हार्मोनल असन्तुलनले बढाउँछ तौल

यस्ता छन् नियन्त्रणका उपाय





शरीरको तौल बढ्नुलाई आजभोलि चिन्ताको रूपमा लिइन्छ । तर, यो असाध्य समस्याको विषय भने होइन । तौल बढ्ने चिन्ताले सन्तुलित खानपान अवलम्बन गर्ने व्यक्ति पनि अस्वाभाविक तवरले मोटाइ बढेर समस्यामा परेका कैयन उदाहरण भेटिन्छन् । यस्तोमा खानपानको रुटिनबद्ध नियन्त्रण हुँदा पनि किन तौल बढिरहेको होला भनी चिन्ता र आश्चर्य लाग्नु स्वाभाविक हुन आउँछ । वास्तवमा सचेत रहँदारहँदै यसरी तौल बढ्छ भने हार्मोनल असन्तुलन नै मूल कारण हुन सक्छ । जब मानिसको शरीरमा हार्मोनल गडबडी हुन पुग्छ, कपाल झर्ने, निद्रा नलाग्ने र छालाको रङ बदलिनेजस्ता समस्या उत्पन्न हुन्छन् । हार्मोनियल असन्तुलन निम्तिनुको कारण, लक्षण एवम् यसबाट बच्ने तरिकाबारे सुझाव दिँदै गर्दा मेडिकल न्युट्रिसन कन्सल्टेन्टहरू यस्ता सवाल गर्न सक्छन्, जस्तो कि, तपाईं यतिबेला के सोचिरहनुभएको छ ? खुसी हुनुहुन्छ कि खिन्न ? गएराति डिनरमा तपाईंले के खानुभएको थियो ? के तपाईंको आसपासको माहोल हल्लायुक्त छ ? तपाईं कति छिटो या गहिरोसँग स्वास लिनुहुन्छ ? तपाईंले आज एक्सरसाइज गर्नुभयो ? दिनमा तपाईं कत्तिको चिया–कफी पिउनुहुन्छ ? तपाईंसँग जो व्यक्ति नजिकमा छ उसलाई मन पराउनुहुन्छ ? के तपाईं शारीरिकसम्बन्धको आनन्द उठाइरहनुभएको छ ?

के हो हार्मोन्स ?

हाम्रा पाँचै इन्द्रियहरू लगातार पर्यावरणको सम्पर्कमा रहेका हुन्छन् । नर्भस सिस्टम हाम्रो एन्डोक्राइन सिस्टमको सम्पर्कमा रहेको हुन्छ । एन्डोक्राइन सिस्टम ग्ल्यान्डस् तथा टिस्युजको ‘चेन’ हो जो शरीरमा सन्तुलन मिलाउन विभिन्न किसिमका हार्मोन्स निर्माण गर्छ । हार्मोन्स भनेको स–साना केमिकल मेसेन्जर्स हो जसले शरीरमा संवाद प्रक्रियालाई अघि बढाउँछ । यसले शरीर सिस्टमका लगभग सबैजसो प्रक्रियालाई प्रभावित तुल्याउनेजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्छ, जसमा व्यक्तिका सोच–विचार तथा अनुभवसमेत पर्दछन् । सुत्नु, उठ्नु, उत्साहित हुनु, शान्त रहनु, चिया–कफी पिउनुजस्ता तमाम इच्छा तथा क्रियाहरू हार्मोनल एक्टिभिटीमा पर्दछन् । हार्मोन्सले शारीरिक बनावटलाई पनि प्रभावित तुल्याउँछ । छाला, कपाल आदि पनि यसबाट प्रभावित हुन्छन् । मेटाबलिज्म बढाउने, फ्याट घटाउने, राम्रो निद्रा लगाइदिने, एकाग्र भएर काममा ध्यान दिनेजस्ता सकारात्मक क्रियाकलापको निम्ति हार्मोन्सलाई सन्तुलित तुल्याएर राख्नु आवश्यक छ ।

यसको निम्ति सही डाइट तथा एक्सरसाइजको अलावा राम्रो निद्रा, टक्सिन्सलाई शरीरबाट बाहिर निकाल्नु, लिभर फङ्सन तथा पाचनतन्त्रलाई सुचारु बनाउनु, दबाबमुक्त रहनु जरुरी हुन्छ । हार्मोनल असन्तुलनको अर्थ यो हुन आउँछ कि कुनै कारणवश शरीरले विरोध प्रकट गरिरहेको छ । कतिपय अवस्थामा समस्याबाट बच्नु वा उम्कनु मुस्किलको काम जस्तो लाग्छ, किनकि त्यतिबेला व्यक्ति कैयन प्रकारका कृत्रिम केमिकल्सहरूबाट घेरिएको हुन्छ । सही डाइट, भिटामिन्स, मिनरल्स तथा हर्बल्सहरूको उचित प्रयोगबाट धेरैजसो समस्या समाधान हुन सक्छ । ओबेसिटी, फुड एलर्जी या कुनै खाद्य पदार्थप्रति संवेदनशीलता, पाचनतन्त्रमा गडबडी, लगातार दबाबमा काम गर्नु, टक्सिन्स, पौष्टिक तत्वहरूको कमी, औषधि, अनुवांशिक कारण तथा सङ्क्रमण आदिबाट हार्मोनल असन्तुलन हुन सक्छ ।

हार्मोनल गडबडीका लक्षण :

हार्मोनल असन्तुलनको लक्षणहरूमा असामान्य बडी सेप, गर्दनवरपरको छालामा परिवर्तन, असामान्य रूपले कपाल उम्रिनु, कपाल रुखो हुनु, कपाल झर्नु, नङको रङ असामान्य हुनु, नङमा सेता थोप्ला देखापर्नु, छाला सुक्खा देखिनु, कम्मरको आकार बढ्दै जानु र हिप एरियामा अत्यधिक बोसो जम्नु, असामान्य बीएमआई, झर्को लाग्नु र अवसादमा पर्नु रहेका छन् । तसर्थ, दबाब घटाउनुहोस् । दबाब भन्ने कुरा ‘स्थिति’का कारण नभई स्थितिप्रति व्यक्तिले कस्तो प्रतिक्रिया प्रकट गरिरहेको छ भन्नेमा भर पर्छ । दबाब बढ्दा सबभन्दा पहिले पाचनतन्त्रमा गडबडी शुरु हुन्छ ।

संसारमा पछिल्ला ७५ वर्षमा असी हजारभन्दा बढी केमिकल्स निर्माण भएका छन् । यसमा हेभी मेटल्स, सल्वन्स, पोलिक्लोरिनेटेड बिसफिनल्स, अर्गेनोफोस्फेट पनि सामेल छन् । इन्डस्ट्रियल केमिकल्स, जस्तो कि कीटनासक, परफ्युम्स, कृत्रिम रङ, फ्लेवरिङ्स तथा प्लास्टिकले शरीरमा अत्यन्त खराब प्रभाव पार्दछ । यसको असर महिला र पुरुष दुवैमा पर्दछ । यीमध्ये कतिपय केमिकल्सले एन्डोक्राइन सिस्टममा बाधा पुऱ्याउँछ जसबाट हार्मोन्स प्रभावित हुन गई शरीरमा अत्यधिक फ्याट जम्न थाल्दछ ।
हार्मोनल सन्तुलन कायम राख्न शरीरका टक्सिन्सलाई बाहिर निकाल्ने र दबाबरहित अवस्थामा रहने हरदम प्रयत्न गरिरहनु आवश्यक छ । यसले अप्रत्यासित रूपबाट तौल बढ्ने सम्भावनालाई निकै कम गर्छ ।

प्रतिक्रिया