केपीपछिको नेपाली राजनीति

केपीपछिको नेपाली राजनीति


  • देवप्रकाश त्रिपाठी

केपी शर्मा ओलीमाथि सबैभन्दा ठूलो आरोप छ, उनी कामभन्दा बढी कुरा गर्छन् र हरेक सानातिना टिप्पणीहरूको पनि प्रतिवाद गर्न अग्रसर हुन्छन् । ओलीमाथि अर्को आरोप छ, उनी साँघुरो घेरामा बस्छन्, योग्य होइन आफूले पत्याएका मान्छेमाथि मात्र भरोसा राख्छन् र समकक्षी सहकर्मीहरूसँगको परामर्शबिना नै निर्णय लिन्छन् ।

यीबाहेक हवाईकल्पनामा रमाउने र शक्ति आफूमा केन्द्रित गर्न पाउँदा प्रसन्न हुने व्यक्तिका रूपमा पनि उनलाई हेर्ने गरिएको पाइन्छ । सत्तारुढ दल नेकपाका नेताहरू प्रधानमन्त्रीका रूपमा केपी ओलीको कार्य–व्यवहारबाट यति असन्तुष्ट छन् कि प्रमुख विपक्षी र सबै विपक्षीलाई पनि असन्तुष्टिमा जितेका छन् ।

विपक्षीहरू विधिवत् सरकार बदल्न सक्ने या आन्दोलनको बलमा सरकार फेर्ने हैसियतमा छैनन्, त्यसैले विपक्षीको भूमिका अत्यन्त रुग्ण र टीठलाग्दो अवस्थामा छ । कुनै कारणवश स्वस्फुर्त आन्दोलन शुरु भएर सत्ता–राजनीति बदलिने स्थितिमा बाहेक अबको परिवर्तन सत्तारुढ दलभित्रकै असन्तुष्टि, मतभिन्नता र विवादको जगबाट मात्र प्रारम्भ हुन सक्छ । नेकपाभित्र पैदा हुने हलचल र तनावबाहेक अन्य कुनै बाह्य कारणले केपी ओली नेतृत्वको सरकारलाई चुनौती दिन सक्ने अवस्था तत्काल देखिँदैन ।

नेकपाभित्र माधवकुमार नेपाल र प्रचण्डबाहेक अरू कसैको सक्रियताले कुनै खास परिणाम ल्याउन सक्ने स्थिति अहिले छैन । प्रचण्डको मात्र प्रयासले पार्टी विभाजनको पृष्ठभूमि तयार गर्न सके पनि सरकार परिवर्तन गराउने सामर्थ्य राख्दैन । माधवकुमार नेपालको प्राथमिकतामा सरकारभन्दा पनि पार्टी नेतृत्व (अध्यक्षको जिम्मेवारी) परेको छ । यद्यपि एकीकृत पार्टीको अध्यक्ष बन्न प्रचण्ड अधिक लालायित नरहेका होइनन्, तर केपी ओलीको साथ–सहयोगबिना माधव या प्रचण्डलाई अध्यक्षको जिम्मेवारी मिल्ने अवस्था नेकपामा छैन । कदाचित स्वास्थ्य समस्या या वैराग्य उत्पन्न भएर केपी ओली निष्क्रिय बनेछन् भने पनि उनको नेटवर्क यति मजबुत भइसकेको छ कि अबको पार्टी अध्यक्ष चयनमा केपीकै नेटवर्क निर्णायक बन्ने देखिन्छ ।

अहिलेसम्म प्रचण्डले सम्पूर्ण सत्ताको स्थायी मालिक बन्ने सोच बदलेका छैनन्, उनले रणनीति मात्र बदलेका हुन् । भेट गर्न पाइयो भने डोनाल्ड ट्रम्पलाई समेत बेबकुफ बनाउँछु भन्ने आत्मविश्वास बोकेका प्रचण्डले पार्टीअध्यक्षको जिम्मेवारीमै रहेका भए पनि माधव नेपाललाई आफ्नो कान्छीऔंलामा नचाउन थाले भने आश्चर्य मान्नुपर्ने हुँदैन ।

त्यसैले कुनै विशिष्ट अवस्थामा बाहेक केपी र उनका हितैषीलाई चोट पर्ने या तिनले बदलाको भाव राख्ने गरी देखिने कदम चाल्न माधव नेपाल तयार हुन सक्दैनन् । वामदेव गौतम या त्यस्तै केहीको साथ लिएर प्रचण्ड केपीविरुद्ध सक्रिय भए भने उनी पार्टीको विभाजनसम्म पुग्न सक्लान्, सरकार परिवर्तन गराउन प्रचण्डको एकल प्रयास सफल हुन सक्ने देखिँदैन ।

कुनै अप्रत्याशित कारणवश केपी सत्ताराजनीतिबाट किनारा लगाइए या लागे भने पनि कम्युनिस्ट पार्टी सही–सलामत रहेमा सरकार र पार्टीको नेतृत्व लिनसक्ने माधवकुमार नेपाल या प्रचण्ड हुनेछन् । केपीपछि प्रचण्ड अध्यक्ष र प्रधानमन्त्री दुवै पदीय जिम्मेवारी हात पार्ने इच्छा र हात पर्ने विश्वासमा छन् । जब कि दुईमध्ये एउटा जिम्मेवारी माधव नेपाललाई उपलब्ध नगराइएको अवस्थामा प्रचण्डले दुवै जिम्मेवारी प्राप्त गर्न सक्ने ठानिँदैन । त्यस्तो स्थितिमा माधवकुमार नेपाललाई पार्टी जिम्मा लगाएर प्रधानमन्त्रीको जिम्मेवारी लिने निर्णयमा प्रचण्ड पुग्न सक्छन् ।

यसरी प्रचण्डले शक्तिशाली पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने अवसर पाएमा मुलुकले अर्कै राजनीतिक मोड लिने प्रबल सम्भावना रहन्छ । अहिलेसम्म प्रचण्डले सम्पूर्ण सत्ताको स्थायी मालिक बन्ने सोच बदलेका छैनन्, उनले रणनीति मात्र बदलेका हुन् । भेट गर्न पाइयो भने डोनाल्ड ट्रम्पलाई समेत बेबकुफ बनाउँछु भन्ने आत्मविश्वास बोकेका प्रचण्डले पार्टीअध्यक्षको जिम्मेवारीमै रहेका भए पनि माधव नेपाललाई आफ्नो कान्छीऔंलामा नचाउन थाले भने आश्चर्य मान्नुपर्ने हुँदैन । केपीमा झैँ मन नपरेको मानिसको मुखै नहेर्ने स्वभाव प्रचण्डको होइन, आफ्नो हित र उपयोगिताअनुरूप जो–कसैसँग सम्झौता गर्न सक्ने क्षमता प्रचण्डमा देखिन्छ ।

पूर्वीय शास्त्रमा वितण्डावादको व्याख्या छ र, शास्त्रको मतअनुसार आफ्नो विशिष्ट मत स्थापित गर्न नसके पनि अर्को पक्षलाई टिक्न (स्थापित हुन) नदिने क्षमता वितण्डावादीहरूमा रहन्छ । वितण्डावादको मर्म ध्वंसात्मकता हो र, प्रचण्डमा यस्तो क्षमताको प्रचुरता देखिन्छ । त्यसैले केपी ओलीपछि एकीकृत कम्युनिस्ट पार्टीकै तर्फबाट प्रधानमन्त्री बन्ने अवसर पाएमा प्रचण्डले आफूलाई लोकप्रिय बनाउन या जनतामा स्थापित गर्न नसके पनि विरोधी र विपक्षीहरूलाई हायलकायल बनाउने क्षमता उनी राख्दछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न सजिलोका निम्ति शक्ति आफूमा केन्द्रित गरेका हुन सक्छन् । उनले राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागजस्ता खास महत्व राख्ने संयन्त्रहरू आफ्नो (प्रधानमन्त्रीको) मातहत पुऱ्याएका छन् । प्रचण्ड प्रधानमन्त्री बनेको अवस्थामा उल्लिखित संयन्त्रहरूको व्यापक प्रयोग ‘परिचालन’ उनीबाट हुनेछ ।

वितण्डावादको मर्म ध्वंसात्मकता हो र, प्रचण्डमा यस्तो क्षमताको प्रचुरता देखिन्छ । त्यसैले केपी ओलीपछि एकीकृत कम्युनिस्ट पार्टीकै तर्फबाट प्रधानमन्त्री बन्ने अवसर पाएमा प्रचण्डले आफूलाई लोकप्रिय बनाउन या जनतामा स्थापित गर्न नसके पनि विरोधी र विपक्षीहरूलाई हायलकायल बनाउने क्षमता उनी राख्दछन् ।

केपीले विशेष अवस्थामा प्रधानमन्त्रीले नै सेना परिचालन गर्न सक्ने कानुन बनाइदिए भने त्यस्तो कानुनको प्रयोग पनि प्रचण्डबाट व्यापक रूपमै हुनेछ । कम्युनिस्ट पार्टीका समर्थक या कार्यकर्ताका विचारमा समाजवादी क्रान्तिको अर्थ बेग्लै हुन्छ र, जनताको बुझाइमा पनि समाजवाद एउटा सुखद प्रणाली हुन सक्ला, तर समाजवाद कम्युनिस्ट पार्टीको एकल शासन व्यवस्था हो र कम्युनिस्ट पार्टीका मुख्य नेताको हैसियतमा आफ्नो स्थायी शासन नै प्रचण्डको विचारमा समाजवाद हो । त्यसैले केपी ओलीपछि प्रचण्ड कम्युनिस्ट पार्टीकै तर्फबाट सत्ताको केन्द्रबिन्दुमा पुगे भने नेपालमा आवधिक निर्वाचन प्रणाली कायम रहने विश्वास नराख्दा हुन्छ । कदाचित आवधिक निर्वाचन प्रणालीलाई निरन्तरता दिइएछ भने पनि प्रचण्डले गराउने निर्वाचनमा अरू कसैले चुनाव जित्ने र सरकार गठन गर्ने कल्पना गर्नुपर्दैन ।

माओ या स्टालिनजस्तै स्थायी शासक बन्ने उद्देश्यबाट प्रेरित प्रचण्डबाट आवधिक निर्वाचन गराइएछ भने पनि भ्लादिमिर पुटिनजस्तै उनी आफैँ विजयी बनिरहने अवस्था हुनेछ । ०४८ सालमा संसदीय चुनावमा सहभागी हुनु, त्यसमा सफलता हात नलागेपछि ०५२ देखि हिंसात्मक युद्धमा सरिक हुनु, १२बुँदे सम्झौतामार्फत कथित शान्तिप्रक्रियामा सामेल हुनु र अनेक उतारचढावपूर्ण रणनीतिक चाल चल्दै एमालेसँग पार्टी एकीकरण गर्नुसम्मको उनको नियत र उद्देश्यको विश्लेषण गरियो भने यी सबै ‘सत्ताको स्थायी मालिक बन्ने’ तीव्र अभिलाषाबाट निर्देशित देखिन्छन् । शक्तिशाली कम्युनिस्ट पार्टीको मुख्य नेताको हैसियतमा प्रधानमन्त्री बन्ने र त्यसपछि बाँचिन्जेल सत्ताको केन्द्रबिन्दुमै रहिरहने रणनीतिमा रहेका प्रचण्ड आफ्नो योजनामा यसपटक पनि सफल बन्न सकेनन् भने यसपछि चाहिँ सन्न्यास आश्रममा जानुको विकल्प सम्भवतः उनीसँग रहनेछैन । त्यसैले केपीपछि सम्पूर्ण सत्ताको अधिपति बन्न प्रचण्डले सबै प्रकारको क्षमता र शक्ति प्रयोग गर्नेछन् भन्ने ठान्नुपर्दछ ।

शासकहरू दुईथरी हुन्छन्– एकथरी मानिस सत्ताको केन्द्रबिन्दुमा पुग्ने, त्यसैमा रमाउने र आफू शक्तिशाली व्यक्ति भएको पुष्टि गर्ने स्वभाव–चरित्रका हुन्छन् । इदी अमिन, बोकासा, माओत्सेतुङ, परवेज मुसर्रफ, जियाउल हक र मार्कोसलगायतका व्यक्ति यसप्रकारका शासकको कोटिमा पर्दछन् । यस्ता शासकलाई वितण्डावादीका रूपमा बुझ्नु उपयुक्त हुन्छ । अर्को प्रकारका शासकहरूको चरित्र अधिनायकवादी नै भए पनि तिनमा राष्ट्रका लागि केही गरेर देखाउने अभिलाषा, दृष्टिकोण र अठोट हुन्छ ।

दक्षिण कोरियाका पार्क चुङ ही (जनरल), सिङ्गापुरका ली क्वान यू, मलेसियाका महाथीर मोहम्मद र चीनका देङ सियाओ पिङको स्वभाव–चरित्र अधिनायकवादी भए पनि उनीहरूले आफ्नो पूरै क्षमता देशको हितका निम्ति उपयोग गरेका छन् । दुःखको कुरा, प्रचण्डमा यसकोटिको शासक बन्ने क्षमता देखिएन, उनका सबै प्रयासहरू आफू बलियो शासक बन्ने र केवल शासक बन्ने उद्देश्यबाट मात्र प्रेरित छन् । त्यसैले केपी ओलीबाट प्रचण्डलाई शासनसत्ता हस्तान्तरण भयो भने केपीले आफ्नो जीवनकालमा देशका लागि कुनै योगदान पुऱ्याएका भए पनि त्यो पूरै ओझेलमा पर्ने र अन्ततः ‘ठूलो गल्ती’ सिद्ध हुने देखिन्छ ।

कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू केपीको निरन्तरताप्रति सकारात्मक देखिएका छैनन् । उनीहरूको इच्छा र नेकपाभित्रको असन्तुष्टिबीच साइनो गाँसियो भने प्रचण्ड ‘दाम्लो चुँडाएर’ भए पनि प्रधानमन्त्री बन्न अग्रसर हुन सम्भव छ । तराईकेन्द्रित दल, नेपाली काङ्ग्रेस र विभाजित कम्युनिस्ट पार्टीका सांसदहरूलाई समेटेर प्रचण्ड प्रधानमन्त्री बन्न खोज्दै खोज्दैनन् भन्ने होइन ।

कुनै अप्रत्याशित घटनाका कारण राजनीतिक कोर्स बदलिने अवस्था आएन भने कम्तीमा आगामी दुई वर्षसम्म केपी ओली प्रधानमन्त्री रहनेछन् र आउँदा दुई वर्षभित्र दूरगामी महत्वका केही काम गरेर आफ्नो औचित्य पुष्टि गर्ने प्रयास पनि केपीबाट हुने अपेक्षा गर्न सकिन्छ । तर, स्वास्थ्यले साथ दिइरह्यो भने केपीले प्रचण्डलाई सत्ता हस्तान्तरण किन गर्लान्, यो प्रश्नको जवाफ अहिले मिल्न मुस्किल छ । केपीले माधव नेपाललाई सत्ता हस्तान्तरण गर्नका निम्ति उनले हरेक दृष्टिबाट आफू आफ्नो भूमिका निर्वाह गर्न असमर्थ रहेको ठान्नुपर्ने हुन्छ, जुन तत्कालको सम्भावनाभित्र पर्दैन ।

कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू केपीको निरन्तरताप्रति सकारात्मक देखिएका छैनन् । उनीहरूको इच्छा र नेकपाभित्रको असन्तुष्टिबीच साइनो गाँसियो भने प्रचण्ड ‘दाम्लो चुँडाएर’ भए पनि प्रधानमन्त्री बन्न अग्रसर हुन सम्भव छ । तराईकेन्द्रित दल, नेपाली काङ्ग्रेस र विभाजित कम्युनिस्ट पार्टीका सांसदहरूलाई समेटेर प्रचण्ड प्रधानमन्त्री बन्न खोज्दै खोज्दैनन् भन्ने होइन । तर, यसरी प्रधानमन्त्री बनेका प्रचण्ड नेकपाबाट बनेकोजति ‘लगामहीन’ हुन सक्ने स्थिति रहँदैन, त्यस्तो अवस्थामा सम्पूर्ण सत्ताको स्थायी मालिक बन्ने उनको सपना पूरा हुन पनि सम्भव हुनेछैन ।

केपी ओलीभन्दा पछाडि सामान्य स्थितिमै प्रचण्ड या माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने देखिए पनि असामान्य अवस्थामा जोकोही व्यक्ति प्रधानमन्त्री बन्ने र वर्तमान संविधानले पनि विश्राम लिन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । त्यसैले यतिबेला केपीलाई प्रधानमन्त्रीबाट हटाउने कुरा जसले गरिरहेका छन्, तिनले मुलुकमा असामान्य अवस्था पैदा गर्ने उद्देश्यअनुरूप यसप्रकारको विचार–भावना राखेका होइनन् भने भोलि उत्पन्न हुन सक्ने परिस्थितिप्रति सचेत नरहेको भनेर बुझ्नुपर्ने हुन्छ ।

कामका आधारमा केपीको उच्च मूल्याङ्कन गर्ने अवस्था नरहे पनि उनीपछिको राजनीतिक स्थितिप्रति दृष्टि लगाउँदा झनै अन्योलपूर्ण देखिन्छ । राजसंस्था विस्थापनपश्चात् राष्ट्रियता र राष्ट्रिय एकता बिथोलिएझैँ केपी ओलीको विस्थापनपछि पनि मुलुकमा असामान्य स्थिति सिर्जना हुन सक्ने यथार्थप्रति हेक्का राख्न सक्नुपर्छ । यसको अर्थ केपीबिना झन् असहजता पैदा हुन्छ भन्दैमा सधैँ उनलाई बोकी हिँड्नुपर्छ भन्नेचाहिँ होइन ।