काठमाडौँमा चीनको हुनान सांस्कृतिक पोष्टरको प्रदर्शनी

काठमाडौँमा चीनको हुनान सांस्कृतिक पोष्टरको प्रदर्शनी


काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको बृहत प्रदर्शनी शुरु गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालका लागि चिनिया राजदुत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक यान फू छुले संयुक्तरुपमा सो प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटनपछि धारणा राख्दै हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक याङ फू स्यूले हुनानको कला नेपालमा प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए । हुनान प्रान्त सांस्कृतिक विविधताले भरिएकोले त्यहाँको संस्कृति कलामार्फत प्रदर्शन गर्ने जमर्को गरिएको बताए । प्रदर्शनीबाट हुनानको इतिहास, संस्कृति बुझ्न सहयोग पुग्ने उनले बताए । उनले हुनान अत्यन्तै सुन्दर भएकोले नेपालीहरुलाई घुम्न आउन निम्ता पनि दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदुत हौ यान्छीले आफू पनि हुनान पुग्न र हेर्न नपाएकोले प्रदर्शनीबाट धेरै कुरा जान्न पाएको बताइन् । सांस्कृतिक रुपमा सवल रहेको हुनान चिनियाँ नेता माओको जन्म स्थान पनि भएको बताउँदै राजदूत हौले एक पटक घुम्नु पर्ने ठाउँ भएको बताइन् । केहीवर्ष यता बेल्ट एण्ड रोड क्षेत्रको व्यवहारिक सहकार्यमार्फत मजबुत गरेको दुई मुलुकको सम्बन्धलाई हुनान क्षेत्रको सांस्कृतिक पोष्टरहरुले पनि जोडेको उल्लेख गरिन् । उनले भनिन्, ‘आजको पोष्टर प्रदर्शनी एक महत्वपूर्ण कदम हो । यसले दुई मुलुकको सांस्कृतिक आदानप्रदानलाई बढावा दिनेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता तथा सांसद महेश बस्नेतले हुनानको सांस्कृतिक पक्षलाई नेपाल सामु पस्केको बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्विरहरुले हुनान संस्कृतिको विशेषताहरु झल्काएको छ, त्यहाँको आदर्श जीवनशैली, स्वभावसादगी, इमान्दारीता र आत्मविश्वास तथा यस क्षेत्रको सफलता र विकासलाई समावेश गरेको छ ।’

तस्विर अवलोकन गरेर आगन्तुकहरुले हुनान प्रान्तको आर्थिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा भएको प्रगति एवम् उन्नती जान्ने मौका प्राप्त भएको उनले बताए । प्रदर्शनीमा ६० वटा पोष्टरहरु राखिएका छन्