नयाँ बसपार्कमा नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शनी

नयाँ बसपार्कमा नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शनी


नेपाली हस्तकलाका सामाग्रीको विक्रिका लागि काठमाडौंका तीन स्थानमा केन्द्र खोलिएको छ । विदेशी सामाग्रीमा आकर्षण भएका बेला स्वदेशी हस्तकलाका फाइदाबारे जानकारी समेत दिन केन्द्र खोलिएको हो ।

नेपाली हस्तकलाका सामाग्रीहरु नेपाली हात र श्रमबाट तयार पारिएको हो । नेपाली हस्तकलाका सामाग्रीको प्रचार र व्यापारिकरण गर्नका लागि गोंगबु नयाँ बसपार्कमा बिक्रि केन्द्रको स्थापना गरिएको छ । यहाँ नयाँ बर्षको अवसर पारी बिशेष छुटका साथ हस्तकलाका सामाग्रीलाई प्रदर्शनीमा राखिएको छ ।

महिला तथा फरक क्षमता भएका उद्यमीले घरमै बसेर तयार पारेका सामाग्रीलाई प्रदर्शनीमा राखिएको संचालक अर्जुन थापाले बताए । उनका अनुसार नेपाली ढाका टोपी, पूर्वदेखि पश्चिम नेपालमा पाइने ढाकाका सामाग्री, नेपाली बाँस र काठबाट तयार पारिएका कलात्मक बस्तुहरुलाई प्रदर्शनीमा राखिएको छ । नेपाल क्राफ्टले महिला र फरक क्षमता भएका उद्यमीलाई जिविकोपार्जनमा सघाउने उद्धेश्यले उपत्यकाको पशुपतिनाथ क्षेत्र, बसुन्धारा र गोंगबु गरी ३ ठाउँमा बिक्रि केन्द्रको स्थापना गरेको छ ।

बैशाख २२ सम्म चल्ने हस्तकला बिशेष प्रदर्शनीमा नेपाली बस्तु खरिद गर्न आएकी तार्केश्वर नगरपालिका–४ की उमा भण्डारीले नेपाली श्रम र सिपलाई जोगाउनुपर्ने बताउँछिन् । गत आर्थिक बर्ष २०७४/७५ मा नेपालमा उत्पादित ५ अर्ब २१ करोड २० लाख ३३ हजार रुपैँयाको हस्तकला सामाग्री विदेश निर्यात भएको छ । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा करिव १९ करोड रुपैयाँ बराबरका हस्तकलाका सामाग्री चीनमा निकासी भएका छन् । सबैभन्दा धेरै ३० प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामाग्री अमेरिका निर्यात गरिएको छ ।