पुरानो वर्षको बिदाईसँगै जगाऔँ आशाको दियो

पुरानो वर्षको बिदाईसँगै जगाऔँ आशाको दियो


‘बदनाम’ बितेको वर्ष

यस साताको अन्त्यसँगै वर्ष २०७५ पुरानो साबित हुँदै छ । एक वर्षअघि ‘नयाँ वर्ष’को रूपमा ७५ साल आरम्भ हुँदै गर्दा मुलुकमा गजबको उत्साह–उमङ्ग र आशा उदाएको थियो । केपी ओली नेतृत्वको सरकार निर्माणको केही साता मात्रै बितेको थियो । प्रजातन्त्र पुनर्स्थापनाका २५ वर्ष द्वन्द्व र राजनीतिक अस्थिरताले गुज्रिएर निराश बनेका आमनेपालीले नेकपाको प्रचुर बहुमतको सरकारमाथि भरोसा जताएका थिए ।

सत्तासीन दलका कार्यकर्ता एवम् समर्थकहरूको त सवाल नै रहेन, राजनीतिक आस्थाका दृष्टिले फरक सोचविचार राख्ने तमाम नागरिकले समेत आ–आफ्ना राजनीतिक आस्थाको उपेक्षा गर्दै कम्युनिस्ट सरकारप्रति समर्थन जनाएका थिए । दशकौँपछि देशले बलियो र स्थिर सरकार पाएको थियो भने दुई ठूला कम्युनिस्ट दल एकाकार भएर बनेको सरकारका अगुवा एवम् हर्ताकर्ताहरूले मुलुकलाई जुरुक्कै उठाएर विकास र समृद्धिको उचाइमा पुऱ्याउने बाचा गरेका थिए । त्यो यस्तो माहोल थियो, प्रधानमन्त्रीका बोलीमाथि विश्वास नगर्ने कोही थिएनन् । सत्तापक्षीको त सवाल नै रहेन, प्रतिपक्षीसमेत आफ्नो अस्तित्व बिर्सेर सरकारी प्रतिबद्धताको पछुवा बन्न बाध्य बनेको थियो ।

त्यसरी विरोधी–विपक्षीले समेत आफ्नो आस्था, विचार, सोच, धारणा एवम् क्रियाकलापलाई अङ्कुश लगाएर नयाँ सरकारको समर्थन र स्वागत गर्नुको तात्पर्य थियो– राजनीतिक स्थिरता, शान्ति–सुरक्षा, आर्थिक विकास र समृद्धिको उत्कट चाहना । विरोधको लागि विरोध गर्ने नकारात्मक प्रवृत्तिको सिकार बनेको नेपाली समाज वा नेपालीजनले त्यसरी कुनै सरकारको समर्थन गर्दै आशा र विश्वास जगाएको त्यो परिवेश वास्तवमा ऐतिहासिक थियो ।

तर, नयाँ वर्ष २०७६ आरम्भ हुँदै गर्दा तमाम नेपालीका वर्ष दिनअघिको त्यो उत्साह, आशा र विश्वासमाथि तुफान गुज्रिएको अनुभूति हुँदै छ । विरोधको लागि विरोध गर्नेले त मौका पाएकै छन्, अन्धसमर्थकले समेत सरकारको समर्थनमा वकालत गर्न लाज मान्नुपर्ने माहोल पैदा भएको छ । यतिबेला वर्तमान सरकारको समर्थनमा जसले तर्क–वितर्क गर्न खोज्छ, उसले चाटुकार, हनुमान, सत्ताधारी नेताका झोले, राज्यबाट अनुचित लाभ प्राप्त गरेकोजस्ता अत्यन्त निकृष्ट आक्षेप खेप्न पुग्छ, उल्लिखित विशेषणको भागीदार ऊ नभए पनि । सरकारप्रति जनतामा उत्पन्न निराशा, असन्तुष्टि र आक्रोशको एउटा ज्वलन्त सङ्केत हो यो ।

हुन पनि गुलिया लक्ष्यदार भाषण जति नै सुनिए पनि राष्ट्रिय विकास–उन्नतिका दृष्टिले नेपाल अघि बढेको अनुभूति भने गर्न सकिएन । अर्थात्, आर्थिक विकासको कोणबाट २०७५ साल सफल र उल्लेख्य रहन सकेन । बित्थामा बितेर गयो भनिदिँदा पनि अतिरञ्जना ठहरिन्न ।

जनधनको सुरक्षा, शान्ति, सुशासनको सन्दर्भमा पनि मुलुकले विश्व–समुदायसामु लज्जित हुनुपर्ने घटना–परिघटना यस वर्ष कायम हुन पुगे । बलात्कार, हत्याजस्ता जघन्य अपराधहरूको चाङमा निर्मला पन्त नामकी बालिकाको बलात्कार र हत्याको बहुचर्चित मामला देशकै अनुहारमा धब्बा बनेर रहन पुग्यो । माथिदेखि तल्ला निकायसम्म मौलाएका भ्रष्टाचारका अनगिन्ती फेहरिस्तमध्ये ‘वाइडबडी’ विमान खरिदसँग जोडिएको अर्बौंको घोटला वर्ष पचहत्तरको मात्र नभई मुलुकको इतिहासमै भ्रष्टाचारको एउटा ‘मिसाल’ बन्न पुग्यो ।

दुईतिहाइ बहुमतको हैसियत प्राप्त सरकारद्वारा ऐन–कानुन, विधान–संविधान मिचेर गरिएका यावत् प्रकरणहरूका कारण पनि यो वर्ष बदनाम रह्यो । न्यायपालिका एवम् यस निकायसम्बद्ध पात्रविशेषहरूमाथि गरिएका खेलाँचीपूर्ण ‘छेडछाड’, प्रहरी, प्रशासन र यहाँसम्म कि नेपाली सेनाजस्तो भरोसाको निकायलाई समेत कमजोर पार्न भए–गरिएका दुस्प्रयत्नका साथै नागरिकताजस्तो अत्यन्त संवेदनशील विषयमा राज्यले अवलम्बन गरेको आत्मघाती नीतिलगायतका दुर्गतिका कारण पनि बितेको वर्ष एक बिर्सन नसकिने अवधिको रूपमा इतिहासमा दर्ज हुनेछ ।

जहाँ–जहाँ संविधानले प्रतिपक्षको आवश्यकता निर्दिष्ट गरेको छ, त्यहाँ–त्यहाँ सत्तापक्षले प्रतिपक्षीलाई ठेलपेल गरेर आफ्ना नियोजित निर्णयहरू लादेको उदाहरणहरू एकातिर प्रशस्त कायम हुन पुगे भने कुनै बेला अन्तिम भरोसाको शक्तिका रूपमा नाम कमाएको नेपाली काङ्ग्रेस नामको पार्टीले आफूलाई प्रतिपक्षीका रूपमा मात्र नभई आफ्नै दलभित्रको व्यवस्थापकीय भूमिकामा समेत ऐतिहासिक तवरले अकर्मण्यता दर्शाएर ७५ साललाई नै बदनाम तुल्याउन विशेष भूमिका निर्वाह गरिदियो । नकारात्मक कर्ममा सत्तासँग घाँटी जोड्ने, सकारात्मक भूमिका निर्वाह गर्ने मामलामा अत्यन्त निकम्मा वा निरीह स्वरूप प्रदर्शन गरेर काङ्ग्रेसले आफूलाई विघटनकै बाटोमा डोऱ्याएको आभास यसै वर्ष दिलायो ।

प्रतिनिधिमूलक यस्ता केही दुःखदायी उदाहरणका बाबजुद कतिपय राम्रा वा सुखद परिवेश पनि समयले स्वतः निर्माण गरिदिनु स्वाभाविक विषय हो । राज्य तथा यसका अवयवहरूले राम्रो गर्न नसक्दा पनि स्वतः राम्रा कामकुरा हुन्छन्, जो बितेको वर्षको सन्दर्भमा पनि लागू हुन्छ नै । यसरी आसैआसका बीच निराश हुँदै वर्ष २०७५ लाई हामी बिदाइको हात हल्लाउँदै छौँ । आउँदै गरेको नयाँ वर्ष २०७६ लाई फेरि पनि नयाँ आशा–आकाङ्क्षा र विश्वासका साथ स्वागत गर्न नेपाल र नेपाली उल्लसित बनेका छौँ । जस्तोसुकै पीडामा पनि आशाको दियो बालेर अघि बढ्ने स्वभाव नेपालीको मौलिक चरित्रजस्तै बनेको छ । यो अत्यन्त सकारात्मक कुरा हो । यही सकारात्मक भावसँगै नयाँ वर्ष स्वागतको तयारी गरौँ ।