अष्ट्रेलियाको चुनावमा नेपाली युवा

अष्ट्रेलियाको चुनावमा नेपाली युवा


  • राजन घिमिरे, अष्ट्रेलिया

अष्ट्रेलियामा ब्यापार ब्यवसायमा मात्र होइन, पछिल्लो समय यहाँकोे राजनीतिमा समेत नेपालीहरूले आफ्नो उपस्थिति दर्शाउन थालेका छन् ।

प्रवासी जीवनमा सङ्घर्ष गर्दै नेपालीहरूको उपस्थिति एवम् पहुँच बलियो बनाउने क्रममा नेपाली युवा प्रमेज श्रेष्ठले अष्ट्रेलियाको राजनीतिमा बलियो छलाङ मारेका छन् । उनको यो छलाङलाई अष्ट्रेलियामा रहेका नेपालीहरूले गौरवको रूपमा लिएका छन् ।

आगामी महिना अर्थात् मे १८ मा अष्ट्रेलियामा हुन लागेको आम निर्वाचनमा नेपाली युवा प्रमेज (पिजे) श्रेष्ठ अष्ट्रेलियाको सत्तारूढ लिवरल पार्टीको तर्फबाट सङ्घीय संसदका लागि बर्तुन क्षेत्रबाट उम्मेदवार बनेका हुन् । बर्तुन क्षेत्रमा नेपालीहरूको बाक्लो बस्ती रहेको छ ।

७ वर्षको उमेरमा १९ वर्ष अगाडि विद्यार्थीको रूपमा अष्ट्रेलिया हानिएका प्रमेज नवलपरासीका ब्यवसायी मेघराज श्रेष्ठका छोरा हुन् । मेघराज अष्ट्रेलियामा लामो समयदेखि शिक्षा ब्यवसायमा आबद्ध हुँदै आइरहेका कहलिएका ब्यवसायी हुन् । मोडलिङ क्षेत्रमा समेत रूचि राख्दै अगाडि बढेका प्रमेजले मिस्टर नेपाल ओसिनिया शीर्षकको अवार्ड हात पारेका थिए ।

विशेष गरेर नेपाली समाजमा राम्रो प्रभाव पार्न सफल प्रमेज केही समययता अष्ट्रेलियाको लिवरल पार्टीको राजनीतिमा सक्रिय रहँदै आएका छन् । अष्ट्रेलियामा विद्यार्थीहरूले यातायातमा छुट पाउनुपर्छ भन्ने विषयमा आवाज उठाएका कारण पनि प्रमेज स्थानीयमाझ चर्चित छन् ।

एउटा प्रवासी नेपाली युवालाई अष्ट्रेलियाको सत्तारूढ दलले उम्मेदवार बनाउनु भनेको कम चानचुने कुरा होइन । यसलाई समग्र नेपालीहरूले गौरव र अवसरको रूपमा लिएका छन् ।

‘म जुनसुकै पार्टीको उम्मेदवार भएता पनि नेपालीहरुको हक–हितको पक्षमा लड्दै आफूलाई विश्वास गर्ने र मत दिने मतदाताहरूको पक्षमा आवाज उठाउने छु’, प्रमेजको प्रतिबद्धता छ ।

(नेपाली युवा प्रमेज अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कम टनबुलसँग : तस्बिर सौजन्य, मेघराज श्रेष्ठ)