ओलीको भित्री समर्थनमा देउवा !

ओलीको भित्री समर्थनमा देउवा !


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गुप्त साँठगाँठ रहेको टिप्पणी काङ्ग्रेसभित्र हुन थालेको छ । प्रमुख प्रतिपक्षी नेताका हैसियतमा संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नजानु, सत्ता पक्षले एकलौटी ढङ्गले निर्णय गर्दै जानु, तर प्रमुख प्रतिपक्षी दलको रूपमा काङ्ग्रेस प्रतिवादमा नउत्रिनुले देउवा र ओलीबीच गुप्त समझदारी बनेको सङ्केत दिएको छ । एमालेको सङ्गठित सदस्य र पोलिटब्युरो सदस्यसरहको हैसियतका व्यक्तिका रूपमा समेत चिनिएका कनिष्ट सचिव दिनेशचन्द्र थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त गर्दा पनि देउवाले मौन सहमति जनाएका छन् । यस घटनाले देउवाबाहेकका काङ्ग्रेसीहरू थप सशङ्कित भएका छन् ।

काङ्ग्रेसका सशङ्कित नेताहरूले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सहमति बनाएर देउवा मौन बसेको सूचना पाएका छन् । देउवाले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउन खोज्दा उनी असफल भएका थिए । कहीँ न कहीँ चन्दलाई ‘एडजस्ट’ गर्न नसक्दा आफूलाई अप्ठ्यारो पर्ने ठान्दै आएका देउवाले निर्वाचन आयुक्तमा चन्दलाई नियुक्त गरिदिने सर्तमा केपीबाट भएका निर्णयहरूलाई सदर गरेको बुझिएको छ । तर, देउवाले निर्वाचन आयोगमा नियुक्तिका लागि कसको नाम सिफारिस गर्ने भन्ने विषयमा पार्टीभित्र कसैसँग पनि छलफल गरेका छैनन् ।

तथापि जयबहादुुर चन्दलाई आयुक्त बनाउन देउवाले प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गरिसकेको बुझिएको छ । देउवाले अख्तियारको रिक्त आयुक्त पदमा चन्दलाई नियुक्त गराउन चाहेको भए पनि प्रधानमन्त्री सकारात्मक नभएकोले निर्वाचन आयोगमा लैजाने सहमति भएको बताइन्छ । सभापति देउवाले केही समयदेखि संवैधानिक परिषद्को बैठकमा सहभागिता जनाउन छोडेका छन् । त्यसअघि बैठकमा उपस्थित हुँदा पनि देउवा सरकारको प्रस्तावमा असहमति जनाउने गर्दैनथे ।

अख्तियार प्रमुख र सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका समयमा पनि देउवाको भूमिका सन्देहास्पद मानिएको थियो । दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्न रोकेर चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश बनाउने क्रममा पनि देउवाको भूमिका रहस्यमयी थियो । चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाउन आफूले मुख्य भूमिका निर्वाह गरेको भन्ने आत्मरतिमा देउवा रमाइरहेका छन् ।

भनिन्छ, शेरबहादुर देउवा आफ्नी सासू प्रतिभा राणालाई जापानको राजदूतबाट फिर्ता नबोलाउने र महत्वपूर्ण राजनीतिक नियुक्तिहरूमा आफ्ना केही खास मानिसलाई समावेश गरिदिने सर्तमा केपी ओलीको सरकारप्रति ‘सकारात्मक’ बनेका हुन् । पार्टीहित या देशहितप्रति उदासीन रहे पनि देउवा आफ्नो हितप्रति भने अत्यन्त संवेदनशील र सचेत रहेको महसुस प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ कम्युनिस्ट नेताहरूले गर्न थालेका छन् ।