आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु


आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा, बुटवललगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिष्पर्धी सहभागी हुनेछन् ।

कूल ३ लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपालदास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पुर्वअध्यक्ष हेम लामाले संयुक्त रुपमा आज (सोमबार) दशरथ रंगशालामा गरेका छन् ।

८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरूले भाग लिने उक्त प्रतियोगिता आगामी शनिबारसम्म दशरथ रंगशालामा संचालन हुनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफारहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यही फाउन्डेसनमार्फत गर्दै आएको छ ।