वृद्धवृद्धालाई सताउने अस्पताल !

वृद्धवृद्धालाई सताउने अस्पताल !


राज्यले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गरे पनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो छुट पाउनु र सातपटक सगरमाथा चढ्नु उस्तै हुने देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको सबैभन्दा ठूलो प्रयोगशाला हो ।

रगत परीक्षणका लागि टेकु पुगेका धेरै वृद्धवृद्धाहरूले रगत जाँच्ने प्रक्रियाका हरेक चरणमा ज्येष्ठ नागरिक परिचयपत्र देखाउँदा पनि पूरै पैसा तिर्नुपरिरहेको छ । पूरै पैसा तिर्नुपर्ने भए यो ज्येष्ठ नागरिक परिचयपत्रबाट छुटचाहिँ केमा पाइन्छ त भन्ने प्रश्नमा त्यहाँ कार्यरत कर्मचारीले ‘लाइन बसेर टोकन लिनु पर्दैन नि’ भन्ने जवाफ दिइन् ।

ज्येष्ठ नागरिक परिचयपत्र देखाएपछि ५० प्रतिशत छुट पाउने आशामा टाढाटाढाबाट आएका वृद्धवृद्धालाई छुट पाउनका लागि परिचयपत्रका अलावा नागरिकताको फोटोकपी र वृद्धभत्ताको कार्ड साथमा ल्याउनुपर्ने भनियो । नागरिकताकै आधारमा ज्येष्ठ नागरिक परिचयपत्र बन्छ होइन र ? फेरि किन चाहियो नागरिकताको फोटो कपी भनेर गरिएको प्रश्नमा त्यहाँका कर्मचारीले ‘बूढाबूढी भनेर के गर्नु कम्ती झुट बोल्छन्’ भनेर वृद्धवृद्धाको अपमान गरेको देखियो । त्यहाँको नियमअनुसार छुट पाउनका लागि ती सबै कागजपत्र लिएर निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र उप्रेतीकहाँ सिफारिस लिन जानुपर्ने हुन्छ । निर्देशकले तोक लगाइदिएपछि मात्रै वृद्धवृद्धाले स्वास्थ्य जाँचमा आधा रकम छुट पाउनेछन् ।

तर, रोचक पक्षचाहिँ के छ भने निर्देशक डा. उप्रेती प्रायः विदेश भ्रमणमा हुने र कार्यालय आए पनि समयमै आउँदा १०–११ बजेतिर पुग्ने गर्छन् । १० बजे त सरकारी कार्यालय समय नै भयो । तर, प्रयोगशालामा ८ बजेदेखि मानिसहरू पुगेका हुन्छन् । धेरै टेस्टहरू खाना खानुअघि नै गर्नुपर्ने हुन्छ । बिहान ७ बजेदेखि प्रयोगशाला पुगेका वृद्धवृद्धाले सबै कागजपत्र बोकेरै गए पनि खाली पेटमा निर्देशकको प्रतीक्षा गर्दागर्दै कहिलेकाहीँ त दिन त्यसै बितेर जान्छ, तर निर्देशक मन्त्रालयलगायतका निकायमा मिटिङबाट कार्यालय पुग्न भ्याउँदैनन् । निर्देशकको व्यस्तता स्वाभाविकै भए पनि वृद्धवृद्धाले भने ५० प्रतिशत छुटका लागि अस्वस्थ शरीरका साथ निकै कठिन समय पर्खाइमा व्यतीत गर्नुपर्ने हुन्छ ।

घटना र विचार प्रतिनिधिले विभिन्न जिल्लाबाट आएका वृद्धहरूसँग कुराकानी गर्दा कसैसँग पनि त्यहाँ आवश्यक भनिएका कागजात थिएनन् । उनीहरूले ती कागजात चाहिन्छ भन्ने आफूहरूलाई थाहा नभएको र ज्येष्ठ नागरिक परिचयपत्र मात्रै साथमा ल्याएको बताए । प्रयोगशालाको बडापत्रमा पनि उक्त कुरा उल्लेख गरिएको थिएन । सूचना अधिकारी को हुनुहुन्छ भनेर सोध्दा ‘खै स्टोरतिरका कर्मचारी हुन् कि’ भन्ने जवाफ दिइयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा डाक्टर र प्राविधिकहरूको नामावली दिइए पनि सूचना अधिकारीको नाम उल्लेख गरिएको छैन । सार्वजनिक निकायहरूमा सूचना अधिकारी अनिवार्य रूपले राख्नुपर्ने व्यवस्था सरकारले गरेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका समुदायलगायतलाई सरकारले विशेष सुविधा दिइएको छ भनी प्रचारप्रसार मात्रै गर्नुभन्दा पनि सरकारले दिएका ती सुविधाहरूको कार्यान्वयन कसरी भइरहेको छ भनेर अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ ।