स्नानका क्रममा नारायणीमा बगे रुपन्देहीका युवा

स्नानका क्रममा नारायणीमा बगे रुपन्देहीका युवा


नयाँ वर्षमा चितवन घुम्न पुगेका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सो क्रममा नदीले बगाएका अर्का एक युवकलाई चाहिँ प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकीनगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ । उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ । गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आज बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो । बुटवलबाट तीन जना युवक नयाँ वर्षमा घुम्न आउने क्रममा नदीमा नुहाउँदा बगाएको प्रहरीको भनाई छ ।