नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिने : महासचिव पौडेल

नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिने : महासचिव पौडेल


  • बी. शर्मा, बेइजिङ

चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले तीव्रतर विकास गरिरहेको मित्रराष्ट्र चीनबाट एक छिमेकीको नाताले नेपालले धेरै फाइदा लिन सक्ने र नयाँ सालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा एकहप्ते चीन भ्रमणमा आएका महासचिव पौडेलले चीन बसाइका अवसरमा उच्च चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ र दुई पार्टी बीचको सम्बन्धलाई थप गतिशील बनाउने सम्बन्धमा छलफल भएको जानकारी दिए ।

बेइजिङ र सियान सहरका चिनिया कम्युनिष्ट पार्टी (सीपिसी) का उच्च पदाधिकारी एवं उच्च सरकारी अधिकारीहरूसँग भेटघाट गरी नयाँ सन्दर्भमा नया सम्बन्ध र अठोटका साथ सहकार्यमार्फत अगाडी बढ्ने सम्बन्धमा पनि फलदायी छलफल भएको महासचिव पौडेलको भनाई छ ।

नेपालमा नेकपा नेतृत्वको सरकारले समृद्धिको व्यापक अभियान सुरु गरेको र आमजनतामा सरकारबाट अपेक्षा पनि तीव्र रुपमा बढेको कारण यसलाई साकार रुप दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई उत्तिकै बढाउनुपर्ने खाँचो रहेको उनको तर्क थियो । विश्वको दोस्रो आर्थिक शक्ति चीनका लगानीकर्ताहरू नेपालमा लगानीको लागि उत्सुक रहेकोले नेपाल सरकारले त्यसको लागि आवश्यक वातावरण तयार गरिसकेको पौडेलले बताए ।

विश्वकै पुराना मुलुकहरू नेपाल र चीनबीच सदा सुमधुर सम्बन्ध रहेको भन्दै चिनिया नेताहरूले एक चीन नीतिमा नेपालको प्रतिवद्धता तथा अडानको प्रशंसा गरेका पौडेलले जानकारी दिए । आफ्नो भ्रमणले दुई छिमेकी मुलक एवं राजनीतिक पार्टीबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने विश्वास महासचिव पौडेलले व्यक्त गरे ।

यस्तै, नेता पौडेलको चीन भ्रमणलाई सहज बनाउन भूमिका खेलेका सीयान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा. राजिवकुमार झाले नेता पौडेलले चिनिया नेताहरुसँगको भेटमा दुई पार्टीबीचको सम्बन्धबारे मात्र नभई नेपालको समृद्धि अभियानमा चिनिया सहयोग र साथबारे गम्भीर कुराकानी गर्नुभएकोे जानकारी दिए ।

चीन भ्रमणकै अवसरमा नेता पौडेलले सीयान सहरस्थित सीयान विश्वविद्यालयमा स्थापना गरिएको साउथ एसियन स्टडिज सेन्टरको उद्घाटनसमेत गरे । उनले सीयानमा रहेको विश्वकै ठुलो बुद्धमुर्तिको अवलोकन भ्रमण गर्दै बुद्ध जन्मस्थल नेपालको लुम्बिनीको भ्रमण गर्न चिनियाहरूलाई निम्तो पनि दिए । सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको जानकारी दिँँदै उनले चिनिया बुद्धमाार्गी एवं अन्य समुदायका मानिसहरुलाई नेपाल भ्रमणको लागि आग्रह गरे ।

भ्रमणकै अवसरमा नेता पौडेलले सीयान मेडिकल कलेजमा रहेको ‘चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिवकुमार झा’को अवलोकन भ्रमण गर्दै अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्भावना उत्तिकै रहेको प्रतिक्रियाका साथ सो सेन्टरले गरेका कार्यको प्रशंसा गरेका थिए ।