लनटेनिसतर्फ एनआरएनएलाई स्वर्ण

लनटेनिसतर्फ एनआरएनएलाई स्वर्ण


आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत १५औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका संरक्षकभूषण बज्राचार्यले स्वर्ण पदक जितेका छन् ।

सोमबार बुटवलमा सम्पन्न पुरुष एकल लनटेनिसको फाइनलमा बज्राचार्यले त्रिभुवन आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा हराए । खनालले रजत पदकमै चित्त बुझाए । उक्त स्पर्धामा गण्डकी प्रदेशका प्रदीप खड्का र एपीएफ क्लबका सन्तोष खत्रीले कास्य पदक पाए ।

यस्तै, महिला एकल लनटेनिसको उपाधि एपीएफ क्लबकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा उनले त्रिभुवन आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । त्रिभुवन आर्मीकी इरा रावत तथा प्रदेश ३ की रायना शाहले कास्य पदक पाए ।

यसैगरी पुुरुष युुगल इभेन्टस्तर्फ एपीएफ क्लबका जितेन्द्र परियार र आईभन्हो लिसानोभीचको जोडीले स्वर्ण पदक जित्यो । गण्डकी प्रदेशका प्रदीप खड्का र नबिन मगरको जोडीले रजत, गण्डकी प्रदेशकै धरम लामीछाने र अनील शाही तथा एपीएफ क्लबका छेवाङ लामा र सन्तोष खत्रीको जोडीले कास्य पदक प्राप्त गरे । यस्तै महिला युुगलतर्फ एपीएफ क्लबका सलोनी तामाङ र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक प्राप्त गरे । एपीएफ क्लबकै प्रेरणा कोइराला र एनी माथेमाको जोडीले रजत, गण्डकी प्रदेशकी श्रीया भट्टराई र रोमीका बुुद्धाचार्यको जाडी तथा त्रिभुवन आर्मीकी अभिलाशा विष्ट र आइरा एम रावतको जोडीले कास्य पदक जिते ।

यसैगरी मिश्रित इभेन्टस्मा एपीएफ क्लबका आईभन्हो लिसानोभीच र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक तथा त्रिभुवन आर्मीका प्रणब खनाल र अभिलाशा विष्टको जोडीले रजत, गण्डकी प्रदेशका अनिल साई र गङ्गा शर्माको जोडी तथा त्रिभुवन आर्मीका अभिनव आचार्य र आईरा एम रावतको जोडीले कास्य पदक प्राप्त गरे ।