९ महिनामा ७० अर्ब कम राजश्व संकलन, लक्ष्य भेट्टाउन मुश्किल

९ महिनामा ७० अर्ब कम राजश्व संकलन, लक्ष्य भेट्टाउन मुश्किल


चालु आर्थिक बर्षको नौ महिनामा लक्ष्यअनुसार राजश्व संकलन भएन । सरकारले चालु आर्थिक बर्षमा ३५ प्रतिशत राजस्व संकलन बढाउने महत्वकांक्षी योजना लिइरहँदा चैत महिनासम्ममा लक्ष्यभन्दा ७० अर्ब रुपैयाँले कम राजश्व संकलन भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत चालु आर्थिक वर्षमा ३५ प्रतिशत राजस्व संकलन बढाउने महत्वकांक्षी योजना अघि सारेका थिए । तर, उनको योजना पूरा भएन । अर्थमन्त्री खतिवडाले राखेको लक्ष्य र संकलनबीचको अन्तर करिब ७० अर्ब रुपैयाँ छ । यता अर्थमन्त्रालयले भने फागुन मसान्तसम्म २३ प्रतिशतले राजश्व संकलन बढेको दावी गरेको छ ।

कहिले कति राजस्व संकलन ?
अर्थमन्त्रालयले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा ६ खर्ब ७० अर्बको लक्ष्य राखेकोमा ६ खर्बमात्रै राजस्व संकलन गरेको छ । चैतमा मात्रै १ खर्ब १७ अर्बको लक्ष्यमा ९० अर्बमात्रै संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुन मसान्तसम्ममा ५ खर्ब ५७ अर्बको लक्ष्यमा ५ खर्ब ८ अर्ब मात्रै संकलन भएको हो ।

सरकारले राजश्व संकलनमा महत्वकांक्षी लक्ष्य राखेका कारण चैतमा लक्ष्य हासिल भएको छैन । राजस्व संकलनको लक्ष्य र राजस्व संकलनको तथ्यांकबीचको दूरी झन्झन् बढ्दो छ । आर्थिक बर्षको पहिलो नौ महिना सकिँदा लक्ष्य र राजस्व संकलनको दूरी करिब ७० अर्ब रुपैयाँले नाघेको छ । तर सरकारी अधिकारी भने राजस्व संकलन गर्ने समयसिमा असारमसान्तसम्म रहेकोले सुधार हुने तर्क गर्छन् ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको सुरुदेखि नै राजश्वको लक्ष्य भेट्टाउन सकेको छैन । गत पुसयता लक्ष्य र संकलनको अन्तर निरन्तर बढ्दो छ । पुसमा २७ अर्ब रुपैयाँ अन्तर रहेकोमा पछिल्लो तीन महिनामा त्यो अंक बढेर ७० अर्ब पुगेको हो । चैतमा भन्सार राजस्व लक्ष्यको तुलनामा ९० प्रतिशत मात्रै संकलन भएको छ ।