नयाँ वर्ष पार्टी एकताका लागि : सभापति देउवा

नयाँ वर्ष पार्टी एकताका लागि : सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नववर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रूपमा हुनुपर्ने बताएका छन् ।

नेपाल महिला संघद्वारा शुक्रबार नयाँ वर्ष ०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सभापति देउवाले नयाँ वर्षको शुभकामना व्यक्त गरे । उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टी एक हुनुपर्नेमा जोड दिए ।

कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष ०७६ उपलब्धिमूलक एवं मंगलमय होस् भनी कामना व्यक्त गरे । आगामी १० महिनापछि पार्टीको १४औँ महाधिवेशन गरी काँचुली फेर्नुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए कांग्र्रेसलाई अपूरणीय क्षति हुने बताए ।

पौडेलले नेपाल महिला संघलाई पार्टीको संगठनलाई बलियो बनाउन टोलटोलमा समिति गठन गर्न आह्वान गरे । उक्त कार्यक्रम संघकी पोखरा नगर समिति सभापति माया बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।