पत्रकार पुरस्कार र डाह

पत्रकार पुरस्कार र डाह


  • स्वयम्भूनाथ कार्की

पङ्क्तिकार पत्रकार होइन, पत्रकार भनाइने चाह पनि छैन । केही पत्रिकामा स्तम्भलेखन र समसामयिक विषयमा लेख्न थालेको दशक नाघ्न लागेको छ । कुनै सञ्चारगृहको परिचरले पनि पत्रकार परिचयपत्र बोकेर हिँडेका हुन्छन् भने चाह भएमा पत्रकार भनाइन सकिन्छ होला । तर, कतिपय अवसरमा मेरा पाठकहरूले मलाई पत्रकार भनी सम्बोधन गर्दा पत्रकार नभनिदिन म उनीहरूलाई आग्रह गर्ने गर्दछु ।

हालै विराटनगरमा पत्रकार कल्याण कोषले दिएको दुई पुरस्कार (रु. १५ हजार १ सय ११ को उदीयमान पत्रकारिता पुरस्कार र रु. ३५ हजार १ सय ११ को सिर्जनशील पत्रकारिता पुरस्कार) वितरण कार्यक्रम भयो । मैले नियमित स्तम्भ लेख्ने गरेकोमध्ये एक ‘जनआवाज’ साप्ताहिकका सम्पादक केशव कार्की सो कोषको उपाध्यक्ष र संस्थापक सदस्य अनि अध्यक्ष मेरा मित्र स्थानीय (विराटनगर) मकालु एफएमका प्रह्लाद साह अध्यक्ष एवम् संस्थापक सदस्य भएकाले कुनै–कुनै वर्ष सो कार्यक्रमको निम्तो पाउने गर्छु । यसपटक राजाले गराएको स्थानीय निर्वाचनमा विराटनगरको मेयरमा निर्वाचित प्रह्लाद साहले नै पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको जग्गामा बनेको महसङ्घको भवनमा नै कार्यक्रम थियो ।

त्यहाँ महासङ्घको जिल्लास्तरको र प्रदेशस्तरको नेतृत्व सम्हाल्नेहरूको भाषणबाट जो मैले बुझेँ त्यसअनुसार सञ्चारजगत्मा एकलौटी महासङ्घको मात्र नियन्त्रण हुनुपर्छ ! अरूले केही गऱ्यो भने त्यो आफ्नो पितृको श्राद्धमा बाह्मण भोजन गराएको सरह हुन्छ । यो श्राद्ध शब्द मैले थपेको होइन भाषणमा नै महासङ्घको एक जिम्मेवार पदाधिकारीले प्रयोग गरेको शब्द हो । महासङ्घका पदाधिकारीहरूको यो तुजुक देख्दा मलाई के लाग्यो भने उहाँहरूले छिट्टै महासङ्घको सस्यता नलिएको व्यक्तिले पत्रिकामा लेख्न पनि नपाउने, महासङ्घले प्रमाणित नगरेको माध्यम जनताले हेर्न, सुन्न, पढ्न पनि नपाउने कानुनको निमित्त पनि दबाब शुरु गर्नुहुनेछ !

महासङ्घको कृपा र दयाबेगर चलेका सञ्चारमाध्यम पनि होलान्, धेरै नभए पनि केही त पक्कै होलान् । त्यस्तै महासङ्घको दया–कृपामा नचलेका धेरै कलमहरू होलान् । होलान् किन उदाहरणमा म स्वयम् नै छु जसलाई दशकदेखि स्तम्भ लेख्दा पनि महासङ्घले चिनेको छैन न म नै महासङ्घ चिन्न गएको छु । त्यसैले महासङ्घको यो अधिनायक बन्ने प्रयत्नबारे लेख्न सक्छु । मलाई भरोसा छ मेरा कुनै न कुनै सम्पादकले यसलाई छाप्ने साहस देखाउनु नै हुन्छ ।

महासङ्घको कृपा र दयाबेगर चलेका सञ्चारमाध्यम पनि होलान्, धेरै नभए पनि केही त पक्कै होलान् । त्यस्तै महासङ्घको दया–कृपामा नचलेका धेरै कलमहरू होलान् ।

पत्रकार कल्याण कोष ४२ सालमा ८ जना पत्रकारको सल्लाह र ६ जनाको जनही ५ सय रुपैयाँले खडा भएको हो । तुलनाको निमित्त त्यसबेला हजार रुपैयाँ तलब हुन शाखा अधिकृतभन्दा माथि हुनुपर्ने थियो । ५ सय रुपैयाँले झन्डै ६ मन (४० केजी १ मन) धान किन्न सकिन्थ्यो । त्यसबेलादेखि निरन्तर तिनै पत्रकारहरूको व्यक्तिगत मिहिनेतले त्यो कोष अहिले ५० हजारभन्दा ज्यादाको पुरस्कार प्रतिवर्ष दिन सक्ने क्षमतामा पुगेछ । त्यसबेलादेखि नै कोषले प्रत्येक वर्ष पत्रकार चुनेर पुरस्कार दिने गर्दछ । आजसम्म दिइएका पुरस्कारमा यसपल्ट महासङ्घका पदाधिकारीले अप्रत्यक्ष श्राद्ध खाने भनेर आरोपित गरेबाहेक गलत चयन भएको कुरा आएको छैन ।

मोरङमा पचासका हाराहारीमा पत्रकारले पाउने पुरस्कारहरू छन् । कोही त फलाना र फलानी स्मृति पुरस्कार भनेर पनि छन् । सहकारी, व्यापारिक कम्पनी पत्रकारलाई पुरस्कार दिन तम्सेका छन् । ती सबै पुरस्कार महासङ्घका पदाधिकारीहरूको नजरमा ठीक ठहरिए, तर कोषको पुरस्कार भने श्राद्ध ठहरियो । कारण पनि ठूलै छ, यत्रो राशिको पुरस्कारमा पात्र चयनमा महासङ्घको भागीदारी छैन । सम्भवतः महासङ्घको दबाबले कोषले पनि अर्कौपल्टदेखि चयन समितिमा महासङ्घका दुई प्रतिनिधि राख्ने घोषणा गरेको छ । अरू अधिकांश पुरस्कारको निमित्त दाताले महासङ्घसँगै या महासङ्घमा प्रभाव राख्नेसँग पत्रकारको नाम माग्ने गर्दछन् । यसरी ‘ठालु’ पत्रकारहरूलाई अन्य पत्रकारलाई फलाना चिलाना पुरस्कार दिलाइदिने भनेर ऐँचमा राख्न सजिलो भएको छ ।

आफ्नो दयामायाबेगर पुरस्कार थापेकोमा श्राद्ध खाएको भनिएका पत्रकारद्वय सिर्जनशील अनन्त न्यौपाने, उदीयमान गोपाल पोखरेल के भन्छन् वा भन्लान् ? श्राद्ध खाएकोमा प्रायश्चित गर्दै महासङ्घका ‘ठालु’सँग त्वं शरणं होलान्, लज्जित होलान् वा पुरस्कारमा गौरव गर्लान् । किनभने यो कोषलाई श्राद्ध खुवाएको आरोपभन्दा पाउनेलाई अयोग्य भनेको हो । पुरस्कार श्रद्धाले नै दिइनुपर्छ र लिइनुपर्छ । मेरो चाकरी गर पुरस्कार लैजा भनेर वा पुरस्कार दिइनस् भने खोइरो खन्छु भनेर लिइएको पुरस्कार घुस वा फिरौती हो । कम से कम एक पुरस्कार त यस्तो होस् जसमा महासङ्घका ठालुको चाकरी गर्न नपरोस् । कोषलाई पनि धम्कीमा झुकेर होइन ४२ सालदेखिको परम्परा कायम गरेर स्वतन्त्र निर्णय गर्ने साहस मिलोस् ।