पसलमा आगलागी हुँदा पचास लाखको क्षति

पसलमा आगलागी हुँदा पचास लाखको क्षति


सप्तरीको राजविराजस्थित मुख्य बजारमा बुधबार आगलागी हुँदा रु. ५० लाखबराबरको क्षति भएको छ । बजारका पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएको छ ।

आगलागीबाट राजविराजस्थित शहीद चोकमा रहेका सात पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट पशुपति रेडिमेड स्टोर, शौरभ शीतल महल, श्री पशुपति होटेल, अमृत वैष्णव होटेल, विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर र चौधरी सिको टाइम पसलमा क्षति पुगेको छ ।

आगलागी भएको पशुपति कोल्ड स्टोरका सञ्चालक अमृत साहका अनुसार घर र पसलहरू रहेको राजविराजको मुख्य बजारमा लागेको नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घन्टा लागेको थियो ।

बिजुली सर्ट भई पशुपति स्टोरबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आगलागी लागेको घटनाबारे र क्षतिको बाँकी विवरण संकलन कार्य भइरहेको जानकारी दिए ।