यदुकुलको भूमिकामा प्रतिपक्षी : अङ्कुशहीन सत्तासीन ?

यदुकुलको भूमिकामा प्रतिपक्षी : अङ्कुशहीन सत्तासीन ?


  • नकुल काजी

विगत २००७ सालको क्रान्तिले देशमा प्रजातन्त्रको उदय गराएको इतिहासमा, समाजलाई आधुनिक बौद्धिक एवम् सांस्कृतिक रूपान्तरणको प्रक्रियातर्फ उन्मुख गराएको इतिहासमा, २०४६ तथा ०६२–६३ सालको जनआन्दोलन र २०७२ सालमा वर्तमान संविधान घोषणाका बेलासम्मको इतिहासमा नेपाली काङ्ग्रेस जीवन्त छ । तर, संविधान घोषणापछिको उसको जिजीविषा ओइलाउँदै गई त्यस पार्टीको समग्र अवस्था यसबेलासम्म महाभारतकालीन यदुकुलको भूमिकामा सीमित हुन पुगेर कठै भन्नुपर्ने अवस्थातर्फ प्रस्तावित छ, जो उसैले थाहा पाइरहेको छ कि छैन– उही जानोस् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दुईतिहाइ बहुमतको शक्तिशाली सरकार’– मा पदार्पण गरेपछि जसरी लोकतान्त्रिक स्वतन्त्रताको दुरुपयोग एवम् वैयक्तिक–संस्थागत स्वार्थका अनेक खेल–तमासाले निम्न तप्काका आधारभूत जनतामा निराशा छर्ने र भर्ने धोकादारीका कारण अविश्वस्त बनेर गएको छ ।

सत्तारुढहरू राज्यसत्ता कब्जा भएको दम्भी अनुभूतिले आफ्नो राजनीतिक जातीय सिद्धान्तच्यूत भई सत्ता–सुन्दरीसित रंगोली मनाइरहेका छन् भने प्रमुख प्रतिपक्षी तप्का राष्ट्रको नीति निर्माण गर्ने तहमा त घटे–घटे, तल्लो धरातलमा पनि सङ्ख्यात्मक रूपमा घट्दै गइरहेको अवस्था छ अहिले । लोकतान्त्रिक आदर्श–विलोम म र मेरोमा केन्द्रीय नेतृत्व विभक्त भएपछि त्यो भावसङ्क्रमण तलतिर ओर्लिनु त वस्तुतः स्वाभाविक नै हुन्छ । यो अवस्थामा यी दुवैका स्वकृत अवस्था भावी दिनका निम्ति अनपेक्षित नै हुने देखिन्छ ।

आफूभित्रै चाहिँ धोबी झगडाबाहेक लोकतन्त्रका मूल्य–मान्यता र आदर्श जीवन्त राख्न नसक्ने, सामन्तीशैलीको परस्पर दंग्याइँ–घुक्र्याइँभन्दा अन्यत्र ढलेको लोहोटा उठाउन नभ्याउने, एकपछि अर्को तानशाह भई अवतरित हुने र बेलाखबत ‘पार्टी प्रवक्ता’बाट घटनापरक विषयमा पार्टी–दृष्टिकोण प्रक्षेपण गरी राष्ट्रिय राजनीतिक समाजमा आफ्नो अस्तित्वको आभास दिनुमै हाल नेपाली काङ्ग्रेसको प्रमुख प्रतिपक्षी हैसियत सीमित छ । यसो गरिरहनु नै उसको जम्मा जिम्मेवारी ठान्दो हो ऊ, उता जसरी सत्ताधारीले आफ्नो यो एकाधिपत्यकालमा भएका जुनसुकै बेथितिलाई लोकतान्त्रिक स्वाभाविकताको रेसमी बर्कोले ढाकछोप गरिरहेको छ ! प्रमुख प्रतिपक्ष भनेको समग्रमा सत्तारुढको खबरदारी गर्ने अङ्कुश हो । अहिले त्यसको अस्तित्व शून्यप्रायः भएकाले नै सत्तारुढ अङ्कुशहीन अवस्थामा छ । अङ्कुशहीन नै अर्को शब्दमा निरङ्कुश हो भने अहिले सत्ताधिकारीहरू निरङ्कुश भएकाले अवस्थाको दोष उसको मात्र होइन ।

जनतालाई ऐन–कानुनका चाबुक लगाएर उठाइने कर–तिरोबाट भरेको राष्ट्रिय तिजोरीमाथिको ब्रह्मलुट, सतही गफमा उभिएका ‘राष्ट्रिय गौरव’का आयोजनाहरू ‘राष्ट्रिय लज्जा’का योजनामा रूपान्तरित भइरहेको अवस्था, छेपारे कथाको मूर्त प्रतीक बनिरहेको मेलम्ची खानेपानी योजनाजस्तै अनेक योजना थला परिराखेका स्थिति, राष्ट्र विखण्डनकारीजस्ता अक्षम्य र राष्ट्रको सबैभन्दा अधिक दुत्कार्य पाखण्डीसम्मका अपराधलाई क्षमादान र ससम्मान उन्मुक्ति, देशका पाइला–पाइलादेखि सिंहदरबारका खोपी–खोपीसम्म भ्रष्टाचार, कमिसनखोरी, आर्थिक विचलन र कमाउकान्तेहरूको बाँकटे, बढ्दो महँगीले निचोर्दो नागरिक जीवनदैनिकी, लगभग ७० लाख ऊर्जाशील नेपालीको विदेश पलायन र अझ बढी विदेशी फिरङ्गीहरूको नेपाल प्रवेश र ढलीमली, ‘नेपाली’को सगोल मौलिक पहिचानमा विभाजनकारी भद्रगोल इत्यादिमाथि अब त संविधानका अक्षरहरू बलात् कुल्चिएर र बहुमतको स्वेच्छादारी लादेर देशको सेना परिचालनसम्ममा एउटा व्यक्तिको हालीमुहालीको तारतम्यसमेत मिलाइन थालिएको छ ।

आधारभूत र उम्दा समस्याहरूको बढ्दो घातक प्रकोपले कहालिने स्थितिमा पुगेका आमजनतालाई भाषणमा समृद्धि र सुखका छारो छर्नुसिवाय तीनै तहका नेकपा नेता–नायकहरू व्यावहारिक रूपमा देशलाई ‘सङ्क्रमणकालको दोस्रो र अझ कठिन चरण’तिर धकेलिरहेका छन् । यस्तो असहज अवस्थामा देशवासी जकडिरहँदा नेपाली काङ्ग्रेसको माथ्लो निर्णायक शिविर पनि आफ्नै चुला–चौका र मझेरीमा अर्काको र आफ्नो मागको तुलना गर्दै उकुर्जी उछाल्नमै व्यस्त छ ।

यस्तो दुर्वोधगम्य दुरुह गन्तव्यतिर मुलुक गइरहँदा पनि नेपाली काङ्ग्रेसको ‘प्रमुख प्रतिपक्षी’ हैसियत घर–झगडा र लँगौटी तानातानमा सीमित हुनु भनेको उसको कर्तव्यच्यूत अवस्था हो र प्रकारान्तरले उसको राजनीतिक आत्मघाती हैसियत उन्मुख भविष्य बनेर बुझ्दा अन्यथा नहुँदो हो । अतः नेका अहिले यसैकारण महाभारतकालीन यदुकुलको भूमिकामा अभ्यासरत देखिएको हो । यसरी उसले उसका इतिहासनिर्माता पूर्वजहरूको विरासतलाई सही–सलामत थाम्न पनि कसरी सक्ला भन्ने उसैको इमानदार धरातलीय इमानदारहरूसम्ममा समेत संशय बढ्दै गएको स्थिति अहिले बहाल छ ।

जनताले प्रतिपक्षी नेपाली काङ्ग्रेसका वर्तमान नेता–अगुवाहरूप्रतिको विश्वासले धोका खाएको तीतो अनुभूतिलाई अभिव्यक्ति बनाउन थालिसकेका छन् । जनताले दुईतिहाइ मत ओइरिएर बलियो र स्थिर सरकार स्थापित गराइदिएको पार्टीका उपल्ला नेतादेखि स्थानीय नायिके–भोटियाहरूसमेत भ्रष्टाचार–धाँधली, कमिशनखोरी र विकृतिजन्य घटनाका विषयहरू उजागर हुनासाथ अथवा उछालिँदा त्यसैसँग तर्सिएर ‘लौ लोकतन्त्र–गणतन्त्रमाथि हमला भयो’, ‘लौ कार्यकर्ताहरू… अरिँगाल बनेर जाइलाग’को कोकोहोलो मच्चाउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को स्वैरकाल्पनिक होली वाइनले अभिषेक गर्ने गर्दै छन् । आधारभूत र उम्दा समस्याहरूको बढ्दो घातक प्रकोपले कहालिने स्थितिमा पुगेका आमजनतालाई भाषणमा समृद्धि र सुखका छारो छर्नुसिवाय तीनै तहका नेकपा नेता–नायकहरू व्यावहारिक रूपमा देशलाई ‘सङ्क्रमणकालको दोस्रो र अझ कठिन चरण’तिर धकेलिरहेका छन् । यस्तो असहज अवस्थामा देशवासी जकडिरहँदा नेपाली काङ्ग्रेसको माथ्लो निर्णायक शिविर पनि आफ्नै चुला–चौका र मझेरीमा अर्काको र आफ्नो मागको तुलना गर्दै उकुर्जी उछाल्नमै व्यस्त छ । विगतका तीनै निर्वाचनमा हारेपछिको खिन्नता र हीनताभावहरूले उसको राजनीतिक प्रतिष्ठालाई त छायामा पारेको छँदै छ, अन्ततः ऊ देश र जनताका हकमा केवल ‘कानो–मामा’सरह बन्दै छ । जनताको विश्वासको शृङ्खला तोडिँदै गएको हुँदा जनता यसबेला मानसिक रूपमा उनका समस्या बिसाउने र गुहार माग्ने अभिभावक नभएको जस्तो विदीर्ण अवस्थामा पुगेका छन् ।

लोकतान्त्रिक संविधानमाथि नै प्रत्यक्ष–परोक्ष थिचोमिचो भइरहेका अनेक दृश्यविरुद्ध जनस्तरबाट उठिरहेका आवाज सुन्न सत्ताधिकारीहरूलाई बाध्य गराउने र उठिरहेका आवाजलाई सम्बोधन गराई समाधानमा किनारा लगाउन लाउने दायित्व प्रतिपक्षको नै हुने हुन्छ । तर, यसबेला सत्ताधारी अङ्कुशहीन स्वेच्छाचारितामा मगनमस्त छन् भने प्रमुख प्रतिपक्षी आफ्नै परिवारभित्रको किचोलोले विक्षिप्त छ । यसकारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको जनमैत्री धरातलीय पाटो एकाङ्गी अलमल्ल परेको छ । यद्यपि, यसलाई सही मार्गनिर्देश गर्ने दायित्व पनि यसबेला नेपाली काङ्ग्रेसकै थियो । तर, ऊ त्यसतर्फ फर्किएकोसम्म देखिइरहेको छैन ! यही दुरावस्था नै अहिलेको नेपालमा सर्वाधिक टर्रो विडम्बना बनेको छ ।

  • भद्रपुर-८, झापा