काठमाडौं वर्ल्ड स्कुल : आधुनिक शिक्षा र व्यावहारिक ज्ञानको संगम

काठमाडौं वर्ल्ड स्कुल : आधुनिक शिक्षा र व्यावहारिक ज्ञानको संगम


  • नवीन उप्रेती

सफल र उत्कृष्ट शिक्षा भनेको सैद्धान्तिक ज्ञान र लब्धाङ्कपत्रमा उत्कृष्ट ग्रेड मात्रै होइन, विद्यालयमा सिकेको त्यो सैद्धान्तिक ज्ञान र लब्धाङ्कपत्रमा अङ्कित ग्रेडअनुसारको ज्ञान विद्यार्थीको व्यावहारिक पक्षमा पनि रूपान्तरित हुनु आवश्यक छ । व्यावहारिक रूपमा प्रयोगमा आउन नसक्ने कोरा सैद्धान्तिक ज्ञानले विद्यार्थी स्वयम्को व्यक्तित्व विकासमा त सघाउ पुऱ्याउँदैन नै त्यसको उपयोग न समाजले उठाउन सक्छ न राष्ट्रले नै ।

आजभोलिका विद्यार्थीमा भरपुर मात्रामा सैद्धान्तिक ज्ञान त पाइन्छ, तर त्यसअनुसारको व्यावहारिक पक्ष ठ्याम्मै पाइन्न । अहिलेका अभिभावक पनि कामकाजी बनेका छन् । उनीहरूसँग आफ्ना सन्तानसँग बसेर व्यावहारिक ज्ञान र सीप बाँड्ने समय पनि हुँदैन । जसकारण आफ्ना सन्तान विद्यालयकै जिम्मा लगाउनु र त्यसैमा सन्तुष्ट हुनुको विकल्प उनीहरूमा छैन ।

हो, अहिलेका अधिकांश विद्यालयले अभिभावकको यही मनोदशालाई क्यास गर्दै आफ्ना विद्यालयलाई कमाउने राम्रो माध्यम बनाएका छन् । अभिभावक पनि विद्यालयले उपलब्ध गराउने ‘उत्कृष्ट’ मार्कसिटलाई आधार मान्दै महँगो शुल्कमा आफ्ना नानीबाबुहरू पढाउन विवश छन् । आफ्ना विद्यार्थीको व्यावहारिक पक्ष जस्तोसुकै होस् विद्यालयको ध्यान त्यता पुगेको पाइन्न बरु जसरी हुन्छ अभिभावकबाट मोटो रकम असुल्दै आफ्नो आर्थिक अवस्था मजबुत बनाउनै विद्यालय सञ्चालकहरू सक्रिय रहेको पाइन्छ । र, व्यावहारिक ज्ञानबिनाको सैद्धान्तिक ज्ञानको भारी बोकेर दीक्षित विद्यार्थी पानीबाहिर छटपटाइरहेको माछोलाई पनि नाचिरहेको देखेर ताली बजाउन विवश छन् । हो, नजानीकनै अहिले अभिभावकले शिक्षामा गरेको लगानी बालुवामा पानी बनिरहेको छ ।

यही अवस्था बुझेर विभिन्न माध्यमबाट देशको सेवा गर्दै आएको अग्रणी संस्था चौधरी ग्रुपले गत वर्षदेखि काठमाडौं वर्ल्ड स्कुलका माध्यमबाट सैद्धान्तिक ज्ञानका साथै पूर्ण रूपमा व्यावहारिक ज्ञानको शिक्षा दिँदै आएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा अवस्थित यस स्कुलमा शिक्षा क्षेत्रमा अब्बल छवि बनाएका शिक्षक–शिक्षिका आफ्नो खारिएको शैक्षिक अनुभव विद्यार्थीमा समर्पण गर्न लागिपरेका छन् । २७५ करोडको लगानीमा ४६ रोपनी क्षेत्रफलमा स्थापित यो स्कुललाई देशकै नमुनाको रूपमा लिन सकिन्छ । सैद्धान्तिक ज्ञानअनुसार प्रयोगात्मक कक्षा यहाँको मुख्य विशेषता हो । स्कुलको उद्देश्य जसरी हुन्छ उत्कृष्ट शिक्षा दिनेमै छ । यसका लागि आवश्यक शान्त वातावरण, सुविधासम्पन्न शैक्षिक वातावरण, अनुभवी शिक्षक–शिक्षिका, शैक्षिक तहअनुसारको फरक–फरक पुस्तकालयको व्यवस्था, अत्याधुनिक कम्प्युटरसहितको ल्याब, अत्याधुनिक प्रविधिसहितको विज्ञान प्रयोगशाला यस स्कुलका विशेषता हुन् ।

राजधानी उपत्यकाभरि आफ्नै सवारीबाट विद्यार्थीलाई सेवा दिने यस विद्यालयमा अनुभवी सेफको व्यवस्थासहितको क्यान्टिन, दिवा आवासीय व्यवस्थालगायतको सुविधा पनि विद्यमान छ । विद्यार्थीको दैनिक क्रियाकलाप र स्तरको जानकारी अभिभावकलाई गराउन शिक्षकले नियमति रूपमा अभिभावकलाई इमेलमार्फत विद्यार्थीको फिडब्याक पठाउने, शिक्षक र अभिभावक छलफल गर्ने तथा शिक्षक–अभिभावक सङ्घमार्फत विद्यालयको सिकाइको दायरा फराकिलो बनाउने काम पनि विद्यालयको विशेषतामध्ये एक रहेको छ जसलाई विद्यालयले आफ्नो सबल पक्षको रूपमा व्याख्या गर्ने गरेको छ ।

वर्तमान भौतिक अवस्थाअनुसार एक हजार तीन सय ९० विद्यार्थी क्षमता भएको विद्यालयमा चार सयका लागि त पूर्ण आवासीय व्यवस्थासमेत रहेको विद्यालयको भनाइ छ । लामो समय शैक्षिक अनुभव बटुलेका विद्यालयका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका राजेन्द्र कुमार घिसिङका अनुसार विद्यार्थीको शारीरिक र व्यक्तित्व विकासका लागि विद्यालयमा स्विमिङ पुल, नृत्य, सङ्गीत, मार्सल आर्ट, टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मल्टिप्रपोज कोर्ट, फुटसललगायतका अतिरिक्त क्रियाकलापको व्यवस्था पनि रहेको छ ।

त्यस्तै शिक्षण प्रणालीमार्फत विद्यार्थी र अभिभावकको मन जित्दै पहिलो शैक्षिक सत्र सफलतापूर्वक सम्पन्न गरेको स्कुलले आधारभूत तहमा कक्षा १ देखि ५ सम्म र माध्यमिक तहमा कक्षा ११ सम्म दुई सय ५८ जना विद्यार्थीलाई अध्यापन गराएकोमा यस वर्ष कक्षा ८ सम्म अध्यापन सुरु गर्ने भएको छ । माध्यमिक तहमा कक्षा ११ र १२ को पठनपाठन शुरु गर्न लागिएको स्कुलका प्रमुख कार्यकारी अधिकृत घिसिङले जानकारी दिए । २५८ विद्यार्थीबाट यस वर्ष ६ सय विद्यार्थी पुऱ्याउने लक्ष्य रहेको घिसिङ बताउँछन् ।

अभिभावकले पूर्ण विश्वास गरेर हामीलाई सुम्पिएका विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम हामी सोच्न पनि सक्दैनौँ बरु यसलाई सुधार गर्न हामीमा के–के कमी–कमजारी छन्, त्यसलाई सुधार गर्न निरन्तर अभिभावकको सल्लाह र सुझाबका भोका छौँ र सो पूरा गर्न प्रतिबद्ध पनि– घिसिङ प्रतिबद्धता व्यक्त गर्छन् । अनि मूल्य नि ? राजधानीमा नाम चलेका, धेरै शुल्क लिएका र हाम्रो विद्यालयको जत्तिको शैक्षिक गुणस्तर भएका विद्यालयको तुलनामा हामी नै सस्तो छौँ, हाम्रो विद्यालयमा नानीबाबु पढाउने अभिभावकलाई हामी निराश हुन दिनेछैनौँ– घिसिङ काठमाडौं वर्ल्ड स्कुलबारे अभिभावकलाई ढुक्क हुन विश्वास दिलाउँछन् ।