सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार

सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार


– रमेश लम्साल
बैशाख १ अर्थात विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम ।

यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो । ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने कार्यक्रम समावेश गरेको छ । सोही कार्यक्रमलाई सफल बनाउने लक्ष्यका साथ आजदेखि सबै नेपालीको बैंक खाता खोल्ने अभियान शुरु भएको हो । वित्तीय रुपमा नेपाली नागरिकलाई सबल, सक्षम एवम् जागरुक बनाउने र सबै आर्थिक कारोवार बैंक खातामार्फत गर्ने गरी अभियान शुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय साक्षरतालाई जोड दिँदै सबै नेपाली यस अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको शब्दमा ‘पहिले पहिले थैलीका दिन थिए । अब चेकका दिन आए ।’ यस्तै अर्थमन्त्री डा खतिवडाले पनि सबै नेपालीको बैंक खाताले वित्तीय पुहँच स्थापित हुने बताउनुभयो । सबै नेपालीलाई सरल रुपमा वित्तीय पहुँच कायम गर्ने लक्ष्यका साथ २८ वटै ‘क’ वर्गका वाणिज्य बैंकले बैंक खाता खोल्ने गरी व्यवस्था मिलाइएको छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले सबै नेपालीलाई बैंक खाता खोल्नका लागि सहजीकरण गर्नेछ । सरकारको आग्रहअनुसार नै बैंकले नयाँ खाता खोल्नेलाई रु एक सय सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराउनेछ ।

सो अभियानअन्तर्गत बैंक खाता खोल्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । बरु बैंकले नै त्यस्ता खातावालालाई रु एक सय उपलब्ध गराउनेछ । शहरी क्षेत्रमा विशेषगरी रोजगारी तथा अध्ययन, व्यापार–व्यवसायमा संलग्नले अनिवार्य रुपमा बैंक खाता खोलेका छन् । एकै व्यक्तिको पनि दुईभन्दा बढी बैंक खाता छन् । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । यस आधारमा हेर्दा कूल जनसङ्ख्याको थोरैको मात्र बैंक खाता नभएको जस्तो देखिन्छ । तर यर्थाथ भने फरक छ । एकै व्यक्तिका धेरै बैंक खाता छन् । ग्रामीण तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बैंक खाता खोल्नुपर्छ भन्ने चेतनासमेत पुगेको छैन ।

बैंक खाता खोल्न रहेको झन्झटिलो प्रक्रियालाई केन्द्रीय बैंकले सहजीकरण गरेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार बैंक खाता खोल्नका लागि सहजीकरण गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई थप सहजीकरण गर्दै नयाँ कार्यक्रम शुरु गरिएको छ ।

निजी क्षेत्रका वाणिज्य बैंकहरुले पनि बैंक खाता खोल्ने सरकारको अभियानमा साथ दिने गरी आवश्यक प्राक्रिया अगाडि बढाएका छन् । एनआइसिएशिया बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंकले विभिन्न नाम दिएर खाता खोल्ने अभियान यसअघि नै शुरु गरिसकेका थिए ।

नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार वित्तीय रुपमा सबै नेपाली नागरिकलाई जागरुक बनाउँदै बैंकिङ प्रणालीमा ल्याउन बैंक खाता अभियान महत्वपूर्ण कार्यक्रम हो । सो कार्यक्रममा २८ वटै वाणिज्य बैंक सहभागी छन् । खाता खोल्नका लागि सरल र सहज प्रक्रिया मिलाइएको ढुङ्गानाको भनाइ छ ।

एनआइसिएशियाले त सोही अभियान सँगै ‘एक नेपाली एक डिम्याट खाता’ कार्यक्रम अगाडि बढाएको छ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सबै नेपालीलाई जलविद्युत् आयोजनाको शेयर उपलब्ध गराउने निर्णय गरेकाले हितग्राही खाता जरुरी रहेको छ ।

नयाँ खाताका लागि नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये आफूसँग जुन उपलब्ध छ, त्यही लिएर बैंकका शाखामा जानुपर्नेछ । यस्तै स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्रबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ ।

अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७१७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । चालू आवको अन्त्यसम्म सकेसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको तयारी छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ को माघसम्म कूल ७११ स्थानीय तहमा बैंकका शाखा पुगेका थिए ।