ज्योतिषीय दृष्टिमा वि.सं. २०७६, कुन राशिका लागि कस्तो प्रभाव ?

ज्योतिषीय दृष्टिमा वि.सं. २०७६, कुन राशिका लागि कस्तो प्रभाव ?


– अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि – कठोर मिहीनेतको बलमा अन्नधन बढाउनुहुनेछ । रोकिएको धन उठ्ने र नयाँ आयस्रोत बढ्ने सम्भावना रहनेछ । शनि र केतुको कारण भाग्यगति मन्द रहला, तर पराक्रम स्थानको राहुले साहसी र सफल बनाउँनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । यस बर्षमा न्याय मिल्ने र यात्रा हुने सम्भावना रहला । नोकरी, कृषिकार्य, खेलकुद, राजनीति आदि क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्य, पारिवारिक जीवन, दाम्पत्य जीवन आदिको लागि अनुकूल रहला । ‘ॐ गं गणपतये नमः, ॐ अमृतेश्वर भैरवाय नमः’ मन्त्रको जात कल्याणदायक होला ।

बृष राशि – फाल्गुण ४ गतेसम्म शनिको अढैया प्रभाव रहेकोले र शनिले कर्मघरलाई स्वराशि दृष्टि राखेकोले सफलता मिल्नेछ, तर केही बढी प्रयास र परिश्रम गर्नुपर्ला । शनिको अशुभ प्रभाव बढेको अनुभव भएमा शनिबारको भैरवको दर्शन गरेमा, दीनदुःखीलाई भोजन खुवाएमा र हनुमानजीको पूजापाठ गरेमा कल्याणकारी होला । महत्वपूर्ण र ठूलो कार्यमा लापर्वाही नगर्नु उचित हुनेछ । शैक्षिक र पारिवारिक कार्यमा प्रगति होला । स्वास्थ्य र चोटपटकमा ध्यान राख्नु उचित हुनेछ । अरुमाथि बढी भर पर्नु र जोखिमपूर्ण काममा लाग्नु उचित नहोला । ‘ ॐ ह्रीं विश्वरुपाय नमः’ मन्त्र जाप गर्नु कल्याणकारी होला । कर्मबलमा सफल हुनुहुनेछ ।

मिथुन राशि – वैदेशिक, बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । पारिवारिक र दैनिक काममा सफलता मिल्नेछ । कार्तिक र चैत्र बीच शुभ काम, विवाह, व्रतवन्ध आदि हुनेछ । धन मान सुख समृद्धि बढ्ला । फाल्गुण ४ गतेपछि शनिको अढैया दशा प्रारम्भ होला । जन्मकुण्डलीमा शनि शुभ र योगकारक रहेमा हरेक प्रकारले प्रगति होला । शनि अशुभ फलदायक भएमा कठिनाई बढ्ला र कार्यमा बिघ्न आउला । शुभताको लागि शनि मृत्युंजयको पाठ गर्नु, भैरवको आराधना गर्नु हितकर होला । ‘ॐ दुं दुर्गायै नमः । ॐ अमृतेश्वर भैरवाय नमः’ मन्त्र जाप गर्नु हीतकर होला ।

कर्कट राशि – यस वर्षमा ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । बौद्धिक र भाग्यपक्ष बलियो बन्नेछ । प्रेम र पारिवारिक क्षेत्रमा अनुकूलता बढ्नेछ । व्यवसायिक र शैक्षिक पक्ष बलियो बन्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति मान महत्व वृद्धि हुनेछ । सुखशान्ति बढ्नेछ । ‘ॐ शाम्वसदाशिवाय नमः’ मन्त्र जाप गर्नु र पञ्चामृतले शिवलाई अभिशेष गर्नु कल्याणकारी होला ।

सिंह राशि – शैक्षिक र रचनात्मक कार्यमा सफलता मिल्ला, तर कठोर मिहीनेत गर्नु पर्ला । इष्टमित्र प्रेम सन्तान आदिसितको कार्यमा विशेष ध्यान राख्नुपर्नेछ । लाभ स्थानको राहुको कारण आर्थिक कार्यमा प्रगति भैरहनेछ । भाग्यले साथ दिनुसँगै यात्रामा सफलता प्राप्त होला । पारिवारिक सुख शान्तिमा बढोत्तरी हुनेछ । ‘ॐ नमोस्भगवते वासुदेवाय, ॐ गं गणपतये नमः’ मन्त्रको जप गर्नु शुभ होला ।

कन्या राशि – फाल्गुण ४ गतेसम्म शनिको अढैया प्रभाव रहला । जन्मकुण्डलीमा शनि योगकारक रहेमा सफलता मिल्नेछ र धन सम्पत्ति बढ्ला । अशुभ रहेमा विभिन्न कष्ट होला । शुभताको लागि शनि मृत्युंजय स्तोत्र पाठ गर्नु र दीनदुःखीको सेवा गर्नु हितकर होला । ‘ॐ शं शनैश्चराय नमः, ॐ अमृतेश्वर भैरवाय नमः’ मन्त्र जाप गर्नु अनुकूल होला । प्रेम, बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा विशेष ध्यान राख्नुपर्नेछ । समस्याको समाधान मिल्नेछ । धोखा हुने, ठगी हुने कुरामा सचेत रहनुपर्नेछ । स्वास्थ्यप्रति सजग रहनु पर्ला ।

तुला राशि – पराक्रम स्थानका शनि र केतुको कारण दीर्घ कार्यमा सफलता प्राप्त होला । आँट उत्साहमा वृद्धि होला । भाग्य घरको राहुले शुभ कार्य र वैदेशिक काममा बाधा दिनेछ । शुभताको लागि बजरंग बाणको पाठ गर्नु र भैरवको पूजा गर्नु कल्याणकारी हुनेछ । यस वर्षमा धन सम्पत्ति बढ्नेछ । फाल्गुण ४ गतेबाट शनिको अढैया दशा लाग्नेछ । यस अवस्थामा शनि मृत्युंजय स्तोत्र पाठ गर्नु हितकर रहला ।

वृश्चिक राशि – फाल्गुण ४ गतेसम्म शनिको अन्तिम साढेसातको प्रभाव रहला । शनिग्रह जन्मकुण्डलीमा योगकारक भएमा धन मान सुख सम्पति प्रदान गर्नेछ । अकारक र अशुभ भएमा विभिन्न कष्ट चिन्ता होला । शुभताको लागि शनिबारको ब्रत बस्नु, गरीब, कौवा, कुकुर र कमिलालाई भोजन दिनु हितकर होला । बौद्धिक र रचनात्मक कार्यको लागि वर्ष अनुकूलै होला । राहु आठौँ स्थानमा रहेको हुँदा शारीरिक र आर्थिक जोखिममा पर्नु उचित नहोला ।

धनु राशि – वर्षभरी शनिको साढेसातको प्रभाव रहला । जन्मकुण्डलीमा शनि शुभ र योगकारक भएमा आरोग्यता बढ्ला । धन सम्पत्ति बढ्नुसँगै सफलता प्राप्त होला । अशुभ भएमा विभिन्न प्रकारले समस्या वृद्धि हुनेछ । शुभताको लागि शनिको आराधना हितकर होला । ‘ॐ नमोःभगवते वासुदेवाय’ मन्त्रको जप हरेक प्रकारले कल्याणकारी रहला ।

मकर राशि – शनिको साढेसातको दशा चलिरहेको छ । आलस्य बढ्ने काममा बिलम्व हुने सम्भावना रहनेछ । छैठौं घरको राहुले ऋण रोग र शत्रुमाथि विजय प्रदान गराइरहेकोछ । यस वर्षमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाई काम गर्नु हितकर होला । स्वास्थ्य, चोटपटक, जोखिमको काम आदिप्रति सचेत रहनुपर्नेछ । शुभता वृद्धिको निमित्त शनि व्रत हितकर हुनेछ । कुम्भ राशि – अन्नधन बढिरहने छ । आयस्रोत वृद्धि होला र कार्यव्यापारमा सफलता प्राप्त होला । मित्रता, सन्तान, प्रेम आदिप्रति विशेष ध्यान राख्नुपर्नेछ । समस्याको समाधान खोज्नमा सफल हुनु हुनेछ । ‘ॐ अमृतेवर भैरवाय नमः’ मन्त्र जप गर्नुहोला ।

मीन राशि – शैक्षिक र रचनात्मक काम बन्नेछ । चतुर्थ स्थानमा रहेको राहुले ठगिने डर होला । स्वास्थ्यमा सुधार होला । काम विस्तारै बन्नेछ । ‘ॐ श्री लक्ष्मीनारायणाय नमः’ मन्त्र जप गर्नु हितकर होला । फाल्गुण ४ गतेपछिबाट शनि लाभ घरमा आउला । धन सम्पत्ति बढ्नेछ । उतरार्द्धमा अझ अनुकूलता बढ्ला ।