गोरखाका संजित सिड्नीमा ‘जिम गुरू’

गोरखाका संजित सिड्नीमा ‘जिम गुरू’


  • राजन घिमिरे, अष्ट्रेलिया

साँझको पाँच बज्दै थियो । स्थान थियो सिड्नीको क्याम्सी । आफ्नो शरिर बनाउन सबै दत्तचित्त भएर लागिरहेका थिए– एफएन अर्थात ‘फिटनेस नेपाल’मा ।

त्यत्तिकैमा एकजना खाइलाग्दा, मिलेको सुगठित शरीरका धनी युवाको प्रवेश भयो । सबैले आ–आफ्नो भाषामा उनको अभिवादन गरे, अभिवादन खाने ती युवकले पनि नम्र भएर अभिवादन फर्काए । अनि उनले शुरू गरे आफू गुरू हुनुको अर्थ खुल्ने क्रियाकलाप ।

उनी अर्थात् सिड्नीका जिम गुरू संजित श्रेष्ठ । नेपालीका मात्र नभई अन्य दश भन्दा बढी मूलुकका मान्छेका जिम गुरू हुन् । दुई वर्षअगाडि संजीतले सिड्नीको क्याप्सीमा फिटनेस नेपाल नाम राखेर यो जिम हल सञ्चालन गरेका हुन् । त्यसभन्दा अगाडि भने उनले पर्सनल रूपमा अरूलाई जिम सिकाउँथे तर दुई वर्षयता संस्थागत रूपमा नै जिम हल खोलेर उनी ‘जिमका गुरू’ भएका छन् ।

हुन त संजित सिड्नी आएको १० वर्ष बितेको छ, तर नेपालमा जे गरे अनि जे सिके उनले त्यही क्षेत्रलाई प्रवासमा पनि निरन्तरता दिएका छन् । ‘जिमसँगै नेपालको नाम पनि दर्ता गराएको छु । यो जीम कसको र कुन देशको मान्छेको हो, यो कसले सिकाउँछ भनेर प्रश्न गर्नेहरूलाई सही जवाफ दिन पनि मैले फिटनेससँगै नेपालको नाम जोडेको हो । पहिला त नेपालकै नाम आउनु पऱ्यो नि’– उनले गर्वका साथ भने ।

नेपालको गोरखामा जन्मिएका संजितले फिलिपिन्समा आइटी अध्ययनको क्रममा जिमको प्रशिक्षण लिएका थिए । ‘जीवनमा धेरै कुरा अँगालियो अनि छोडियो होला, तर फिटनेस र जिमलाई छोड्न सकिनँ । प्रवासमा पनि यो नशा मात्र भएन कि पेशा, धर्म, ब्यवसाय र पहिचान नै भयो मेरो’, उनले भने ।

नेपाल (लाजिम्पाट) मा पनि जिम हल खोलेका छन् उनले । सन् २०१४ बाट उनले लाजिम्पाटमा खोलेको ‘फिटनेस स्टुडियो नेपाल’ यतिबेला रामैसँग चलेको छ । विगत १९ वर्षदेखि जिमलाई निरन्तरता दिइरहेका उनलाई धेरैले शरीर मात्र बनाउने ? धन कमाउनु पर्दैन ? भनेर ब्यङ्ग्य पनि गर्ने गरेका छन्, तर तिनीहरूलाई के थाहा कि धनको आयु सीमित हुन्छ भने स्वास्थ्यको आयु त अमूल्य हुन्छ भनेर । ‘जीवनमा सबैभन्दा ठूलो कुरा सन्तुष्टि हो, म मेरो बिधा या पेशाबाट सन्तुष्ट छु’– उनले भने ।

सिड्नीमा एक छोरी र श्रीमतीका साथ सुखद जीवन बिताइरहेका संजित अब फिटनेस नेपाललाई अष्ट्रेलियाका अन्य शहरमा पनि पुऱ्याउने तयारीमा रहेका छन् ।

ब्यवहारिक रूपमा संजित साह्रै मिजासिला ब्यक्ति भएको उनको जिम हलमा जिम गर्ने स्वतन्त्रप्रताप शाहको अनुभव छ । शिक्षा ब्यवसायी एवम् दुई नेपाली चलचित्र ‘फेसबुक’ र ‘मेरो भ्यालेन्टाइन’का नायक शाहले अगाडि भने– प्रवासमा फरक र अलग विधामा एउटा नेपाली ठिटोको यो सक्रियता साँच्चै प्रशंसा गर्न लायक रहेको छ ।