कस्तो हुनुपर्छ ‘स्मार्ट सिटी’ ?





  • मदन दवाडी

‘स्मार्ट सिटी’ भन्ने शब्द ०७४ मा सम्पन्न नेपालको स्थानीय चुनावमा सबैभन्दा बढी प्रयोग भएको हो । प्रायः सबैजसो महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमुखका प्रतिस्पर्धीले सबैजसो चुनावी सभामा आफूले जितेमा उक्त सिटीलाई स्मार्ट बनाउने प्रण गरेका थिए । यद्यपि कतिपयले स्मार्ट सिटी भनेको के हो र स्मार्ट सिटी बनाउन के गर्नुपर्छ भन्ने कुराचाहिँ बताएका थिएनन् ।

पङ्क्तिकारको लक्ष्य भनौँ वा अवधारणाचाहिँ तिनीहरूलाई गाली गर्नु वा यसो भएन, उसो भएन भन्ने होइन । मेरो मान्यता भनेको विदेशमा जो विकसित देशमा बसिरहेका छौँ र साँच्चैकै स्मार्ट सिटीमा बसेका छौँ । यहाँ बसेर म बसेको देशमा यस्तो छ ! नेपालमा चाहिँ त्यस्तो छ !! म बसेको देशको नेता यस्तो छ ! नेपालको नेताचाहिँ त्यस्तो छ !! भन्नुभन्दा हामीले स्मार्ट सिटीमा रहेर प्रयोग गरिरहेका कतिपय प्रणाली (system) नेपालमा पनि सजिलै लागू गर्न पो सकिन्छ कि ? त्यसबारेमा कसरी लागू गर्न सकिन्छ भनेर आइडिया पो दिने कि ? अर्थात् यो प्रणालीलाई यसरी प्रयोगमा ल्याइयो भने स्मार्ट हुन्छ भनेर दबाब पो दिने कि ? गाली गर्नुभन्दा यसरी आइडिया दिँदा बढी नैतिक दबाब पर्न सक्छ भन्ने मान्यता हो मेरो ।

अब कुरा गरौँ नेपालका शहरहरूलाई स्मार्ट सिटी बनाउँछु भन्नु यथार्थ हो वा दिवास्वप्न ?

अरू युरोप, अमेरिकाका शहरको त कुरै छाडौँ, नेपालको काठमाडौंलाई भारतको दिल्लीजस्तै बनाउँछु भनेर कसैले भन्यो भने पनि दिवास्वप्न हो । किनकि काठमाडौं यति अस्तव्यस्त तरिकाले संरचित भइसक्यो कि त्यसलाई पूरै ध्वस्त नपारेसम्म स्मार्ट बनाउन सकिन्न र ध्वस्त पार्न पनि सम्भव छैन । काठमाडौं मात्र होइन, नेपालका प्रायः सबै मुख्यमुख्य शहरको स्थिति यस्तै छ ।

तर, यसो भन्दैमा अब नेपालका सबै शहरको अवस्था बिग्रिसक्यो, स्मार्ट बन्दैन भनेर नकारात्मक मात्रै प्रचार गर्नु पनि उपयुक्त हुँदैन । हामी अरू देशको शहरसँग तुलना नगरीकन आफ्नै मोडलको स्मार्ट बनाउन सक्छौँ । डा. बाबुराम भट्टराईले भनेजस्तो नेपालको हावापानी र मानिस सुहाउँदो किसिमको स्मार्ट । एउटा शहर स्मार्ट हुन निम्न कुरा हुनुपर्छ ।

१. स्मार्ट शिक्षा प्रणाली (smart education)
२. स्मार्ट नागरिक (smart people)
३. स्मार्ट वातावरण (smart environment)
४. स्मार्ट सरकार (smart government)
५. स्मार्ट बसोवास (smart living)
६. स्मार्ट अर्थतन्त्र (smart economy)
७. स्मार्ट यातायात (smart mobility)

अब उल्लिखत बुँदाबारे क्रमशः कुरा गरौँ –

१. स्मार्ट शिक्षा प्रणाली :

स्मार्ट शिक्षा स्मार्ट नागरिकसँग पनि सम्बन्धित हुन्छ किनकि स्मार्ट नागरिक हुन आवश्यक गुणमध्ये सबैभन्दा महत्वपूर्ण गुण हो स्मार्ट शिक्षा । शिक्षामा गरिएको लगानीलाई मानव पुँजीमा गरिएको लगानी भनिन्छ । त्यसैले म यो लेखलार्ई थप लामो नबनाईकन म बसेको सिटी जुन स्मार्ट सिटी हो यहाँचाहिँ कसरी स्मार्ट तरिकाले शिक्षा दिइन्छ भन्नेबारेमा चर्चा गर्दछु ।

नेपालमा शिक्षालाई निजीकरणको विकल्प उपलब्ध छ जसले गर्दा छ्यापछ्याप्ती मात्रामा निजी स्कुल स्थापना भएका छन् जसलाई बोर्डिङ स्कुल भनिन्छ । प्राविधिक रूपमा ती स्कुललाई बोर्डिङ नामाकरण गर्न मिल्दैन किनकि बोर्डिङ भन्नासाथ सबै विद्यार्थी त्यहीँ बोर्ड भएर अर्थात् विद्यार्थीलाई स्कुलमै राखेर पढाउने स्कुललाई मात्र बोर्डिङ स्कुल भन्न मिल्छ । यी निजी स्कुलहरूले मनोमानी रूपमा फी लिइरहेका छन्, कतिपय स्कुलहरू त महिनाको लाखौँ रुपैयाँसम्म फी लिने पनि छन् । निजी स्कुलमा बच्चा पढाउनु प्रतिष्ठाको विषय बनिसकेको छ । अझ बच्चालाई पढाउने स्कुलको आधारमा पनि बाबुआमाको औकातको मूल्याङ्कन गर्ने गरिन्छ । त्यसको सिको गर्दै आम्दानी कम हुनेहरूले पनि महँगो स्कुलमा बच्चा पढाइराखेका हुन्छन् । धेरैजसो अभिभावकको आम्दानीको ठूलो हिस्सा बालबच्चाको पढाइमै खर्च भएको हुन्छ । अझ भन्ने हो भने त नेपालमा भ्रष्टाचारको एउटा जड नै निजी स्कुल हो । बालबच्चालाई राम्रो स्कुलमा पढाउन आफ्नो आम्दानीले नभ्याउने भएपछि भ्रष्टाचार गर्न शुरु हुन्छ ।

यत्रो पैसा लिएर दिइने शिक्षा–प्रणालीचाहिँ वैज्ञानिक छ त ? तिनीहरूले बालमनोविज्ञानलाई बुझेर शिक्षा दिन्छन् त ? मलाईचाहिँ त्यस्तो लाग्दैन ।

अब कुरा गरौँ म बसेको देशको शिक्षा प्रणालीको । यहाँ हाम्रो देशमा जस्तो शिक्षामा निजीकरणको विकल्प उपलब्ध छैन भन्दा पनि हुन्छ किनकि एकदमै नगन्य मात्रामा हुन्छन् निजी स्कुलहरू ।

सरकारी स्कुलहरू नै स्मार्ट भएपछि निजी स्कुल किन चाहियो र ? यहाँ प्राथमिक तहमा चाहिँ कस्तो शिक्षण विधिको प्रयोग गरिन्छ छ त ?

यहाँ बालबालिकाहरूलाई ६ वर्षसम्म औपचारिक शिक्षा दिइन्न किनकि उनीहरू औपचारिक शिक्षा लिनका लागि मानसिक रूपमा तयार भइसकेका हुँदैनन् । स्कुल २.५ वर्षदेखि नै लैजान मिल्छ, तर ६ वर्षसम्म लेख्न–पढ्न गर्दैनन्, केवल अनौपचारिक शिक्षा मात्र लिइराख्छन् । त्यसैले २.५ देखि ५ वर्षसम्मको बच्चालाई स्कुल लैजान अनिवार्य पनि छैन । लैजान्न भन्न पनि पाइन्छ । ६ वर्षपछि चाहिँ अनिवार्य छ र लैजानैपर्छ । शिक्षण विधि समयअनुसार बदलिरहेका हुन्छन् किनकि उत्तम शिक्षण विधि स्थिर हुँदैन भन्ने मान्यता रहन्छ उनीहरूको । उनीहरू सधँै खोज, अनुसन्धान र प्रयोग गरिरहेका हुन्छन् शिक्षण विधिबारे । जस्तो दुई वर्षअघिसम्म यहाँ ६ वर्षमुनिका बच्चालाई उमेरको आधारमा फरक–फरक कक्षामा राखेर पढाइन्थ्यो । नेपालमा नर्सरी, केजी, यूकेजी भनेजस्तै यहाँ टोल्डर १, टोल्डर २, टोल्डर ३ । ३ वर्षमा १, ४ वर्षमा २ अनि ५ वर्षमा ३ । तर, यसरी वर्षको आधारमा कक्षा छुट्याउँदा कुनै ५ वर्षको बच्चा साथीहरूभन्दा कमजोर छ भने उसले हीनताबोध गर्ने भयो, त्यस्तै उसले गर्दा शिक्षकलाई पनि कक्षा अघि बढाउन पनि अप्ठ्यारो पर्ने भयो भने एउटा तीन वर्षको बच्चाचाहिँ पढ्नमा ट्यालेन्ट छ र उसले सिक्नुपर्ने कुरा चाँडै सिक्यो भने साथीहरूको कारणले नयाँ कुरा सिक्न पाउने भएन । त्यसैले यो समस्या समाधानका लागि २ वर्षअघिबाट २.५ देखि ५ वर्षसम्मको बच्चालाई एउटै ग्रुपमा राखेर पढाउने । त्यसो हुँदा ५ वर्षको कमजोर बच्चाले ३ वर्षको बच्चालाई हेरेर चित्त बुझाउने भयो भने ऊसँगै बसेर सिक्न सक्ने भयो । त्यस्तै तीन वर्षको ट्यालेन्ट बच्चाले आफ्नो लेभलको सिकिसकेपछि ४ वर्ष वा ५ वर्षको बच्चासँग नयाँ कुरा सिक्न सक्ने भयो ।

त्यस्तैगरी अघिल्लो वर्षसम्म उनीहरूले जोड–घटाउ सिकाउँदा छुट्याउने विधि अर्थात् स्पिलिट गराएर सिकाउँथे, जस्तो– ९ बाट ३ छुट्याउँदा ६ हुन्छ, ६ बाट २ हटाउँदा ४ । तर, यो विधिभन्दा जोड–घटाउ गरेर सिकाउने विधि नै उपयुक्त ठानेर अहिले जोड–घटाउ विधिबाट नै सिकाउने गर्छन् ।

यो त भयो ६ वर्ष मुनिकालाई दिइने अनौपचारिक शिक्षा !

६ वर्ष माथिकालाई प्राथमिक तहमा चाहिँ औपचारिक शिक्षा दिँदा पूर्णतः डिजिटल प्रविधिबाट दिइन्छ ।

हरेक बालबालिकालाई एउटा डिजिटल प्लेटफर्म उपलब्ध गराइन्छ । जहाँ हरेक बालबालिकाको छुट्टाछुट्टै लगइन एकाउन्ट हुन्छ । उनीहरूले लगइन गरेपछि उनीहरूले गर्नुपर्ने होमवर्क शिक्षकले त्यहाँ नै राखिदिएको हुन्छ । त्यस्तै, सिक्नुपर्ने कुरा सबै त्यहाँ नै हुन्छ । पूर्ण स्कुल नै त्यहाँ डिजिटल्ली राखिएको हुन्छ । बालबालिकलाई सिकाउनुपर्ने कुरालाई त्यहाँ रमाइलो तरिकाले अभ्यास (exercise) बनाएर राखिएको हुन्छ । हरेक exercise को सही उत्तर दिएपछि बोनस नम्बर प्राप्त हुन्छ र त्यो बोनसबाट फन्टास्टिक चिजहरू किन्न मिल्छ । जस्तो जुँगा, दारी, ज्याकेट, लट्ठी आदि । यस्ता चिज प्राप्त गर्न पनि बच्चाहरू exercise गर्न उद्यत् हुन्छन् । त्यस्तैगरी विभिन्न शैक्षिक कथासम्बन्धी भिडियोहरू पनि त्यहाँ हेर्न मिल्छ । त्यस्तै, शैक्षिक सामग्रीसँग सम्बन्धित गेमहरू पनि खेल्न मिल्छ त्यहाँ ।

यसरी सिकाइलाई नै डिजिटलाइज्ड गरिदिँदा अहिलेका बालबालिकामा रहेको विकृतिपूर्ण बानी सेलफोन तथा आइप्याडमा अनावश्यक भिडियो हेर्ने र अनावश्यक गेम खेल्ने बानीलाई चाहिँ शैक्षिक कुराहरू अभ्यस्त गर्ने बानीमा परिणत गर्न सकिन्छ ।

यसरी यहाँको स्मार्ट सिटीमा स्मार्ट तरिकाले शिक्षा दिइन्छ ।

यो विधि गाउँगाउँमा सम्भव नभए पनि शहरी क्षेत्रमा चाहिँ सम्भव छ, अर्थात् जहाँ स्मार्ट सिटी बनाउँछु भनेका थिए त्यहाँचाहिँ सम्भव छ । एकपटक एउटा सफ्टवेयर बनाएर नेपालमा पढाइने पाठ्यक्रमलाई यस्तै तरिकाले सिस्टममा राखेपछि हरेक स्कुलमा त्यही एउटै सफ्टवेयरले काम गर्छ । यसैले यो खर्चालु पनि छैन ।

यस्तैगरी, एनआरएनएलगायत अन्य सङ्घसंस्थाले नेपालमा गर्ने च्यारिटी परियोजनाहरू कुनै एउटा वृद्धाश्रममा लगेर खाना बाँड्नु वा कपडा बाँड्नु, त्यस्तै बाल मन्दिरमा गएर खाना बाँड्नुभन्दा नमुनाको रूपमा कुनै स्कुल छनोट गरेर यस्तै परियोजना सञ्चालन गरेमा त्यसले दीर्घकालीन प्रभाव पर्ने थियो । वृद्धाश्रममा खाना बाँड्दा आज मीठो खान्छन्, भोलि त फेरि जस्ताको तस्तै हुन्छन् । यस्ता परियोजनामा खर्च गर्दा भोलिका देशका कर्णधार बालबालिका सक्षम भएर निस्कन सक्छन् । यसैले अहिले एनआरएनएले गर्ने भनेको एक देश एक च्यारटी परियोजना यस्तै कार्यमा लागू होस् भन्ने कामना गर्दछु ।

यससम्बन्धी मैले एउटा भिडियो बनाएको थिएँ । यस लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

२. स्मार्ट नागरिक :

स्मार्ट नागरिकबारे कुरा गर्दा एउटा उदारणबाट शुरु गरौँ । करिब सात वर्ष पहिला म पढ्दै रहँदा एक रेस्टुरेन्टमा पार्टटाइम काम गर्दथेँ । उक्त रेस्टुरेन्टकी मालिक्नी एक दिन आइतबार काम सकेर घर फर्कंदै गर्दा बाटोमा एक सुनसान ठाउँमा रातो बत्तीमा कार रोकेको बेला एक ब्रुमर (सानो मोटरसाइकल)ले कारको सिसामा हिर्काएछ । उनीसँग रेस्टुरेन्टको व्यापारको करिब ३०००€ नगद पनि साथमा नै रहेछ । अनि उनले सोचिछन्– ओहो बत्ती कहिले ग्रिन होला नत्र यसले मेरो ३०००€ लुट्ने भयो । जब कि बाटो एकदमै सुनसान थियो र अर्को दिशाबाट कुनै पनि कारहरू आएका थिएनन् । उनी रातो बत्ती ब्रेक गरेर जान सक्थिन् र रातो बत्तीको नियम तोड्दा जम्मा ५०€ जरिवाना मात्र हुने थियो । ५०€ जरिवाना तिर्छु, त्यसो भएमा मेरो ३०००€ बच्छ भनेर उनले सोचिनन् । यसको मतलब के हो भने यहाँका नागरिक नियमकानुनप्रति अत्यन्तै इमानदार हुन्छन् र सदैव सम्मान गर्दछन् ।

एउटा शहर स्मार्ट बन्न उक्त शहरमा बसोवास गर्ने नागरिकको इमानदारी, नैतिकता, मूल्य–मान्यताले ठूलो प्रभाव पार्दछ । यहाँका मानिसको इमानदारी र नैतिकता एकदम उच्च हुन्छ । पार्क वा सडकमा फोहोर देखेमा टिपेर डस्टबिनमा राखिदिने, आफूले कहिल्यै पनि जथाभावी फोहोर नगर्ने, बैंक, अफिस, अस्पताललगायत अन्य कार्यालय जहाँ टोकन छैन भने पनि पालो प्रथालाई अत्यन्तै सम्मान गर्ने । उनीहरू जतिसुकै हतार भए पनि पालो मिच्न चाहँदैनन्, बरु उक्त दिन नभ्याउने भए अरू दिन आउँछन् । त्यस्तै आफूले सरकारप्रति निर्वाह गर्नुपर्ने दायित्व पनि इमानदारीका साथ निर्वाह गरिरहेका हुन्छन् । सरकारलाई तिर्नुपर्ने कर सकभर छली नगर्ने र अरूलाई पनि गर्न नदिने, कहीँ कसैले गलत गरेको देखेमा तत्काल सम्बन्धित निकायमा फोन वा इमेल गरेर खबर गरिदिने ।

राजनीति यहाँका नागरिकहरू गर्दै गर्दैनन्, चुनावको समयमा पनि यहाँका होटेल, रेस्टुरेन्ट, क्याफे, सार्वजनिक यातायात कहीँ–कतै चुनावसम्बन्धी गफ गरेको सुनिन्न । कतिपयको श्रीमान्ले कसलाई भोट दियो, श्रीमतीले कसलाई भोट दिइन्– थाहा पनि हुँदैन, सोध्न पनि चाहँदैनन् । कतिपयले चाहिँ यो–यो कारणले म यो पार्टीलाई भोट दिन्छु, तिमीले कसलाई दिने भनेर पार्टनरसँग जिज्ञासासम्म राख्छन् । यहाँ चुनाव प्रचारप्रसार पनि भद्दा पाराले हुँदैन । यहाँका उम्मेदवारले सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट आफूलाई भोट दिनुपर्ने कारण र जितेको खण्डमा भावी एजेण्डा प्रस्तुत गर्दछन । यतिसम्म कि गत साल यहाँ स्थानीय चुनाव भयो, मेरै घर भएको गल्लीको अर्को घरमा बस्नेको छोरा चुनावमा उठेका रहेछन् । उनीसँग बेलाबेलामा हाइहेलो भइराख्थ्यो, तर उनले छोरो उम्मेदवार छ, भोट दिनुहोला भनेर कहिले पनि भनेनन् । चुनावको दिनमा पनि भेट भयो, केही भनेनन्, अरू कसैले मलाई उनी पनि छन् भने र मैले भोट दिएँ ।

बन्द–हडताल सम्बन्धमा पनि कुरा राख्न मन लाग्यो । यहाँ पनि बेलाबेलामा विभिन्न माग राखेर आमहडताल भइराख्छ, तर नेपालमा जस्तो सबैतिर प्रतिबन्ध गराएर तोडफोड गर्ने, आगजनी गर्ने गरिँदैन । हडताल सम्बन्धमा कारणसहित धेरै समय अगावै सुसूचित गराइन्छ । जसलाई उक्त दिन काम गर्न इच्छा छैन अर्थात् हडतालको समर्थन गर्न मन छ, उनीहरू काममा जाँदैनन् । जसलाई हडतालको दिन पनि काम गर्न इच्छा छ, अर्थात् हडतालको विरुद्धमा छ ऊ काममा जान्छ । यो सरकारी तथा प्राइभेट दुबै सेक्टरमा लागू हुन्छ ।

स्कुलमा केही दिनअघि नै शिक्षकलाई उक्त दिन काममा आउने वा नआउने भनेर सोधिन्छ । धेरैजसो शिक्षकले आउने भने भने हडताल भए पनि पठनपाठन चालू रहनेछ भनेर अभिभावकलाई चिठी पठाइन्छ भने धरै शिक्षक नआउने भए नहुने कुरा जानकारी गराइन्छ । त्यस्तै, अन्य कार्यालय तथा फ्याक्ट्रीमा हडताल आयोजना भएको अघिल्लो दिन मालिकले वा हाकिमले भोलि काममा आउने वा नआउने भनेर सोध्दछन् र त्यहीअनुसार कार्य सुचारु गर्ने वा नगर्ने निर्णय गर्दछन् भने सार्वजनिक यातायातमा सवारीचालक आउनेले आफ्नो सवारी चलाउँछ नआउनेको खालि रहन्छ । यहाँ कहीँ पनि चक्काजाम, आगजनी हुँदैन ।

यसैले स्मार्ट नागरिकबिनाको स्मार्ट सिटी कल्पना गर्नु अर्थहीन रहन्छ ।

३. स्मार्ट वातावरण :

एउटा सिटी स्मार्ट रहन त्यहाँको वातावरण पनि स्मार्ट रहनुपर्छ । स्मार्ट वातावरण भन्नाले प्रदूषणरहित रहनुपर्छ । म बसेको सहरको कुरा गर्ने हो भने अहिले पुराना डिजेलका कारहरू जसले धेरै Co2 फ्याँक्छन् तिनलाई सिटीभित्र छिर्न दिइँदैन । शहर छिर्ने हरेक बाटोमा सिल्म क्यामेरा राखिएको छ र शहर छिर्न मापदण्ड नपुगेको कार भित्र छिरेमा ती क्यामेराले पत्ता लगाउँछन् र सिस्टममा पठाइदिन्छ अनि २००€ जरिवाना पठाइदिन्छ । त्यस्तै, कारहरू जति पुराना हुन्छन् त्यति बढी प्रदूषण गर्ने भएकाले ट्याक्स पनि पुराना कारलाई बढी र नयाँ कारलाई कम रहन्छ ।

शहरभित्र करिब हरेक पाँच सय मिटरको फरकमा बच्चा खेल्न मिल्ने विभिन्न सुविधा त्यस्तै अन्य खेलहरू खेल्न मिल्नेसहितका पार्कहरू भेटिन्छन् । ती पार्कहरूमा रुखबिरुवा रोपिएको हुन्छ, फूलहरू रोपिएको हुन्छ । त्यस्तै, सडक किनारहरूमा पनि रुखलगायत फूलहरू रोपिएको हुन्छ । वर्षको कम्तीमा दुईपटक ती रुख तथा फूलहरूको सर्भिसिङ गरिन्छ ।

यहाँका मानिस वातावरण विनाशप्रति एकदमै सचेत हुन्छन् । सरकारी कार्यालयको साथसाथै प्राइभेट कम्पनीहरूले पनि सकभर प्रिन्ट गर्दा पेपर प्रयोग हुने र पेपर बनाउन रूख काट्नुपर्ने भएकाले धेरै काम डिजिटल्ली गर्न चाहन्छन् । मलाई पनि मैले आपूर्ति गराउने धेरै कम्पनीले बिलहरू पठाउँदा इमेलमा पठाउँछौँ भनेर अनुरोध गरिरहेका हुन्छन् । यहाँको भाषामा भन्दा wij willen minder boom kappen अर्थात् हामी कम रूख काट्न चाहन्छौँ भनेर हरेक बिलमा बिल इमेलबाट पठाउन अनुरोध गरिरहेका हुन्छन् ।

यहाँ शहरनजिकको जङ्गलहरूमा गएर मानिसले रूखलाई कसैले काटिदेला भनेर एडप्ट गरेका हुन्छन् अर्थात् यो रूख मेरो सन्तान हो भनेर आफ्नो नाम लेखेको पाइन्छ ।

४. स्मार्ट सरकार :

स्मार्ट स्थानीय सरकारबिना त सिटी स्मार्ट हुने कुरा भएन । स्मार्ट सरकार भन्नाले सरकारको नीति–नियम स्मार्ट हुनुको साथै सरकारी कामकाज स्मार्ट तरिकाले गर्नु हो ।

यहाँको सरकारी कामकाजको कुरा गर्दा प्रायः सबै सरकारी कार्यालय एपोइन्टमेन्ट बेस सिस्टममा काम गरिन्छ जसले गर्दा सेवाग्राही गएर लामो लाम बस्नुपर्दैन र समयलाई त्यत्तिकै मार्नुपर्दैन । एपोइन्टमेन्ट इन्टरनेटबाट वा मोबाइल एपबाट वा टेलिफोनबाट लिन सकिन्छ, सम्बन्धित कार्यालय गइरहन पर्दैन । हरेक नागरिकको नाम, ठेगाना, जन्मस्थान, जन्ममिति, पेसालगायत सम्पूर्ण सूचनाको एउटा सरकारी डेटाबेस रहेको हुन्छ । आफँै उपस्थित भई साइन गर्नुपर्ने अर्थात् फोटोसहितको परिचयपत्र र घर किनबेचबाहेकका सबै काम कार्यालयमा उपस्थित नभईकन इन्टरनेटको माध्यमबाट गर्न सकिन्छ ।

यहाँ शिक्षा, स्वास्थ्य र रोजगार सरकारले जिम्मा लिएको हुन्छ । शिक्षा पूर्ण रूपमा निःशुल्क हुन्छ । अझ हरेक वर्ष–वर्षमा एउटा स्टुडी टुलाटन भन्ने प्रोग्राम हुन्छ जसले उल्टो पढ्ने विद्यार्थीको अभिभाभकलाई पैसा दिन्छ । स्वास्थ्य पनि लगभग निःशुल्क नै हुन्छ । आम्दानीको आधारमा नगन्य रूपमा अस्पतालको सरसफाइ र सामान्य प्रशासनिक खर्चका लागि शुल्क लिएको हुन्छ । बेरोजगारलाई बेरोजगार भत्ता दिएर रोजगारीको पनि जिम्मा लिएको हुन्छ । प्राइभेट कार्यालयभन्दा पनि सरकारी कार्यालय चुस्त–दुरुस्त देखिन्छ । भ्रष्टाचार वा घुसबारे त यहाँका न कर्मचारीले कल्पना गर्छन् न त सेवाग्राहीले नै ।

५. स्मार्ट बसोवास :

हाम्रो काठमाडौंको बसोवास हेर्ने हो भने अस्तव्यस्त एउटा कङ्क्रिट नै कङ्क्रिटको थुप्रोजस्तो लाग्छ । यहाँको सन्दर्भमा कुरा गर्दा बसोवास गर्न निश्चित ठाउँ तोकिदिएको छ । खेती गर्ने ठाउँ अलग छुट्याइएको छ भने बसोवास गर्ने ठाउँ अलग । यहाँ नेपालमा जस्तो जहाँ खाली ठाउँ देख्यो त्यहाँ गएर प्लटिङ गरेर घर बनाउन पाइँदैन । सरकारले तोकिदिएको सम्पूर्ण पूर्वाधार भएको ठाउँमा मात्र बसोवास गर्न पाइन्छ ।

हरेक बस्तीको हरेक गल्लीको नाम दिइएको हुन्छ र हरेक घरको घर नम्बर । हरेक व्यक्तिले आफू बस्ने ठाउँको ठेगाना सरकारी कार्यालयमा दर्ता गरेको हुनुपर्छ । ठेगाना नभएसम्म कुनै पनि सरकारी सेवा–सुविधा उपयोग गर्न पाइँदैन । उक्त ठेगाना प्रहरीको एउटा विभागअन्तर्गतको अधिकृत आएर त्यहाँ बसोवास गर्ने हो–होइन चेकजाँच गरेर मात्र पास हुन्छ । सरकारलगायत अन्य सरोकारवाला सङ्घसंस्थाले जनतासँग गर्नुपर्ने सञ्चार चिठीपत्रमार्फत गर्छन् जुन यस्तै व्यवस्थित ठेगाना प्रणालीले गर्दा सम्भव भएको हो ।

हरेक घरमा बिजुली, पाइपलाइन ग्यास, टेलिफोन तार, टेलिभिजन तार जोडिएको हुन्छ । हरेक घरको भित्री तथा बाहिरी सम्पूर्ण विवरण सरकारी दस्तावेजमा नक्सा र रङसहित रहेको हुन्छ । जस्तो तपाईंले ठेगाना दिनासाथ कस्तो कलरको घर, कति कोठा, कति ट्वाइलेट, कति बाथरूम सबै कुरा सरकारी अधिकृतले कम्प्युटरमा रेकर्ड हेरेर बताइदिन सक्छन् । एउटा गल्लीअन्तर्गतको हरेक घरको बाहिरी डिजाइन र रङ एउटै हुन्छ जुन तपाईंले फेर्न सक्नुहुन्न । तपाईंलाई घरबाहिरको रङ बदल्न मन लाग्यो भने नगरपालिकामा अनुमति माग्नुपर्छ र नगरपालिकाले छिमेकीसँग सोधपुछ गर्छ । छिमेकीले आपत्ति जनाएनन् भने मात्रै फेर्न सक्नुहुन्छ नत्र फेर्न पाइँदैन ।

पिचबिनाको रोड तथा रोड नपुगेको ठाउँमा घर भन्ने त यहाँ कल्पना पनि गर्न सकिन्न । हरेक घरको अगाडि वा पछाडि केही ठाउँ खाली छोडेर बनाइएको हुन्छ । यस शहरको झन्डैझन्डै सबै घर नगरपालिकाले आफँैले बनाएर जनतालाई बेचेको हो, त्यसैले हरेक गल्लीका घरहरू भित्र–बाहिर आकार र रङ सबै एउटै हुन्छन् ।

६. स्मार्ट अर्थतन्त्र :

एउटा सिटी स्मार्ट बन्न स्मार्ट तवरले खर्च गर्न सक्नुपर्छ र स्मार्ट तवरले खर्च गर्न आम्दानी पनि स्मार्ट हुनैपर्छ । आम्दानी स्मार्ट हुन अर्थतन्त्र पनि स्मार्ट हुनुपर्छ ।

यहाँको अर्थतन्त्र यस्तो छ कि कुनै व्यक्तिले आफूले तिर्नुपर्ने ट्याक्स कसैगरी छल्न सक्दैन । यहाँ प्राइभेट वा सरकारी जहाँसुकै काम गर्नेले वर्षमा १५ महिनाको तलब पाउँछ । डिसेम्बरमा १ महिनाको तलबबराबर फेस्टिभल बोनस हाम्रो दशैँभत्ता जस्तै अनि जुनमा दुई महिनाको तलबबराबरको बिदा मनाउन पैसा । यो काम गरेको आम्दानीको आधारमा मात्र पाउँछ । अब कसैले आयकर छल्न कामचाहिँ कालोमा ग¥यो भने यो पैसा गुमाउँछ । करतन्त्रको संरचना यस्तो छ कि जता जे गरे पनि उस्तै पर्न जान्छ । सेतोमा काम गर्दा आयकर तिर्नुपर्छ, कालोमा काम गर्दा आयकर तिर्नुपर्दैन, तर पाउने सुविधा गुम्छ ।

व्यवसायीको हकमा पनि त्यस्तै छ । जस्तो मैले मेरो व्यवसायको खर्च बढी देखाउन भनेर मैले चढ्ने कार व्यवसायलाई भाडामा दिएँ जसले गर्दा व्यवसायको कर कम पऱ्यो, तर त्यो भाडाको पैसा त मेरो व्यक्तिगत आम्दानी भयो अनि मैले व्यक्तिगत आयकर त तिर्नैपऱ्यो । कुनै कामदारलाई कालोमा काम लगाइयो भने खर्च कम देखिन्छ जसले गर्दा आयकर बढ्छ । यदि उसलाई सेतोमा काम लगाइयो भने काम लगाएबापतको छुट्टै कर तिर्नुपर्छ ।

कालोमा धेरै आम्दानी गरेर पनि के गर्ने ३०००€ भन्दा बढी नगद बोकेर हिँड्न पनि पाइँदैन । त्यसभन्दा बढी एकपटकमा बैंकमा जम्मा गर्न पनि पाइँदैन ।

यहाँ बेरोजगारलाई बेरोजगार भत्ता दिइन्छ, तर ऊ हरेक समय काममा जान तयार हुनुपर्छ र काम लगाइदिने संस्थामा पनि दर्ता भएको हुनुपर्छ । बेरोजगार भत्ता लिएको मान्छेले आफ्नै घरको घरायसी काम गर्न पनि पाउँदैन । जस्तो म काम नभएर बेरोजगार भत्ता लिएर बसेको छु भने आफ्नै घरमा रङ लगाउने काम गर्न पाउँदिनँ, घरको करेसाबारीको काम गर्न पाउँदिनँ । यदि त्यस्तो पत्ता लाग्यो भने सबै भत्ता फिर्ता गर्नुपर्ने हुन सक्छ । बेरोजगार भत्ता जति लामो समय भयो उति घट्दै जान्छ र काम गर्न पनि उत्ति नै प्रेसर दिनेगरी चिठी आइराख्छ । बेलाबेलामा सरकारले स्यामपलिङ गरेर निश्चित घरहरूमा छापा मार्छ र त्यो घरमा भएको हरेक सामानको खरिदको आम्दानीको स्रोत र बिल माग्न सक्छ ।

यसरी यहाँको अर्थतन्त्रमा हरेक मान्छेको हरेक क्रियाकलाप करको दायरामा रहन्छ । जसले गर्दा अर्थतन्त्र स्मार्ट छ र सिटी पनि स्मार्ट छ ।

७. स्मार्ट यातायात :

सिटी स्मार्ट बनाउन यातायात व्यवस्थापन पनि स्मार्ट हुनुपर्छ । यहाँको सार्वजनिक यातायातको कुरा गर्दा एउटा शहरभरि जम्मा एउटा कम्पनीको मात्र यातायातका साधन गुड्छन् । यहाँ मुख्यगरी बस र ट्राम तथा मेट्रो सार्वजनिक यातायात हुन् जुन एउटा मात्र कम्पनीको स्वामित्वमा छ । यसमा पैसा तिर्न हरेक स्टेसनमा मेसिन राखिएको हुन्छ, त्यो मेसिनबाट कार्ड खरिद गरेर बस तथा ट्रामभित्र रहेको स्वायप मेसिनमा स्वायप गरेर तिर्न सकिन्छ । त्यस्तै उक्त कार्ड विभिन्न सुपरमार्केटमा पनि किन्न सकिन्छ । त्यस्तैगरी मोबाइल एप्लिकेसन तथा एसएमएसबाट पनि तिर्न सकिन्छ । टिकट ड्राइभरबाट पनि किन्न सकिन्छ, तर ड्राइभरसँग लिँदा अलि महँगो हुन्छ । यस्तो कार्ड मासिक, तीनमहिने, ६ महिने तथा एकवर्षे पनि लिन सकिन्छ । जति लामो समयका लागि एबोनामेन्ट लियो उति नै सस्तो पर्न जान्छ । आम्दानी र पारिवारिक सङ्ख्याको आधारमा कम आम्दानी हुनेलाई र धेरै पारिवारिक सङ्ख्या हुनेलाई सरकार यस्तो कार्ड थोरै शुल्कमा उपलब्ध गराइदिन्छ । एकचोटि स्वायप गरेपछि अर्थात् एकचोटिलाई पैसा तिरेपछि एक घन्टासम्म जुनसुकै बस, ट्राम जतासुकै जाने प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

बस, ट्राम तथा ट्याक्सीजस्ता सार्वजनिक यातायातलाई सडकमा बढी मान्यता दिइन्छ अर्थात् प्राइभेट सवारीसाधनले बाटोमा यिनीहरूलाई बाटो छोडिदिनुपर्छ । हुन त धेरैजसो ठाउँमा बस, ट्याक्सी तथा ट्राम जाममा नपरुन् भनेर छुट्टै बाटो बनाइएको हुन्छ जुन बाटोमा अन्य सवारीसाधन चलाउन पाइँदैन ।

ट्याक्सीको हकमा यहाँ नेपालमा जस्तो यहाँ जान्नँ त्यहाँ जान्नँ भन्न पनि पाइँदैन, मिटरमा जान्नँ भन्न पनि पाइँदैन । ट्याक्सीलाई फोन वा मोबाइल एपबाट अर्डर गर्न सकिन्छ । ट्याक्सीलाई अर्डर गरिसकेपछि कहाँ आइपुग्यो, कतिखेर आइपुग्छ भनेर ट्रयाकिङ गरेर पनि हेर्न सकिन्छ । प्रायः ट्याक्सी अर्डर गरेपछि ५ मिनेटभित्रमा आइपुग्छ ।
त्यस्तैगरी, शहरको विभिन्न ठाउँमा नगरपालिकाले साइकल पनि राखिदिएको हुन्छ । जुन थोरै शुल्क तिरेर वार्षिक रूपमा सदस्य बन्न सकिन्छ र निःशुल्क प्रयोग गर्न सकिन्छ । अहिले करिब एक वर्ष अगाडिबाट शहरमा प्रदूषण कम गर्न पुराना गाडी शहरभित्र आगमन निषेध गरेपछि एउटा कम्पनीले विभिन्न गाडीहरू पनि शहरको विभिन्न ठाउँमा फिँजाएर राखिएको हुन्छ । जसले गर्दा पुराना गाडी हुनेहरूले शहरको रिङबाहिर आफ्नो गाडी पार्क गरेर यिनै गाडीहरू लिएर शहरभित्र जान सक्छन् । यसले यहाँको सरकार जनताप्रति कति उत्तरदायी छन् भन्ने पनि देखाउँछ ।

यससम्बन्धी मैले एउटा भिडियो बनाएको थिएँ जुन यो लिङ्कमा छ ।

यसैले एउटा शहर पूरा रूपमा स्मार्ट हुन यी कुराको आवश्यकता पर्छ । सरकारमा उत्तरदायीपना, नागरिकमा जिम्मेवारी, कर्मचारीमा इमानदारी र नेतामा नैतिकता भयो भने सम्भव छ ।

यो पनि पढ्नुहोस्-

बेल्जियममा नेपाली व्यवसायी
http://www.ghatanarabichar.com/128170

प्रतिक्रिया