विराटनगरबाट शुरु भएको ओलम्पिक टर्च सातै प्रदेशमा घुमाइने

विराटनगरबाट शुरु भएको ओलम्पिक टर्च सातै प्रदेशमा घुमाइने


आठौँ राष्ट्रिय खेलकुदका लागि विराटनगरबाट औपचारिक रूपमा ओलम्पिक टर्च हस्तान्तरण गरिएको छ । आठौँ राष्ट्रिय खेलकुदका विभिन्न खेल चैत २७ गतेदेखि शुरु भए पनि औपचारिक उद्घाटन वैशाख ५ गते हुनेछ । आठौँ राष्ट्रिय खेलकुदको उदघाटनका दिन पु¥याउने गरी पूर्वओलम्यिन खेलाडीले ओलम्पिक टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन् ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको व्यवस्थापनमा भएको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्ज्वलन गर्दै उदघाटन गरेका थिए । उक्त ओलम्पिक टर्च विराटनगर बजार घुमाउँदै अन्य प्रदेशमा लगिने कार्यक्रम रहेको छ ।

उक्त ओलम्पिक टर्च पूर्वओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले लिएर गएका थिए । प्रमुख अतिथि प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय खेलकुदको सफलताको शुभकामना दिँदै प्रदेशबाट सहभागी भएका खेलाडीलाई विजयी हुनका लागि शुभकामना दिएका थिए ।
सो अवसरमा प्रदेश सभा सदस्य जयराम यादव, विन्ध्या कार्की, सावित्रा रेग्मी र कुसुम श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायतको उपस्थिति रहेको थियो ।