यदुवंशी पथमा काङ्ग्रेस नेता

यदुवंशी पथमा काङ्ग्रेस नेता


नेपाली काङ्ग्रेसबाट सशक्त प्रतिपक्षको भूमिका निर्वाह हुने अपेक्षा भइरहेका बेला उक्त दलका मुख्य नेताहरू पार्टीभित्रका आफ्ना विरोधीहरूलाई ‘सिध्याउने’ अभियानमा जुटेका छन् । चौधौँ महाधिवेशनको समय निश्चित नहुँदै पार्टी नेताहरूलाई महाधिवेशन ‘लागेको’ छ र, उनीहरू सम्भावित विरोधीहरूलाई खोजी–खोजी तह लगाउने योजनाका साथ अघि बढेका छन् । यसक्रममा नेताहरूले आफ्नो बाटोका काँढा पन्छाउन हालै गठित अनुशासन समितिलाई दुरुपयोग गर्न सक्ने देखिएको छ ।

प्राप्त जानकारीअनुसार नेताहरूले अनुशासन समितिका सदस्यहरूलाई बोलाएर केही जिल्लास्तरीय नेताहरूलाई पार्टीबाट निष्कासन गर्न अनौपचारिक तवरमा निर्देशन दिएका छन् । स्वयम् पार्टी सभापति शेरबहादुर देउवाले जिल्लास्तरीय चार नेताहरूलाई पार्टीबाट निष्कासन गरिदिन भनेको बुझिएको छ । देउवाले काभ्रेका पार्टी सभापति मधु आचार्य, डडेल्धुराका सभापति कर्ण मल्ल, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी र पूर्वराज्यमन्त्री पुष्कर ओझालाई पार्टीबाट निष्कासन गरिदिन भनेका छन् । केसी र आचार्यलाई पार्टीबाट हटाउन देउवाले किन भनेका हुन् स्पष्ट हुन सकेको छैन ।

डडेल्धुरा र आसपासका जिल्लामा समेत हिन्दूधर्मका पक्षमा उभिँदै इसाईकरणलाई रोक्न सक्रिय रहेको र पत्नी आरजुको इच्छाविपरीत चल्ने गरेकोले मल्ललाई हटाउने पक्षमा देउवा रहेको बताइन्छ । यसअघि ०५९ सालमा काङ्ग्रेस विभाजन भएपछि आरजु राणालाई महासमितिको सदस्य बन्न असहयोग गरेको आरोपमा पनि कर्ण मल्ल पार्टीबाट हटाइएका थिए । त्यस्तै, पुष्कर ओझामाथि आरजु राणालाई निर्वाचनमा पराजित गरेको आरोप छ । कैलालीमा लोकप्रिय मानिएका पुष्करनाथ ओझालाई टिकट नदिएर देउवाले आफ्नी पत्नी आरजुलाई उम्मेदवार बनाएका थिए । करोडौँ रुपैयाँ खर्च गर्दा पनि गत संसदीय निर्वाचनमा विजयी बन्न नसकेपछि आरजुले ‘आफूलाई पुष्करले पराजित गराएको’ भनी आफ्ना पति देउवालाई कुरा लगाउँदै आएकी थिइन् ।

हालै अनुशासन समिति गठन भएपछि पुष्करनाथ ओझाविरुद्ध कारबाहीको माग गर्दै उजुरी परेको छ । देउवा पक्षबाट अनुशासन समितिमा भीष्मराज आङ्दम्बे (संयोजक) देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर तथा कोइराला पक्षबाट उमाकान्त चौधरी र धनराज गुरुङ रहेका छन् । समितिका सदस्यहरूलाई देउवाले बेग्लाबेग्लै बोलाएर पार्टीबाट निकाल्नुपर्ने व्यक्तिहरूको नाम टिपाएको सम्बद्ध सूत्रले जानकारी गराएको छ । उता तेह्रौँ महाधिवेशनमा देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेलले भने पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निष्कासन गरिदिन अनुशासन समितिका सदस्यहरूसँग हारगुहार गरिरहेका छन् ।

ज्ञातव्य छ, रामचन्द्र पौडेल आफ्नो मुख्य शत्रु गोविन्दराज जोशीलाई ठान्दछन् र जोशीलाई ‘ठेगान लगाउन’ उनी जोसँग जस्तोसुकै सम्झौता गर्न पनि तयार रहने मानसिकतामा देखापरेका छन् । पौडेलले देउवासँग कुरा मिलाएर गत महासमितिको बैठकमा सहभागी हुनबाट जोशीलाई रोक लगाउने सफलता प्राप्त गरेका थिए । उनी यतिबेला जोशीलाई पार्टीबाट निष्कासन गरेपछि मात्र आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने ठान्दछन् । यसरी काङ्ग्रेसका नेताहरू आ–आफ्नो भविष्य सुरक्षित तुल्याउन पार्टीका नेता–कार्यकर्तालाई पार्टीबाट निकाल्ने योजनाबद्ध प्रयासमा अग्रसर भएका छन्, तर स्वयम् पार्टीको भविष्य असुरक्षित भइसकेकोप्रति भने उनीहरू अनभिज्ञझैँ देखिएका छन् । नेताहरूकै कारण काङ्ग्रेस अझै ठूलो सङ्कटमा फस्ने सम्भावना बढेर गएको छ ।