‘युवाको भविष्य दाउमा राखेर प्रदेशलाई बदनाम गराइयो’

‘युवाको भविष्य दाउमा राखेर प्रदेशलाई बदनाम गराइयो’


रेखाकुमारी झा नेकपाकी सांसद हुनुहुन्छ । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने रेखा नेकपा २ नं. प्रदेश कमिटीकी सदस्य हुनुहुन्छ । प्रदेश नं. २ मा एसईईको प्रश्नपत्र आउट भएपछि यो प्रसङ्गलाई लिएर प्रदेश नं. २ लाई बदनाम गर्नु गलत नियत भएको भनी सार्वजनिक टिप्पणी गर्दै आउनुभएकी सांसद झासँग गरिएको कुराकानी :

० प्रदेश नं. २ मा प्रश्नपत्र पहिल्यै बाहिर आउँदा एसईईको परीक्षा रद्द भयो, तपाईं सोही क्षेत्रलाई प्रतिनिधित्व गर्ने सांसद, कस्तो लागिरहेको छ ?
– निश्चय नै मलाई दुःख लागेको छ । एसईई युवाको भवियष्यसँग जोडिएको कुरा हो । यसले शिक्षा क्षेत्रमा मात्र नभएर युवा मानसिकतामा समेत असर पार्छ । तर, यसमा प्रदेश नं. २ भनेर प्रदेशलाई मात्र दोषी देखाएर हुँदैन, माध्यमिक शिक्षा बोर्ड र सम्पूर्ण सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्दछ ।

० प्रदेश नं. २ मा नै सधैँ यसप्रकारका विवाद किन आउँछन् ?
– विवाद अरू प्रदेशमा पनि हुन्छन्, तर बढी चर्चाचाहिँ प्रदेश २ को हुने गर्छ । एसईईको सन्दर्भमा भन्नुपर्दा यसमा सरकार पक्ष कमजोर देखियो, सरकारलाई बदनाम गराउने विभिन्न गैरजिम्मेवार जोसुकै किन नहोस् न्यायको कठघरामा उभ्याउनुपर्दछ, उच्चस्तरको छानबिन हुनुपर्दछ । दोषीलाई कारबाही हुनुपर्दछ । प्रदेश नं. २ मा सरकार पनि छ भन्ने आभास जनतालाई दिलाउन सक्नुपर्छ ।

० विद्यार्थी आन्दोलित छन्, सरकारले मात्रै के गर्न सक्छ र ?
– सरकारले वातावरण बनाउन सक्छ, बनाउनुपर्छ पनि । विद्यार्थी निर्दोष छन्, परीक्षा समयमा नै हुनुपर्छ र विद्यार्थीको मनोबल घटाउने काम हुनुहुँदैन । मलाई लाग्दछ कि परीक्षाको मिति तुरुन्त निर्धारण गर्नुपर्छ । विद्यार्थीको संयमता बढाउने काम मिति तोकेपछि नै हुन्छ । परीक्षाको मिति तोकेपछि मलाई लाग्छ उनीहरूलाई एउटा जिम्मेवारी बहन गर्नुपर्छ । त्यसपछि उनीहरू परीक्षाको लागि तत्पर हुन्छन् ।

० परीक्षा छोडेर विद्यार्थीले आन्दोलन गर्न थालेपछि कसरी परीक्षा हुन्छ ?
– विद्यार्थीको नैसर्गिक अधिकार खोसिएको छ, उनीहरू त आन्दोलित हुने नै भए नि । परीक्षाको बेलामा उनीहरूको मनोबल घटाउने काम भएको छ । यही निहुँमा प्रदेश नं. २ लाई यस्तो–उस्तो भन्नुभन्दा पनि भविष्यमा यस्ता गल्ती फेरि पनि नदोहोरिउन् भनेर सचेत बन्ने काम गर्नुपर्छ ।

० प्रदेश नं. २ बदनाम भएकोमा तपाईंलाई धेरै चिन्ता लागेजस्तो छ नि ?
– होइन, प्रदेशस्तरीय परीक्षा सञ्चालन गराउने सम्पूर्ण जिम्मा सुरक्षा बोर्ड, प्रमुख जिल्ला अधिकारी र जिशिकाको हो र यो कार्यालय अहिले सङ्घकै मातहतमा छ । गल्ती कुन ठाउँबाट भएको हो जानी–जानी बदनाम गर्न खोजेकै हो, यसकारण यसको जिम्मेवारीबाट केन्द्र सरकार पन्छिन मिल्दैन । अरू मुद्दामा के हो म यसै भन्न सक्दिनँ, तर यो मामिलामा त म प्रदेशको दोष देख्दिनँ । प्रदेश २ लाई बदनाम गर्ने तत्वलाई कडा कारबाही हुनैपर्छ । दोषी त्यो हो जसले परीक्षा हलमा नगरप्रहरीलाई लगेर विद्यार्थीलाई भय सिर्जना गरेको छ । आतङ्क मच्चाएको छ । मलाई त ती तमाम युवामाथि परेको असरलाई लिएर दुःख छ । विद्यार्थी भाइबहिनीहरूलाई नआत्तिई संयमता अपनाउन आग्रह पनि गर्छु । शान्तिपूर्ण वातावरणमा आफ्ना अधिकार सुरक्षित गर्नुपर्दछ । राज्य पक्षलाई ध्यानाकर्षण गराउन तोडफोड र आगजनी होइन शान्तिपूर्ण तरिका अपनाउनुपर्छ । अनुशासित वातावरण बनाउनुपर्छ । एसईई परीक्षा बोर्डले यथाशीघ्र परीक्षा लिने वातावरण तय गर्नुपर्छ ।