ओलम्पिक टर्च लाइट लुम्बिनीमा

ओलम्पिक टर्च लाइट लुम्बिनीमा


आठौँ राष्ट्रिय खेलकुदको उदघाटनका क्रममा प्रज्वलन गरिने ओलम्पिक टर्च बुद्धजन्मस्थल लुम्बिनी आइपुगेको छ । प्रदेश नम्बर १ को विराटनगरबाट चैत २९ गते ओलम्पिक टर्च यात्रा शुरु भएको थियो । विराटनगरमा यसअघि राष्ट्रिय खेलकुदको सातौँ सस्करण आयोजना भएको थियो ।

विराटनगरबाट टर्च लिएर हिँडेका चारजना ओलम्पियनहरू जितबहादुर केसी, डम्बर कुँवर, विकास रानामगर र मेनुका राउत वैशाख २ गते सोमबार लुम्बिनी आइपुगेका हुन् । चारैजना ओलम्पियनले बुद्धजन्मस्थल लुम्बिनीमा रहेको विश्वशान्ति दीपको ज्योति ओलम्पिक टर्चमा प्रज्वलित गर्दै लुम्बिनी क्षेत्र परिक्रमा गरी गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।

यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको धनगढीमा सम्पन्न छैटौँ संस्करणमा पनि वैकुण्ठ मानन्धरसहितका पाँच ओलम्पियनले शान्तिदीपको ज्योति धनगढीसम्म पु¥याएका थिए । लुम्बिनीबाट शान्तिदीप ज्योतिसहितको ओलम्पिक टर्च बोकेर ओलम्पीयनहरू ५ गते प्रदेश नम्बर पाँचको नेपालगन्जमा हुने आठाँै राष्ट्रिय खेलकुदको उदघाटन स्थलमा पुग्नेछन् ।

उक्त टर्च राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्दै त्यहाँ रहेको ज्योतिमा प्रज्वलित गरेपछि आठौँ राष्ट्रिय खेलकुदको विधिवत शुरुवात हुने राष्ट्रिय खेलकुदको प्रचारप्रसार उपसमितिका संयोजक रोहित दाहालले बताए । यसअघि ओलम्पिक टर्च प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, चितवन, प्रदेश ४ को पोखरा, ५ को लुम्बिनी, भैरहवा, बुटवल पुगेको थियो ।

अब टर्च प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढी हुँदै ५ गते नेपालगन्ज पुग्नेछ । ओलम्पिक टर्च सातै प्रदेशका राजधानी तथा मुख्य शहरमा परिक्रमा गराइँदै छ ।