राजपाको महाधिवेशन सर्ने, आज जिल्ला-जिल्लामा प्रदर्शन गर्ने

राजपाको महाधिवेशन सर्ने, आज जिल्ला-जिल्लामा प्रदर्शन गर्ने


राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । महाधिवेशनको तयारी पूरा नभएको भन्दै राजपाले आगामी वैशाख ७–९ मा पूर्वघोषित महाधिवेशनको मिति सार्ने भएको हो ।

राजधानीमा तीन दिनसम्म चलेको राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तयारी नपुगेको भन्दै अर्को मिति तय गर्न आगामी वैशाख ८ गते पदाधिकारी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकले पार्टी महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको संयोजकत्वमा राजपा नेपाल महाधिवेशन मूल आयोजक समिति गठन गरेको राजपा अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैक्रममा राजपाले ९ बुँदे मागसहित सरकारमाथि दबाबस्वरुप आज (चैत २९) मुलुकका सबै जिल्लामा प्रदर्शन र कोणसभा आयोजना गर्ने भएको छ । राजपाले एक सर्कुलर जारी गर्दै ‘२९ गतेको प्रदर्शन र कोणसभा किन ?’ भन्ने शीर्षकमा मागहरु लेखी पर्चा छपाएर वितरण गर्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको थियो ।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, संविधान संशोधनको माग पूरा गर, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहा गर, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गर र जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर लगायतका माग सोपार्टीले अघिसारेको छ । यस्तै, लाखौँ नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर, भ्रष्टाचारी, कालोबजारी, महँगी, बेरोजगारी बन्द गर, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर र राज्य आतंक र लोकतन्त्रविरोधी गतिविधि बन्द गर जस्ता माग राजपाले अघिसारेको छ ।