बक्सिङमा नेपाल आर्मीलाई चार स्वर्ण

बक्सिङमा नेपाल आर्मीलाई चार स्वर्ण


आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत २८औँ पुरुष तथा नवौँ महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीले चार स्वर्ण जितेको छ । चैत २ गते सोमबार भएको पुरुषतर्फको फाइनलमा सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण जित्न सफल भए ।

त्यस्तै, पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन् भने पुरुष ९१ केजीभन्दा माथिको तौल समूहको उपाधि भिडन्तमा प्रदेश ३ का सनी जुवाले पहिलो राउन्डमा खेल परित्याग गरेपछि आशिषले स्वर्ण चुमे ।

त्यसैगरी महिला ५१ केजीको फाइनलमा नेपाल आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई स्प्लिट निर्णयको आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् । पुनमले पनि एपीएफकी विनिता थापा मगरलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण चुमिन् ।

पुरुष ५२ केजीको सेमिफाइनलमा सफलता हात पार्दै एपीएफका विक्रम परियार र आर्मीका तेजबहादुर देउवाले फाइनलमा भेट पक्का गरेका छन् । पुरुष ५६ केजी तौल समूहको फाइनलमा भने एपीएफका पुरन राई र प्रदेश १ का सुरेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बू इजम र आर्मीका एकबहादुर घले फाइनलमा प्रवेश गरेका छन् ।