प्रधानमन्त्रीद्वारा समतालाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

प्रधानमन्त्रीद्वारा समतालाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण


प्रधानमन्त्री केपी शर्मा ओलीले सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई सोमबार गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउन्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लन्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ ।

प्रधानमन्त्री ओलीले रु. १०० मा विद्यार्थी पढाएर गरिबका छोराछोरीलाई फाउन्डेसनले गुन लगाएको बताउँदै राज्यले लिनुपर्ने दायित्व बहन गरेकामा खुसी व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’ प्रधानमन्त्री ओलीले समता स्कुलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको जनाउँदै सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएकामा बधाई व्यक्त गरे । प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर नहुने जिकिर गर्दै नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

मह जोडीको सहयोगमा सञ्जेलले सन् २००१ (वि.सं. २०५८ तिर) स्थापना गरेको सो स्कुलले मासिक रु. १०० शुल्कमा विभिन्न जिल्लामा शाखा विस्तार गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आर्थिक रूपमा कमजोर भएका र अरू कुनै कारणले विद्यालय जान नपाएका बालबालिकालाई सो स्कुलले विशेष ध्यान दिँदै आएको छ ।