महिलातर्फ एपीएफ र पुरुषतर्फ सेनालाई स्वर्ण

महिलातर्फ एपीएफ र पुरुषतर्फ सेनालाई स्वर्ण


ब्याडमिन्टन महिला टिम इभेन्ट्समा एपीएफले स्वर्ण हात पा¥यो । एपीएफले सेनालाई २–१ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कांस्य पदक पाए । सुदूरपश्चिम सेनासँग र प्रदेश १ एपीएफसँग समान २–० को सोझो सेटमा पराजित हुँदै तेस्रो स्थानमा खुम्चिन बाध्य भए ।

पुरुष टिम इभेन्ट्सतर्फ सेनाले निकै कठिनका साथ स्वर्ण हात पार्न सफल भयो । सेनाले एपीएफलाई ३ २ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । टिम इभेन्ट्सको पुरुष एकलतर्फ राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङलाई एपीएफका दिपेश धामीले २१–११, २१–१२ अंकका साथ सहज पराजित गर्दै खेललाई १–० को अग्रता दिलाए । एक गेमको अग्रता लिएको एपीएफका सुदीप सेढार्इंलाई सेनाका नवीन श्रेष्ठले पराजित गर्दै खेल एक–एकको बराबरीमा ल्याए । खेललाई आफ्नो पक्षमा पार्ने क्रममा एपीएफका गौतम कठायतले सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै खेललाई २–१ मा पुऱ्याए । पुनः पुरुष एकलमा हार व्यहोरेका रत्नले नवीन श्रेष्ठसँग मिलेर टिम इभेन्ट्सकै पुरुष जोडीमा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई पराजित गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । अन्त्यमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपीएफका साजनकृष्ण ताम्राकार र सुदीप सेढाईंको जोडीलाई पराजित गर्दै ३–२ सेटका साथ सेनाका लागि स्वर्ण जोडे ।

पुलिस र सुदूरपश्चिम पुरुष टिम इभेन्ट्सतर्फ संयुक्त रूपमा तेस्रो स्थानमा रहे । एपीएफले सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटले पराजित गरेको हो । यस्तै, सेनाले सुदूरपश्चिमलाई ३–१ ले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१–१८, २१–१४ ले पाखा लगाउँदै फाइनल प्रवेश गर्ने आशा दिलाए तापनि अन्य खेलाडीले दाहालको लयलाई समात्न नसकेका कारण सेनालाई जित सुम्पन बाध्य भयो ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्णबहादुर बोहराले प्रदेश ३ का भोजबहादुर गुरुङलाई २१–१३, २१–१२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै, प्रदेश ५ का विश्व नेपाल र पुलिसका जीवन आचार्यको जोडी पनि दोस्रो चरण प्रवेश गर्न सफल भए । विश्वले सुदूरपश्चिमका प्रियांशुसिंह क्षेत्रीलाई ११–२१, २१–१३, २१–६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१–७, २१–११ ले पराजित गरे ।