अष्ट्रेलियामा ‘दाल भात तरकारी’को मूल्य ४२ लाख…

अष्ट्रेलियामा ‘दाल भात तरकारी’को मूल्य ४२ लाख…


  • राजन घिमिरे, अष्ट्रेलिया

नेपालमा मात्र होइन, यतिबेला प्रवासमा पनि चलचित्र ‘दाल भात तरकारी’ले राम्रै ‘भाउ’ पाइरहेको छ । सम्भवतः प्रवासमा प्रदर्शनका लागि आजसम्मकै ज्यादा रकममा यो चलचित्र बिकेको छ, र यही चर्चाले चलचित्र बजार तातेको छ यतिबेला ।

नेपालपछि नेपाली चलचित्रको राम्रो बजार र बढी दर्शक भएको मुलुक अष्ट्रेलियामा चलचित्र ‘दाल भात तरकारी’ ४२ लाख रूपैयाँमा बिकेको छ । यो चलचित्रको अष्ट्रेलियाको अधिकार खरिद गरेका हुन् विपिन बस्नेतले । अष्ट्रेलियाको मेलबर्न बस्ने विपिन ‘भेट्रान एक्टर’ विश्व बस्नेतका छोरा हुन् । यसअघि पनि नेपाली चलचित्रहरूको प्रदर्शन र अन्य कार्यक्रमहरूको आयोजनामा विपिनले आफ्नो सक्रियता जनाउँदै आएका छन् ।

यस क्रममा चलचित्र दाल भात तरकारी हेर्ने सिड्नीवासी नेपालीको चाहनालाई चाहिँ सायन इन्टरटेनमेन्टले पूरा गरिदिने भएको छ । चलचित्रको सिड्नी प्रदर्शन ब्यवस्थापन सायन इन्टरटेनमेन्टले मिलाएको हो । सिड्नीका लागि मात्र कतिमा खरिद गरियो त दाल भात तरकारी ? यो कुरा चाहिँ गोप्य राखिएको छ ।

‘के–कतिमा भन्दा पनि राम्रो नेपाली चलचित्र हेर्ने सिड्नीवासी नेपालीजनको चाहनालाई हामीले पूरा गर्ने प्रयत्न गरेका हौँ’, आयोजकको भनाई छ । यही समूहले यसअघि पनि शत्रु गते, कान्छी र प्रसाद चलचित्रको समेत प्रदर्शन ब्यवस्थापन गरेको थियो ।

यसैगरी चलचित्रहरूको प्रदर्शनसँगै यो समूहले विभिन्न सांगीतिक कार्यक्रमहरूको आयोजनालाई पनि अगाडि बढाउने भएको छ । यसैबीच मे १० का दिन बृहत सांगीतिक कार्यक्रमको आयोजना गरेर सिड्नीवासी नेपालीलाई भरपूर मनोरन्जन प्रदान गर्न सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

‘पन्छी फर्केर स्वदेश आउ…’ बोलको गीतमार्फत चर्चामा आएका गायक पुष्पन प्रधान पहिलोपटक सिड्नीमा गुन्जने भएका छन् । उनिसँगै रक ब्याण्ड स्याडोज र कालीप्रसाद बासकोटा पनि सिड्नीको टाउन हलमा रहेको सार्क होटलमा गुन्जने भएका छन् । यो कार्यक्रमको बारेमा सायन इन्टरटेनमेन्टको फेसबुक पेजमार्फत विविध जानकारी पाइने बताइएको छ ।