राप्रपाले ‘धर्मनिरपेक्षता’को ब्यानर र पोष्टर जलाउने

राप्रपाले ‘धर्मनिरपेक्षता’को ब्यानर र पोष्टर जलाउने


नेपाल सरकारसमक्ष हिन्दुराष्ट्र पुनःस्थापनालगायत २२बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रपाले बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै वैशाख ६ गते धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ ।

पहिलो चरणको जनसंघर्ष कार्यक्रमअन्तर्गत राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकासकेन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्यलगायतका मागहरू राखी एकघण्टे धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ । पहिलो चरणको तेश्रो कार्यक्रमअन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम प्रारम्भ गरेको राप्रपाले वैशाख ६ गते धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको हो ।

वैशाख ६ गतेको कार्यक्रम हिन्दुराष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने ‘टर्निङ प्वाइन्ट’ हुने राप्रपाले जनाएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले वैशाख ६ गतेको कार्यक्रम विगतदेखि हालसम्म सञ्चालन भएको हिन्दुराष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थानबिन्दुको रुपमा रहने दाबी गरे । उक्त दिन धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने तर संविधान जलाउने कार्यक्रम नभएको उनले प्रष्ट्याए ।

नेता श्रेष्ठले भने, ‘संविधानका आधारभूत मान्यतामा हाम्रो असहमति छ, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे हामीले फरक मत राख्दै संविधानलाई आलोचनात्मक समर्थन गरेका छौँ, संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण रुपमा आफ्नो मान्यता स्थापित गर्न संघर्षरत छौँ ।’

वैशाख ६ गते रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङ लगायतका नेताहरू सहभागी हुने बताइएको छ । राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा बैशाख ८ गते राजमार्ग र चोकहरूमा सत्याग्रह गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । आफ्ना मागप्रति सरकार गम्भीर नभए पार्टीको बैठक बसेर दोश्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरिने पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताएका छन् ।

ज्ञातव्य छ, गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आमजनतालाई जानकारी दिन तथा मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुनमै १५दिने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ ।