के काङ्ग्रेस समाजलाई नयाँ आशा दिन चाहन्छ ?

के काङ्ग्रेस समाजलाई नयाँ आशा दिन चाहन्छ ?


  • दामोदर पौडेल

आफ्नो घर भत्केको बनाउन नसक्नेले अरूको घर भत्काउनेलाई भगाएर घर भत्किन लागेकालाई न्याय दिन सक्दैन । काङ्ग्रेसको अहिलेको अवस्था पनि अहिले आफ्नै घर भत्केको पात्रको जस्तै छ । भारतमा कुनै बेला जनता पार्टीको सरकारका रेलमन्त्री मधु दण्डवतेले दुई रेल जुधेको घटनामा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । नेपालमा पनि केशरबहादुर विष्ट शिक्षा तथा खेलकुदमन्त्री रहेका बेला दशरथ रंगशालामा हावाहुरीको चपेटामा परेर दुई दर्जनभन्दा बढी दर्शकको मृत्यु भएको घटनामा मन्त्री पदबाट राजीनामा दिएका थिए । जब कि त्यहाँ मर्ने सबैजसो डरले भाग्दा लडेर वा एक–अर्काबाट किचिएर वा बाहिर निस्कँदा गेट ढलेको कारणले मरेका थिए । हावाहुरीमा पनि कमसेकम बाहिर निस्कन नखोजी धैर्य गर्न सकेको भए त्यतिबेला मानिसको हताहती हुँदैनथ्यो ।

बेलायतमा टोनी ब्लेयरले चुनावमा आफ्नो दल होइन, आफ्नो विचार पराजित हुँदा राजीनामा दिए । जर्मनकी चान्सलर एन्जेला मर्केलले दलको साख आफ्नो पालामा घटेकोले सरकारप्रमुख र दलको प्रमुख नबन्ने घोषणा गरिसकिन् । तर, नेपालमा र नेपाली काङ्ग्रेसमा त चुनाव हारेर पनि शेरबहादुर देउवा संसदीय दलको नेता बन्न चाहे । प्रधानमन्त्रीको अन्तिम चार्मको आशा रहने ठाउँमा प्रधानमन्त्री नै बन्न नपाइने अवस्थामा किन अरूलाई पालो नदिएको होला ? कमसेकम अरूको जाँच गर्न त पाइने थियो र दोष पनि कम हुने थियो । उनले त्यो रोजेनन्, बरु रामचन्द्र पौडेलले त्यो कुरा उठाउँदा उनले चुनाव किन हारेको भन्ने सवाल उठाए । त्यसो भए रामचन्द्र जितेको समयमा किन देउवाले प्रधानमन्त्री बन्न नदिएका ? आफूले गल्ती गरेकोमा दोष अरूलाई दिएर पन्छन पाइन्छ ? यो त ‘लालु डक्ट्रिन’ हो । लालुलाई ‘तपाईंको प्रान्तमा त चोरी लुटपाट आदि भएको छ नि भन्ने प्रश्न गर्दा उनले ‘देशको कुन प्रान्तमा चोरी–लुटपाट भएको छैन ?’ भनी उत्तर दिएका थिए । यस्ता जवाफहरू समस्याका समाधान होइनन् । अरूको तुलना गर्न सकिएला, तर आफूले गर्ने सुधार प्रमुख हो ।

काङ्ग्रेस सुध्रने हो भने यसले पहिला सङ्गठनमा सबै जातका र लिङ्गका युवाहरूको भूमिकालाई कोटामा नै निर्धारित गरिनुपर्दछ । दुईतिहाइ बहुमतले आवश्यक नठहऱ्याएसम्म पुनः एक पदमा कोही पनि दोहोऱ्याएर नरहने व्यवस्था हुनै पर्दछ । उमेर बढी हुनेहरूलाई काङ्ग्रेसको अभिभावक समिति बनाएर केन्द्रदेखि टोलसम्म व्यवस्थित गर्नैपर्छ । यसले गर्दा उनीहरूको अनुभवको कार्यसमितिहरूले उपयोग गर्न सक्नेछन् । पुराना र क्षमतावान् तथा योगदान गरेका नेता तथा कार्यकर्ताहरूको उचित सम्मान पनि हुनेछ ।

पद नै एक मात्र लक्ष्य हो र त्यो लक्ष्य पूरा गरेपछि अर्को लक्ष्य शुरु हुन्छ । त्यो हो कमाउने र त्यसबाट पुनः पद प्राप्त गर्ने भन्ने सोच राख्ने हो भने कमाउनेहरूले केही समय चुनाव जित्लान्, तर काङ्ग्रेस साँघुरिँदै जान्छ र सधैँका लागि चुनावी राजनीतिबाट बिदा हुन सक्दछ । बेलायतमा लिबरल दल तथा पाकिस्तानमा मुसर्रफका दलहरू हराउँदै छन् । भारतमा १९७७ मा सत्ता समालेको जनता पार्टी अहिले कहाँ छ भनी प्रश्न गर्ने बेला भइसक्यो । यहाँ त सहाबुद्धिन फर्मुला चलेको छ । सहाबुद्धिनले बिहारमा पुरानो दल त्यागेर समाजवादी विचार मान्ने दलमा प्रवेश गरे । उनलाई एक पत्रकारले सोधे कि तपाईंको क्षेत्रमा त सामन्तवाद हावी छ नि ? उनले उत्तर दिए – ‘म नै समाजवादी भएपछि सामन्तवाद कसरी बाँकी रहन्छ र ?’ हो, यहाँ साइनबोर्ड र नाम राम्रो राखिदिनु होस्, काम मनलागी गर्नुहोस् ।

विचारहीन सत्ता र पदमा रमाउने जमातेहरू काङ्ग्रेसका नेताहरूले नै जन्माएका हुन् । पहिलो आफूहरूले गलत व्यवहार गरेर जुन कार्यकर्ताहरूले सिकिरहेका छन् दोस्रो प्रशिक्षण नदिएर जसले गर्दा राजनीतिमा इमानदारी र लक्ष्य के हो भन्ने नै बुझाइएन । तेस्रो, लोकतन्त्र भनेको सिसाको घरमा बसेजस्तो हो जहाँबाट अरूको घरमा ढुङ्गा हान्दा आफ्नो घर फुट्ने पक्का छ भन्ने पनि बाध्यात्मक नैतिकता हुन्छ भन्ने पनि सोच्न चाहिएन ।

राजनीतिक अर्थशास्त्रको समाजवादी पक्षको ज्ञान पनि भएन र लक्ष्य नै प्रस्ट गरिएन । नेता र कार्यकर्ताले गरिबहरूको झोपडीबीचमा राम्रो घर बनाउँदा ग्रील लगाएर चोरी रोक्न सकिन्छ र जाली लगाएर मच्छर रोक्न पनि सकिन्छ, तर घरभित्र नै बसिरहन सकिँदैन । बाहिर निस्कँदा मच्छरपीडितहरूबाट असुरक्षित भइन्छ । त्यसैले समाज नै राम्रो र सुग्घर भएपछि समस्या हुँदैन भन्ने बुझ्न सकेनन् वा चाहेनन् । सायद सुगाको जस्तै भयो होला । सुगा मार्नेेहरूले पातलो जाल राखेर त्यसमुनि दाना राख्दछन् र सुगा मार्छन् । सुगाहरू जाल नदेखेर होइन बरु मीठो खानेकुराको लोभमा जालमा पर्छन्, खान्छन् र मारिन्छन् । जाल हान्नेहरू सुगाले थाहा नपाएर समातेँ भन्छन् भने मूर्ख हुन् । लोभले फसायो भन्दछन् भने सत्य हो ।

त्यस्तै अर्को भनाइ छ– एक जातको पोथी सर्प अण्डा पारेर कोरल्न बस्दछ । ऊ धेरै दिन नखाई बस्नुपरेकाले साह्रै भोकाएको हुन्छ र त्यो जातको सर्पले अरू साना सर्प खाने पनि गर्दछ । जब उसका बच्चा अन्डा फोरेर बाहिर निस्कन लाग्छन् । ऊ भाग्दछ । किन ? प्रस्ट छ– उसलाई बच्चाको धेरै माया हुन्छ, तर भोकको झाेंकमा बच्चा नै खाइदिन्छु कि भनेर भाग्ने रहेछ । नेताहरू बढी र अनावश्यक भोकाएका छन्, पद र पैसाका लागि । इमानदारी र क्रियाशीलता बिर्सेर उनीहरू जाल हान्नेहरूका बन्न पुगेका छन् ।

काङ्ग्रेसले केवल तीन प्रकारका काम गरेमा देश र जनताको कल्याण हुन्छ र उनीहरूको पनि कल्याण हुन्छ । पहिलो सकेसम्म दुईतिहाइ दलभित्रका मतदाताले माग नगरेरसम्म एकपटक राज्यको पदमा पुगेको मानिसले पद नदोहोऱ्याउने । लोकतन्त्रवादी भनेको नै अरूलाई पनि स्थान दिनु हो । विरोधीलाई त स्थान दिनु हो दलभित्रको त कुरै भिन्दै भयो । इमानदार र क्रियाशील बन्नु । दोस्रो भनेको जनसङ्ख्याको विकेन्द्रीकरण गरेर देशका सबै ठाउँमा मानिसको बसोबास होस् र सहरमा मात्र आउने अवस्थाको अन्त्य होस् । यसले गर्दा जनता काम गरेर खान्छ र अनावश्यक महत्वाकाङ्क्षा र आवश्यकता कम हुन्छ । तेस्रो हो, विकास र समानताको सहयात्रा गराउनु र यो सम्भव छ । इमानदारी भए सजिलैसँग सम्भव छ । त्यसका लागि आधारभूत आवश्यकता, गुणस्तरीय शिक्षा, उचित अस्पताल, सुरक्षा, यातायातजस्ता कुराको पहुँच, जुन कठिन काम नै होइन ।

यसको लागि इमानदारी र क्रियाशीलता चाहियो र म मात्र होइन र म पछि आउनेले मलाई घकेल्न नपरोस् भन्ने सोचेर काम गर्नुप¥यो । अर्थात् It is time to live the stage when the curtain falls भन्ने सोच हुनैपर्छ । जनताको चाहना, अरूको पालो, आफ्नो क्षमता र आवश्यकताको आधारमा मात्र म पदमा रहने हो भन्ने विचार गर्न आवश्यक छ । होइन भने जे पनि हुन सक्दछ । एउटा दुईमुखे चराको कथा छ । पेट एउटै, जुन मुखले खाए पनि शरीरमा बराबर नै लाग्ने । त्यो चराको एउटा मुखले मीठो खानेकुरा पाउँछ । उसले अर्को मुखलाई खान नदिई आफ्नी प्रेयसीलाई खान दिएर आफू पनि खान्छ । जब कि प्रेयसीसँगको सान्निध्यताको अनुकूलता एउटाले मात्र शारीरिक रूपमा अनुभव गर्ने भन्ने पनि हुँदैन । तर, विडम्बना ! अर्कोपटक अर्को मुखले विष पाउँछ र प्रयेसी र अर्को मुखले जति भने पनि मान्दैन र त्यो विष खाइदिन्छ । मानिस अरूको सुखमा जति चिडिन्छ र आफ्नो सुखमा त्यही अनुपातमा खुसी हुन सक्दैन भनिन्छ । यो स्वभावले गर्दा कहिलेकाहीँ मानिस अरूको रिसमा कसैलाई मारेर पनि त मरिदिन्छ नि । आत्मघाती बम लिनेहरू किन मर्दछन् त ? चरा त कथाको मात्र कुरा भयो ।

पुनः यो कथा– शान्तिसँग बस्न चाहने चिनियाँहरूले ग्रेटवाल बनाए जसले गर्दा उनीहरू शत्रुबाट बच्न सकून् । तर, त्यो बनेको सय वर्षमा नै तीनपटक आक्रमण भएछ अर्थात् पहिलाभन्दा बढी । तीनैपटक आक्रमणकारीलाई पर्खाल चढ्नै परेन बरु उनीहरूले पर्खालमा रहेका ठाउँठाउँका ‘गेटकिपर’हरूलाई पैसा दिएर भित्र पसे । तसर्थ, चरित्र नबनी पर्खाल बनेर काम हुँदैन । लोकतन्त्र दलगत मत प्रणाली मात्र होइन । यो त चरित्र, नागरिकबीच सद्भाव, शान्ति, विकास र समानता, संवेदनशीलता पो बढी हो त । मत त लोकतन्त्र नै होइन, बरु यो को–कति लोकतन्त्रवादी छ भन्ने चिनेर ‘गल्ती गर्नेलाई छडी लगाउन पाइन्छ है’ भन्ने आधार मात्र हो । लोकतन्त्रभित्र प्रवेश गर्ने द्वार मात्र हो । भित्र पसेर उपभोग र प्रयोग राम्रो गरेर मात्र लोकतन्त्रको सुरक्षा आदिको कुरा आउँछ ।