काङ्ग्रेस धरासायी भएको महामन्त्रीको स्वीकारोक्ति

काङ्ग्रेस धरासायी भएको महामन्त्रीको स्वीकारोक्ति


नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस धरासायी भएको स्वीकार गरेका छन् । आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको डा. शशाङ्कले आइतबार बनेपामा आयोजित एक कार्यक्रमबीच बताएका हुन् ।

नेपाली काङ्ग्रेस बनेपा नगर समितिले आयोजना गरेको ‘नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान’ कार्यक्रममा महामन्त्री कोइरालाले काङ्ग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष भएको तर्क गर्दै पार्टीभित्र एकजुटता भए काङ्ग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे । एकताको सन्देश दिन सक्नुपर्ने उनको सुझाव थियो ।

बीपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको भन्दै उनले नयाँ वर्षले एकजुट हुने अवस्था मिलाइदियोस् भन्ने कामना गरे ।

सो अवसरमा महामन्त्री कोइरालाले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप लगाए । सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने उनको भनाइ थियो ।

हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा काङ्ग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको तर्क उनले गरे ।