कर्णदास गुन्जने भए सिड्नीमा

कर्णदास गुन्जने भए सिड्नीमा


  • राजन घिमिरे, अष्ट्रेलिया

गायक कर्णदासको परिचयका लागि धेरै शब्द खर्च गर्नु आवश्यक छैन । गीत संगीत विधामा उनको मौलिकता या उनको अलग उपस्थितिले खासगरी नेपाली सांगीतिक फाँटमा कर्णदासलाई विशिष्ट पहिचान दिलाएको छ ।

उनका गीत संगीतको शुरूवात नै चलनचल्ती शैलीका गीतबाट भएन, आफ्नै विशेस उपस्थिति र पहिचानका साथ संगीत सिर्जना र गायनमा लागिरहे कर्णदास ।

‘जिन्दगीको के भरोसा
यो त सानो खेलौना हो
दुई आँखामा एकमा हाँसो
अर्कोमा रूवाई छ….’

आफ्नो गायन यात्राको शुरूवातमा नै कर्णदासले गाएको यो गीतले नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग ल्याइदियो । जब यो गीत चर्चाको शिखरमा थियो, तब उनको बारेमा बजारमा चर्चा चल्यो, ‘ कर्णदासलाई टिबी रोग लाग्यो, अब उनी बाँच्दैनन् …।’ अन्ततः यो हल्लामा मात्र सीमित रह्यो । यो हल्ला चलेको दुई दशक भन्दा बढी भैसक्यो तर कर्णदास निरन्तर गायन क्षेत्रमा लागिरहेका छन् । केही वर्ष अमेरिकामा प्रवासिँदा पनि उनको चर्चा र क्रेजमा कमी आएन ।

‘ठूला ठुला महल होइन
सिप सिकाउने झुपडी देउ दैव
हिंसा उमार्ने मैदान होइन
धान उमार्ने खेत देउ…’

राष्ट्रिय भावनाले ओतप्रोत यो गीत बजारमा आएपछि कर्णदासको साख, वजन र उचाईले अलग्गै पहिचान बनायो । नेपाली गीत संगीतको धरातललाई फराकिलो र वजनदार बनाएका कर्णप्रिय गायक कर्णदास शुक्रबार साँझ सिड्नीमा गुन्जने भएका छन् ।

‘सिड्नीको रगडेलमा रहेको रेड क्याप्सिकममा गायनका हस्ती कर्णदासको स्वर सुन्न पाइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ‘, कार्यक्रम संयोजक तारा गुरूङले जानकारी दिए । उनले अगाडि भने, ‘यस्ता विशिष्ट गायकको आवाजलाई नजिकबाट सुन्ने अवसर नछुटाउनु होला ।‘

कर्णदास लाईभ इन सिड्नी नाम दिइएको यो कार्यक्रममा गायक कर्णदासले कार्यक्रममा आफ्ना हिट नम्बरहरू प्रस्तुत गर्ने छन् । कार्यक्रमलाई पोखरा समाज अष्ट्रेलियाले पूरा रूपमा सहयोगीको भूमिका निभाएको छ । ‘सबै वर्ग, तह र तप्काका श्रोताहरूको प्रिय गायक कर्णदासको यो कार्यक्रम साँच्ची नै अविष्मरणीय हुने छ‘, पोखरा समाज अष्ट्रेलियाका महासचिव दीपक पहारीले भने ।

विशेष गरेर जीवन र जगतसँग मेल खाने गीतका सर्जक हुन कर्णदास । आज गाएर भोली हराउने गितको पछि लागेनन् यिनी । यिनले जती गीत गाए कालजयी र लामो समयसम्म टिक्ने र चल्ने गीत गाए । यस्ता सर्जकको आवाज सुन्न र यिनलाई नजिकबाट हेर्न यतिबेला सिड्नीवासी नेपालीहरू आतुर देखिएका छन् ।

‘अनौठो ब्यथा भएछ
मेरो प्रेम कहानी
न मनैमा सजाउन सकेँ
न कसैलाई सुनाउनै सकेँ …।’