‘कागज पत्र’को अष्ट्रेलिया उडान

‘कागज पत्र’को अष्ट्रेलिया उडान


  • राजन घिमिरे, अष्ट्रेलिया

नेपालबाट विदेशिन चाहने युवायुवतीको संख्यामा कमी आएको छैन । विद्यार्थी भिसा होस् या कामदार भिसा, या अन्य कुनै पनि भिसा किन नहोस्, जुन उपाय लगाएर भएपनि विदेशित आतुर छ अहिलेको नेपाली पुस्ता ।

त्यसमाथि पछिल्लो समय अष्ट्रेलिया त नेपाली युवायुवतीका निम्ति आकर्षणको प्रमुख गन्तव्य मुलुकमै परेको छ । यसक्रममा डिपेन्डेन्ट भिसाले पनि बजारमा राम्रै प्रभुत्व जमाइरहेको छ । जे–जसरी भएपनि अष्ट्रेलिया आउन खोज्नेहरूको अवस्था, वास्तविकता र यसको महत्व अनि यसप्रतिको समर्पण भावनामाथि एउटा चलचित्र बनेको छ– कागज पत्र ।

नेपालमा राम्रै प्रशंसा हात पारेपछि अब यो चलचित्र अष्ट्रेलियामा रहनुभएका नेपालीमाझ प्रदर्शन हुने भएको छ । यस चलचित्रका निर्माता खिलेन्द्र तिमिल्सिना, प्रजापति शिवाकोटी र मुकेश रेग्मीका साथै निर्देशक अपिल बिष्ट पनि लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।

‘हाम्रै आँखाअगाडिका वास्तविकतालाई चलचित्रको रूप दिएर हामीले दर्शकमाझ पस्कने प्रयास गरेका हौँ’, चलचित्रका एक निर्माता प्रजापति शिवाकोटीको भनाई छ ।

नेपालमा सफलता हात पारेपछि अष्ट्रेलियाका विभिन्न शहरमा आउन लागेको यो चलचित्रको प्रदर्शनीको अवसरमा चलचित्रका नायक नाजिर हुसैन र नायिका शिल्पा मास्के पनि अष्ट्रेलिया आउने बताइएको छ । चलचित्र ‘कागज पत्र’ अप्रिल १३ का दिन सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमामा र १४ का दिन हर्सभिलको इभेन्ट सिनेमामा प्रदर्शन हुने भएको छ ।

पछिल्लो समय प्रवासी नेपालीहरू पनि चलचित्र निर्माणमा लागिपरिरहेको अवस्थामा कागज पत्र लिएर आएका यी उत्साही युवाहरूको सक्रियतालाई अष्ट्रेलियामा सकारात्मक रूपमा हेरिएको छ ।.