ओमानमा यसरी गरियो नववर्ष २०७६ को स्वागत

ओमानमा यसरी गरियो नववर्ष २०७६ को स्वागत


  • आरके श्रीवास्तव, ओमान

ओमानमा रहेका नेपालीहरूले वि.सं. २०७५ लाई विदाई र नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै नववर्ष उत्सव मनाएका छन् ।

राजधानी मस्कटबाट करिव एक हजार किलोमिटर टाढा ओमानको सलालाहमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद (सलाह)ले भव्य रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्ष उत्सव मनाएको हो ।

कार्यक्रममा नेपालदेखि आएका चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर र मोडेल तथा डान्सर प्रियंका नेपालीले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए ।

त्यस्तै, अल बथिनाहा साहममा रहेका नेपालीहरू र नेपाल बज्जिका पत्रकार संघ ओमानले पनि नयाँ वर्षलाई उत्सवका रुपमा मनाएका छन् ।

यसैबीच, नेपाली काङ्ग्रेसको प्रवासी सङ्गठन नेपाली जनसम्पर्क समिति ओमानले नेपाली काङ्ग्रेसको ६९औँ स्थापना दिवस र नयाँ वर्ष उत्सव मनाएको छ । १२ अप्रिल २०१९ शुक्रबारका दिन राजधानी मस्कटस्थित बर्काको अलनुर रिसोर्टमा नेपाली जनसम्पर्क समिति ओमानको वार्षिकोत्सव र नयाँवर्षको अवसर पारेर कार्यक्रम आयोजन गरिएको समितिले जनाएको छ ।

जनसम्पर्क समिति ओमानका कार्यवाहक सभापति सालिक चापागाईंको अध्यक्षता र नवीन पङ्गेनीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा मनोरञ्जनात्मक कार्यक्रम र बनभोजको पनि आयोजना गरिएको थियो ।

यस अवसरमा ओमानमा रहेका सयौँ नेपालीहरूको सहभागिता रहेको र नववर्षको अवसरमा शुभकामना अदानप्रदान गरिएको थियो ।