विद्युत् प्राधिकरणले उदिपुर-भरतपुर २२० केभी प्रसारणलाइन बनाउँदै

विद्युत् प्राधिकरणले उदिपुर-भरतपुर २२० केभी प्रसारणलाइन बनाउँदै


नेपाल विद्युत् प्राधिकरणले लमजुङको उदिपुरदेखि भरतपुरसम्मको २२० केभी विद्युतीय प्रसारणलाइन बनाउने तयारी थालेको छ । मस्र्याङदी करिडोरबाट उत्पादन हुने विद्युत प्रवाहका लागि यो योजनाको थालनी भएको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार प्रसारणलाइन निर्माणका लागि बोलपत्र समेत आब्हान भइसकेको छ । अन्तराष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) मार्फत प्रसारणलाइन निर्माण हुन लागेको हो । मस्र्याङदी करिडोर अन्र्तगतको प्रसारणलाइन आयोजनाको काम आगामी सन् २०२० को जुनसम्म सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार प्रसारणलाइन निर्माणका लागि छनोट हुने ठेकेदारले प्रसारणलाइनको डिजाइन, निर्माण, आपूर्ति र सञ्चालनको काम गर्नुपर्ने हुन्छ । प्रसारणलाइनका लागि युरोपियन इन्भेष्टमेन्ट बैंकले ऋण सहयोग गर्ने भएको छ । दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहयोग (सासेक) अन्र्तगत नेपालको ऊर्जा प्रणालीको विस्तार योजना अनुसार प्रसारणलाइन निर्माण हुन लागेको हो । जेठ १७ गते अर्थात ३१ मेसम्मलाई बोलपत्र पेश गर्न अन्तिम दिन तोकिएको छ ।

अहिले मस्र्याङदी नदी बेशीनमा ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको तल्लो मस्र्याङदी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, ४ दशमलव ४ मेगावाटको राँधी, ५ मेगावाटको सिउरी, ४ मेगावाटको खुदी, दोर्दी करिडोरमा २ मेगावाटको छ्यांदी, मिदीम करिडोरमा ३ मेगावाटको मिदिम करापु लगायतका आयोजना संचालनमा छन् भने आधा दर्जन बढी आयोजना निर्माणाधिन छन् ।

मस्र्याङदी–काठमाडौं प्रसारणलाइनको काम पनि अघि बढेको छ । विद्युत प्राधिकरणले यस वर्ष ५ ओटा लाइन र एउटा सबस्टेसन बन्ने जनाएको छ । चालू आव २०७५७६ को अन्त्यसम्म मुलुकभर निर्माणाधीनमध्ये ६ ओटा प्रसारण लाइन र सबस्टेसन बन्ने अपेक्षा प्राधिकरणले लिएको हो ।

यो करिडोर बनेपछि त्यसक्षेत्रका दर्जनभन्दा बढी साना ठूला जलविद्युत् आयोजना गरी सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने बाटो खुल्नेछ ।