सीमा नाघेको छ । २०० शय्याको अस्पताल भवन बनाउन करिब साठी करोड रुपैयाँ लगानी गर्ने टेन्डर सम्झौता भएको भए पनि लागत बढाएर दोब्बर पुऱ्याइएको छ, तैपनि भवनले पूर्णता पाएको छैन ।

करिब चार करोड रुपैयाँ पर्ने एमआरआई मेसिनको नौ करोड ३६ लाख भुक्तानी दिइएको छ । करिब दश करोड रुपैयाँमा खरिद गरिएको सीटी सेमुलेटर मेसिन सञ्चालन भएको ६ महिना नपुग्दै बिग्रिएको छ । नयाँको मूल्यमा पुरानो मेसिन ल्याइएको आशङ्का गरिए पनि त्यसबारे छानबिन गर्ने तत्परता लिइएको छैन । अस्पतालमा छुट्टै खरिद शाखा भए पनि प्रशासक गृहीनारायण महतो खरिदमा आफैँ अग्रसर हुने गरेका छन् ।

त्यस्तै, अस्पतालको मौजुदा नियमावलीलाई परिवर्तन गरी बाह्रौँ तहको बढुवा गर्ने अधिकार पाएको पदपूर्ति समितिमा आठ तहको कर्मचारी सदस्यसचिव रहने व्यवस्था मिलाइएको छ । अस्पतालजस्तो संवेदनशील ठाउँलाई राजनीतीकरण गरिएपछि कतिसम्म बेथिति र विकृति मौलाउँदो रहेछ भन्ने कुराको एउटा भद्दा उदाहरण क्यान्सर अस्पताल बनेको छ । रेणु दाहालले आफूनिकटका मानिसलाई लुटको मौका दिने सोचअनुरूपको व्यवहार गरेकोले कुनै पनि दिन अस्पतालमा दुःखद घटना हुन सक्ने आशङ्का गर्न थालिएको छ । कानुन अधिकृत गोकर्ण सापकोटालगायतले बिचौलियाको काम गर्न थालेपछि अस्पताल एकप्रकारको लुटको केन्द्रझैँ बन्न पुगेको छ ।

तर, अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ राज्यका कुनै पनि निकायले चासो देखाएका छैनन्, न भरतपुरवासी नागरिक समुदायले नै त्यतातिर ध्यान दिएका छन् । त्यसैले प्रचण्डपुत्री रेणुको संरक्षणमा अस्पतालभित्र लुटतन्त्र चलिरहने चिन्ताग्रस्त अवस्था पैदा भएको छ ।