यसरी कम गर्न सकिन्छ कोलोरेक्टल क्यान्सरको जोखिम

यसरी कम गर्न सकिन्छ कोलोरेक्टल क्यान्सरको जोखिम


मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग (क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने/गराउने महिनाका रुपमा लिइन्छ । यस महिनाभर ठूलो आन्द्रा र मलाशयको क्यान्सरबारे विविध चिकित्सकीय कार्यपत्रहरु प्रस्तुत गरिने, रोग रोकथाम र उपचारबारे जनचेतना फैलाउने आदि कार्य गरिन्छ । यी क्रियाकलापले रोग रोकथाम र रोगको प्रभावकारी उपचारबारे पनि सर्वसाधारणले थाहा पाउन सक्छन् ।

ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ । विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ बिरामीहरू देखापर्ने गर्छन् भने तिनमध्ये झण्डै ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्दछन् । पछिल्ला वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन् ।

नर्भिक इन्टरनेशनल हस्पिटलका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यका अनुसार ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच/परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ ।

रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिकद्वारा आयोजित एक विशेष चिकित्सासम्बन्धी कार्यक्रममा बोल्दै डा. भट्टाचार्यले उक्त तथ्य बताएका हुन् । उपर्युक्त कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा. वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रकाश पारेका थिए ।

रोगको जोखिम कसरी घटाउने ?

यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपायहरूको अवलम्बन गर्न सकिन्छ-

– ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलाशयको क्यान्सरको जाँच/परीक्षण गराउने, किनकी यदि ठूलो आन्द्रा तथा मलाशयका क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगी मध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा सुरुकै अवस्थामा फर्काउन सकिन्छ ।

– पर्याप्त रेशेदार तथा कम चिल्लोयुक्त सन्तुलित भोजन गर्ने,

– यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, ध्रमुपानको बानी भए तुरुन्तै त्याग्ने । मद्यपान र ध्रुमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलाशयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्दछ ।

– साताको ३ देखि ४ पटक कम्तिमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने । सामान्य शारिरीक व्यामहरूमा छिटो छिटो हिड्डुल गर्ने, करेशाबारी वा बगैचामा काम गर्ने वा भऱ्याङ्ग उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ ।

के यस रोगको उपचार हुनसक्छ ?

– ठूलो आन्द्रा र मलाशयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ । यस रोगको जाँच/परीक्षण विशेषत दुई कारणले लाभदायक हुनसक्छ ।

– यदि ठूलो आन्द्राका फोकाहरु (Polyps), जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने,

– यस रोगको उपचार तब मात्र सम्भव हुनसक्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ ।

रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलाशयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुन सक्छ । शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ । रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुने गर्दछ । यसले समयमै र नियमित रुपमा गरिने जाँच/परीक्षणको महत्व दर्शाउँदछ ।

यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने ठूलो आन्द्रा तथा मलाशयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रुपमा हुनसक्ने तथा उपचारपश्चातका जटिलताहरु समेत कम मात्रै देखापर्ने गर्दछन् ।