एक्काइस तालिबान मारिए

एक्काइस तालिबान मारिए


अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिवान लडाकुविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिवान सशस्त्र विद्रोही मारिएका छन् ।

सो कारबाहीपछि तालिवानको नियन्त्रणमा रहेका विभिन्न २१ गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी दिएका हुन् । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानुनअनुसार सो गाउँ तालिवानको नियन्त्रणबाट फर्काउने क्रममा तालिवानका कमाण्डर काजी हसनसहित नौजना तालिवान लडाकु मारिएका छन् ।
त्यसैगरी गिलान कराबाघ र आब्जा ओमारी जिल्लाका २० भन्दा बढी गाउँमा गरिएको कारबाहीको क्रममा एक दर्जनभन्दा बढी तालिबान लडाकु मारिएका छन् । यस कारबाहीमा करिब २१ वटा गाउँ प्रहरीले तालिबानबाट पुनः नियन्त्रणमा लिएको बताइएको छ । यस कारबाहीको क्रममा करिब एक दर्जन व्यक्ति घाइते भएका पनि बताइएको छ ।

सो कारबाहीबारे अफगानिस्तानको सेनाले विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको छ । त्यस कारबाहीका क्रममा अफगानिस्तानको सुरक्षा निकायका अधिकारी के–कति हताहत भए भन्नेबारे भने केही बताइएको छैन ।

अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवानले गएको शुक्रबारबाट सरकारका विरुद्धको आक्रामक कारबाही भनी घोषित रूपमा नै आक्रमण गरिरहेका छन् । उनीहरूले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मी र अरू सर्वसाधारणलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ ।

केही समयअघि अमेरिकी अगुवाइमा अफगानिस्तानका तालिवानसँग शान्तिवार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिवानले यस्तो कारबाही थालेका हुन् ।

तालिवानले घोषित रूपमा सुरु गरेको भनिएको यस आक्रामक कारबाहीको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले निन्दा गरेको छ । तालिबानहरूले शुक्रबारदेखि सो कारबाही थालेका हुन् ।