बक्सिङमा दिवाना र ललिता सेमिफाइनलमा

बक्सिङमा दिवाना र ललिता सेमिफाइनलमा


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २८औँ पुरुष तथा नवौँ महिला बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेलमा दिवाना शेर्मा र ललिता महर्जनले जित हासिल गरेका छन् ।

४८ केजी तौल समूहको खेलमा नेपाल पुलिसकी दिवानाले प्रदेश ५ कि रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । सोही तौलको अर्को खेलमा नेपाल आर्मीकी ललिताले प्रदेश ५ कि प्रतिभा शाहीलाई एबीडी कन्टेस्टको आधारमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिन् ।

यसैगरी महिला ४८ केजीअन्तर्गतकै खेलमा प्रदेश ३ की सुष्मा तामाङ र प्रदेश १ की प्रतिभा श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरिन् । सुष्माले एपीएफकी सावित्री तामाङलाई अंकको आधारमा ४–१ ले तथा प्रतिभाले प्रदेश ४ की आकृति गुरुङलाई पनि अंककै आधारमा ५–० ले हराइन् ।

यसैगरी महिला ५१ केजीको क्वार्टरफाइनलमा प्रदेश १ की रोशनी लावतीले प्रदेश ७ की सुष्मा तामाङलाइ अंकको आधारमा ४–१ ले हराउँदा प्रदेश ३ की रोशनी राईले प्रदेश ६ की मीना घलेलाई पनि अंककै आधारमा ५–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिन् । सोही तौल समूहको अन्य खेलमा नेपाल अर्मीकी विमला श्रेष्ठले प्रदेश ५ की विमला थापालाई अंकको आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

महिला ६४ केजी तौल समूहको खेलमा नेपाल अर्मीकी पुनम रावलले प्रदेश ६ की अस्मिता चन्दलाई रेफ्री स्टप कन्टेस्ट (आरएसी) को आधारमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । सोही समूहको अर्को खेलमा प्रदेश १ की तृषा जागेबु लिम्बूले प्रदेश ३ की अम्बिका बिकेलाई अंकको आधारमा हराउँदै सेमिफाइनलमा प्रवेश गरिन् । सोही तौलको अन्य खेलमा प्रदेश ५ की माया चौधरीले वाकओभर पाइन् भने एपीएफकी विनिता थापामगरले प्रदेश ७ की सुलोचना जैसीलाई एबीडी कन्टेस्टको आधारमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिन् ।

यसैगरी पुरुष ४९ केजी तौलअन्तर्गतको खेलमा नेपाल आर्मीका सुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई अंकको आधारमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । क्वार्टरफाइनल खेल जारी छ ।