प्रचण्डको सक्कली अवतार

प्रचण्डको सक्कली अवतार


  • देवप्रकाश त्रिपाठी

हरेक मानिस आफ्नो जीवनमा सफल हुन चाहन्छन्, अगाडि बढ्न चाहन्छन्, सबैको या धेरैको प्रिय र प्रशंसित पात्र बन्न चाहन्छन्, नामी र दामी बन्न सदैव लालयित रहन्छन् । तर, कमैलाई मात्र आफू क्रियाशील विधामा बेग्लै पहिचान स्थापित गर्ने सफलता प्राप्त हुने गर्छ ।

वास्तवमा कुनै पनि क्षेत्रमा क्रियाशील मानिस सामान्य सतहभन्दा माथि उठेको देखिन्छ भने बुझनुपर्छ- त्यस व्यक्तिमा कुनै न कुनै प्रकारको विशिष्ट क्षमता छ । कला, राजनीति, शिक्षा, स्वास्थ्य, न्यायिक, वाणिज्य, उद्यम, पत्रकारिता र विज्ञान या कृषि जुनसुकै विधाका मानिस हुन् अगाडि आउन व्यक्तिमा विशेष क्षमता हुनैपर्छ । यद्यपि धेरै मानिस योग्यता र क्षमता भएर पनि कारणबस अलमलिइरहेका भेटिन्छन् । तर, जसमा क्षमता र योग्यताका साथ साहस हुन्छ त्यस्तो मानिस अरूहरूभन्दा अगाडि देखिन पुग्छ । वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी र त्यसयता विकास हुँदै गएको कम्युनिस्ट आन्दोलनमा प्रचण्डले बनाएको स्थान पनि त्यस्तै विशिष्टताका कारणले हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । प्रचण्डमा त्यस्तो के क्षमता छ जसका कारण उनी आफ्नो बेग्लै स्थान र पहिचान बनाउन सफल भएका छन्, त्यसको खोजीनितीको प्रयास यस लेखमा गरिएको छ ।

प्रचण्ड यतिखेर आफू शान्ति र संविधानको पक्षमा भएको प्रचार गर्दै या गराउँदै छन् र सँगसँगै उनले क्रान्तिको कुरा गर्न पनि छोडेका छैनन् । फ्रान्सको जस्तो मोडल रसियाले नअपनाएको, रसियाको जस्तो माओ त्से तुङको चाइनाले नअपनाएको र चाइनाले अवलम्बन गरेको ‘मोडल’ आफूले नअपनाउने- यहाँको क्रान्ति बेग्लै प्रकारले सम्पन्न गर्नुपर्छ र गर्न सकिन्छ भन्ने प्रचण्डको भनाइ रहिआएको छ । प्रचण्डको नेपाली मोडालिटीको कुरा जिम्बाबेका रोबर्ट मुगावेले व्यवहारमा लागू गरेको र इन्डोनेसियाका आइदिदले अपनाएको कार्यनीतिक सिद्धान्तभन्दा पृथक् छ भनेर बुझिरहनुपर्ने छैन । वैधानिक निकाय, विधिसम्मत मार्ग, प्रजातान्त्रिक प्रणालीमा निहित उदारताको चरम उपयोग र राज्य संयन्त्रमा सम्पूर्ण नियन्त्रण कायम राख्दै एकदलीय अधिनायकवाद स्थापना गर्नुलाई नै प्रचण्डले नेपाली मोडलको क्रान्ति भन्ने गरेका हुन् भनेर धेरैले बुझिसकेका छन् ।

विपक्षी र विरोधीहरूलाई हरेक मोर्चामा परास्त गर्दै, निस्तेज तुल्याउँदै अन्तत: एकलौटी सर्वसत्ता कायम गर्ने प्रचण्ड चालबाजीलाई कुनै शेरबहादुरबाहेक अधिकांश काङ्ग्रेसीले समेत बुझिसकेका छन् । तर, जनस्तरमा प्रचण्डको वास्तविक तस्बिर अझै स्पष्ट भइसकेको छैन । उनले शान्ति र संविधानको पक्षमा आएको बताउँदै क्रान्ति सम्पन्न गर्ने कुरा गरिरहँदा एकथरीले प्रचण्ड शान्ति र संविधानको पक्षमा आइसकेको ठानेका छन्, अर्काथरीले चाहिँ प्रचण्डले क्रान्तिमार्गलाई छोड्नुभएकै छैन भनेर बुझिरहेका छन् । वास्तवमा शान्ति स्थापना भयो भने संविधान निर्माण हुन्छ र संविधान निर्माण भयो भने क्रान्तिप्रक्रियामा पूर्णविराम लाग्छ । जब कि क्रान्तिका कुरालाई व्यवहारत: अघि बढाउन खोजियो भने शान्ति र संविधान निर्माणमा पूरै विराम लाग्छ ।

तर, प्रचण्ड एकैपटकमा दुई विपरीत धु्रवमा पुग्ने कुरा गरेर साम्यवादी र प्रजातान्त्रिक दुवै खेमाका मानिसलाई जिल्याउँदै छन् । क्रान्ति प्रक्रियाका नेता पनि आफैं बन्ने र शान्ति स्थापना प्रक्रियाको नेता पनि आफैं हुने जुन गफ प्रचण्ड दिँदै छन्, यी दुवै कार्य एकैपटक प्रचण्डबाट सम्पन्न हुन असम्भव छ । अन्तत: उनले या त कम्युनिस्ट आन्दोलनलाई धोखा दिनुपर्ने हुन्छ या शान्ति र संविधान निर्माणको चाहना राख्ने प्रजातान्त्रिक खेमालाई । दुईमध्ये कसले धोखा खानुपर्ने हो प्रतीक्षाचाहिँ दुवै थरीले गर्दा हुन्छ ।

प्रचण्ड अस्थिर चित्तका अति महत्त्वाकाङ्क्षी एवम् अहङ्कारी व्यक्ति हुन्, उनको आकाङ्क्षार र साहस नेपाललाई ‘कप्प’ खाने स्तरको मात्र छैन, विश्वलाई नै आफ्नो काबुमा लिन पाए हुन्थ्यो भन्ने तहको ‘चंगेज खाँ मनोवृत्ति’ यिनमा देखिन्छ । यिनी कहिल्यै र कुनै अवस्थामा पनि शान्त र स्थिर रहन सक्दैनन् । कहिल्यै पनि मानसिक स्थिरता र शान्ति प्राप्त गर्न नसक्ने भएकोले यस्ता मानिसले जीवनको खास मोडमा अप्रत्यासित र विपरीत छलाङ मार्न पनि सक्छन् ।

कृषिसम्बन्धी विषय पढेर एउटा जेटी या जेटीए बन्ने सपना देखेका युवा कम्युनिस्ट पार्टीमा गाँसिएर देशको प्रधानमन्त्रीसम्म बन्न सक्नुलाई सामान्य मान्न सकिँदैन । प्रचण्डमा केही विशिष्ट प्रतिभा, क्षमता र गुण या अवगुण भएकै कारण उनले आफ्नो बेग्लै पहिचान कायम गर्न सकेका हुन् भन्नेमा कुनै द्विविधा राख्नुपर्ने छैन । प्रचण्डमा देखिने एउटा क्षमता ‘परिस्थितिलाई बुझन र त्यसअनुरूप व्यवहार गर्न सक्ने’ हो । उनी कहाँ थिच्दा कहाँ बल्छ या निभ्छ भन्ने कुराको ‘सेन्स’ राख्छन् र अवसरलाई सदुपयोग गर्न कहिल्यै चुक्दैनन् । आफ्नो कुरालाई जसरी भए पनि ठीक या सही भएको देखाउने र सोहीबमोजिमको प्रभाव पार्न सक्ने क्षमता प्रचण्डमा छ । त्यस्तै समय, परिस्थिति र पात्रअनुसारको कुरा र व्यवहार प्रस्तुत गर्न सक्ने सामर्थ्य राख्ने उनी एकैपटकमा दोहोरो, तेहेरो र त्यसभन्दा बढी आवश्यकताअनुरूपको भूमिका निर्वाह गर्न सक्छन् । प्रचण्ड अत्यन्त कुटिल र चालवाज छन् । हरेकको कुरा र व्यवहारमा आफ्नो हित कहाँनेर छ र अर्को पक्षले के चाहेको छ भन्ने यिनी सजिलै बुझन सक्छन् ।

त्यसैगरी पात्र, परिस्थिति र विषय-सन्दर्भलाई आफूअनुकूल उपयोग गर्ने क्षमता पनि प्रचण्डमा पर्याप्त देखिन्छ । अत्यन्त निर्मम, कठोर र आवश्यक परे अति भावुक एवम् उदार भएर प्रस्तुत हुनसक्ने कलाकारिता पनि प्रचण्डमा छ । साध्य प्राप्तिप्रति अत्यन्त समर्पित र केन्द्रित प्रचण्ड आफ्नो गन्तव्य प्राप्तिका निम्ति कुनै पनि साधन अपनाउन हिचकिचाउँदैनन् । उनी हिंसा र अपराधजन्य क्रियाकलाप अपनाएर भए पनि गन्तव्य हासिल गर्न सदा प्रयत्नशील रहने स्वभावका छन् । प्रचण्डको अर्को एउटा विशेषता भनेको आत्मकेन्द्रित सोच हो । उनी जे गर्छन्, आफैं केन्द्रमा रहन र रहनेगरी गर्छन् । आफू केन्द्रभूमिमा नरहने अवस्था प्रचण्डलाई कहिल्यै र्गाह्य छैन, हरेकले आफूलाई सघाउनुपर्छ भन्ने मनोविज्ञान उनको छ । यिनी इष्र्यालु, सुविधाभोगी र बदलाको भावनाले र्गस्त पनि छन् । एउटा तानाशाह या अधिनायकवादीमा हुनुपर्ने गुण पनि प्रचण्डमा देखिन्छ । प्रचण्ड सत्ता र सत्तामुखी मात्र छैनन्, सत्ताबिना आफ्नो जीवन नै कल्पना नगर्ने तहमा उनी पुगेका छन् । कहिल्यै शान्त र स्थिर रहन नसक्नु प्रचण्डको अर्को विशेषता हो ।

प्रचण्ड अस्थिर चित्तका अति महत्त्वाकाङ्क्षी एवम् अहङ्कारी व्यक्ति हुन्, उनको आकाङ्क्षार र साहस नेपाललाई ‘कप्प’ खाने स्तरको मात्र छैन, विश्वलाई नै आफ्नो काबुमा लिन पाए हुन्थ्यो भन्ने तहको ‘चंगेज खाँ मनोवृत्ति’ यिनमा देखिन्छ । यिनी कहिल्यै र कुनै अवस्थामा पनि शान्त र स्थिर रहन सक्दैनन् । कहिल्यै पनि मानसिक स्थिरता र शान्ति प्राप्त गर्न नसक्ने भएकोले यस्ता मानिसले जीवनको खास मोडमा अप्रत्यासित र विपरीत छलाङ मार्न पनि सक्छन् । प्रचण्डले कहिले शान्तिको र कहिले क्रान्तिको कुरा गर्नुको एउटा कारण यो पनि हो । मानसिक रूपमा अस्थिर कुनै पनि मानिसले खास अवस्थामा मानसिक सन्तुलन गुमाए भने आर्श्चर्य मान्नुपर्दैन, त्यस्ता मानिस जोगी-सन्न्यासी भएर भौंतारिए भने त्यसलाई पनि अस्वाभाविक ठान्नुपर्दैन । यद्यपि, प्रचण्डले पूरा आयु बाँच्न पाए र चित्त स्थिर गर्न सके भने यिनले राष्ट्रलाई ठूलो योगदान पुर्‍याउन सक्छन् र आफैं पनि महान् बन्न सक्छन् । होइन भने कुरा स्पष्ट छ- अस्थिर चित्तका अति महत्त्वाकाङ्क्षी पात्रहरूले निश्चित कालखण्डमा जे-जस्ता परिणति भोग्नुपर्ने हुन्छ त्यसभन्दा बाहिर प्रचण्ड पनि रहन सक्ने विश्वास गर्न सकिँदैन ।

प्रचण्डलाई बुझन मुस्किल छ । करिब चार दशक लामो सहयात्राका साथी मोहन वैद्य र बाबुराम भट्टराईले त उनलाई बुझन सकेका छैनन् भने अरूहरूले जानी-बुझिसके भन्नु व्यर्थ हो । तथापि समग्रमा प्रचण्डलाई बुझदा उनी सरल देखिन खोज्ने तर अत्यन्त जटिल, बहादुर देखिन चाहने तर अत्यन्त कातर (काथर), सबैप्रति इमानदार हुन चाहने तर कसैका प्रति पनि इमानदार हुन नसक्ने, सामूहिताको कुरा गर्ने तर अत्यन्त व्यक्तिवादी, देशको कुरा गर्न कहिल्यै नछोड्ने तर गिरिजाप्रसाद कोइरालाजस्तै आफूभन्दा माथि उठ्न कदापि नसक्ने, नखोज्ने या उठ्न नचाहने व्यक्ति हुन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । सकारात्मक रूपमा भन्नुपर्दा कौटिल्य र नकारात्मक पात्रमा सकुनी, भावुकतामा हिटलर र साहसमा चंगेज खाँ या सिकन्दरझैं प्रतीत हुन्छन् प्रचण्ड । प्रचण्डको व्यक्तित्वबाट उनका नातेदार, मित्र र केही सहकर्मी/सहयात्रीहरूले त पर्याप्त लाभ हासिल गर्न सकेको देखियो, अब मुलुकलाई चाहिँ यिनको चामत्कारिक व्यक्तित्वको लाभ कसरी मिल्न सक्ला ? बस, प्रतीक्षा त्यसैको हुँदै छ ।

[email protected]