शेयर लगानीकर्ताले ३५ अर्ब ४० करोड गुमाएको बर्ष २०७५

शेयर लगानीकर्ताले ३५ अर्ब ४० करोड गुमाएको बर्ष २०७५


२०७५ शेयर बजारका लगि निकै उतारचढावको बर्ष बन्यो । त्यस बर्ष लगानीकर्ताले ३५ अर्ब भन्दा बढी गुमाउन पुगे भने नेप्सेमा पनि झण्डै एकसय अंकको गिरावट देखियो । शेयर बजारका विषयमा पुरै बर्ष अर्थमन्त्री डा. युवराज खतिवडा आलोचित बनिरहे ।

शेयर बाजरमा वर्ष २०७५ लगानीकर्ताकालागि सुखद् रहन सकेन् । २०७५ बैशाख २ गते १ हजार २ सय ७७ दशमलव ५५ अंकबाट खुलेको नेप्से परिसूचक वर्षको अन्तिम कारोबार भएको दिन चैत २८ गते १ हजार १ सय ८४ दशमलव शुन्य २ अंकमा बन्द हुन पुग्यो । समग्रमा नेप्सेमा ९३ दशमलव ५३ अंकको गिरावट आएको छ । यो अवधिमा लगानीकर्ताले ३५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ गुमाएका छन् ।

अर्थमन्त्रालय, नेपाल धितोपत्र वोर्ड, नेपाल राष्ट्र बैंक लगायतले शेयर बजार सुधारका लागि विभिन्न प्रयास गरेपनि लगानीकर्ताले विश्वास गर्न नसक्दा बजार प्रभावित भएको देखिन्छ । त्यस्तै बैंक तथा वित्तीय बजारमा ब्याजदर उच्च हुँदा लगानीकर्ताले शेयर विक्री गरेर बैंकमा निक्षेप राख्दा बजार प्रभावित भयो । वर्षको सुरुमै हकप्रद र बोनस शेयर विक्रीमा पूँजीगत लाभकर गणना गर्ने विषयमा लगानीकर्ता र सरकारबीच विवाद भयो । यसले पनि शेयर बजारमा सरकार प्रति लगानीकर्ताले शंका गरिरहे ।

यस वर्ष अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो अभिव्यक्तिका कारण लगानीकर्ताबीच आलोचित बने । नेपाल स्टक एक्सचेन्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागु गरेपछि बजार विस्तार हुने अपेक्षा राखेका लगानीकर्ताले अनलाइन दर्ता र यसको प्रयोगमा नेप्सेले प्रयाप्त जानकारी दिन नसक्दा उत्साहित हुन सकेनन् ।

त्यस्तै, अनलाइन प्रणालीमा पटक पटक आएको समस्याका कारण लगानीकर्ता निराश देखिए । वर्षको अन्त्यतिर अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा तथा पूँजी बजारका लागि डोपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरे । समितिले दिएको अधिकांश सुझाव कार्यान्वयनमा आएपनि लगानीकर्ताले अझै विश्वास गर्न सकेनन् ।

बजार सम्रमा घट्दो अवस्थामा नै रह्यो । वर्षको अन्त्यमा बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने आकलन लगनीकर्ताले गरेपछि भने शेयर परिसूचकमा केही सुधार आएको छ । तर शेयरको खरिद भन्दा विक्रीचाप अझैपनि उच्च हुँदा बजारले लगानीकर्ताले सोचे अनुरुपको बाटो समाउन भने सकेको छैन् ।

यसैबीच केही लगानीकर्ता र उद्योगी व्यवसायीहरु पनि आन्दोलित भए । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदर घटाउन दबाब दिए । त्यसपछि ब्याजदरमा पनि केही कमि आयो । तरपनि बजारले लगानीकर्ताले सोचेजस्तो बाटो लिन भने सकेन् ।