प्रथम राष्ट्रिय परिचयपत्र वाहक भगवतीदेवीको निधन

प्रथम राष्ट्रिय परिचयपत्र वाहक भगवतीदेवीको निधन


नेपालमै पहिलोपटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित एक सय दुई वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए । उनको शुक्रबार नै फिदिमस्थित होवा घाटमा दाहसंस्कारसमेत गरिएको छ ।

नेपालमै पहिलोपटक गत मंसिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए ।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको शुरुवातसमेत गरिएको थियो । गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण संकलन गरेर विवरण संकलन कार्यको शुरुआत भएको थियो । दिवंगत भण्डारीका दुई छोरा र एक छोरी छन् ।
rss