हाम्रो ‘सिने-न्यारेटिभ’ बदलिनुपर्छ

हाम्रो ‘सिने-न्यारेटिभ’ बदलिनुपर्छ


नेपाली फिल्मको विकास, कथावाचन, दर्शन, समाज, साहित्य र अर्थशास्त्रमाथि पटक–पटक डिस्कोर्स चल्ने गर्छ । ५० वर्ष इतिहास बोकेको घरेलु फिल्मले यो बिन्दुसम्म आइपुग्दा कथ्य, शिल्प र बजारमा आफूलाई ठूलै परिवर्तन गरेको छ । तर, परिवर्तन दिगो वा क्षणिक ? कसरी नेपाली फिल्मले आफ्नै दृश्यभाषासहित बजार सिर्जना गर्न सक्छ ? यसबारे नेपाल चलचित्र समीक्षक समाजका सचिव विष्णु शर्मासँगको संवाद प्रस्तुत छ :

० हामीलाई कस्ता फिल्म आवश्यक छन् ?
– नेपाली फिल्मका दुई स्कुल छन्– प्रकाश थापा र तुलसी घिमिरे । थापा कमर्सियल र घिमिरे फिल्मको कलात्मक पक्षका सूत्रधार हुन् । दुई स्कुलबीचको यो घर्षण नेपाली फिल्मको वर्तमान हो । लुटले दुई विचारलाई सन्तुलन प्रयत्न गरेको थियो । छक्कापञ्जासम्म आइपुग्दा थापाको स्कुल प्रभावशाली देखियो । जसलाई हामी नेपाली मूलधार भन्छौँ । घिमिरे न्यारेटिभलाई पछ्याउने र फिल्मलाई बौद्धिक उत्पादनको रूपमा लिने पुस्ता छ अहिले । समूह सानो छ, सपना अब्बल छ र अठोट छ यो पुस्तासँग । यो स्कुल आफ्नै दृश्यभाषा बनाउन चाहन्छ । हामीलाई पैसा पनि चाहिएको छ र कला पनि । यी दुई स्कुलबीच सन्तुलन मिलाउनु अहिलेको खाँचो हो ।

० के छक्कापञ्जा नेपाली फिल्मको मास डिफाइन हो ?
– मास डिफाइन अर्थात् सामूहिक व्याख्यामाथि चर्चा गर्दा नेपाली समाजको अर्थ–राजनीतिक आयाम बुझ्नु जरुरी हुन्छ । बलिउड र नेपाली फिल्मको इतिहासका जरा एउटै हुन् । दुवै रामायण र महाभारतबाट संरचित रहे । त्यतिबेलादेखि नै कथा सुनाउन श्रुति परम्पराको माध्यम थियो । यसको परिणामले नेपाली र भारतीय फिल्म दृश्यभाषाभन्दा रेडियो नाटक बढी लाग्न थाले । हेर्नेभन्दा सुन्ने । समयको गतिमा भएका विभिन्नखाले सामाजिक र राजनीतिक आन्दोलनले मान्छे इस्केप्टिक (पलायन र भाग्यवादी) बन्न थाले । यसको अर्थ, उनीहरूको लागि फिल्म हेर्नु दैनिक समस्यासँग भाग्नु हो । यही सामाजिक मागको रूपमा ज्यादा पञ्चलाइन, जोक्स राखिने फिल्म चल्न थाले । नेपाली समाजको चेतनाको सौन्दर्य शास्त्र जुन उचाइमा छ, दर्शकले उही स्वाद लिने हो । यसकारण छक्कापञ्जा नेपाली समाजको मास डिफाइन हो । प्रश्न संस्कृतिलाई गर्नुस । यसको अर्थ दर्शक अहिले पनि कलात्मक फिल्म हेर्न रेडी छैनन् भन्ने हो । यद्यपि, प्रसादजस्ता फिल्मले रियालिज्म स्थापना गरिदिएका छन् । यो सङ्केत सुखद हो ।

० नेपाली समाज अगाडि छ कि फिल्म ?
– फिल्मजस्तै नेपाली राजनीति र समाजले इतिहासमा धेरै कुइनेटा छिचोल्यो । २००७ सालमा राणा ढाल्यौँ र शाह स्थापना ग¥यौँ । महेन्द्रले जनमतसङ्ग्रहका बेला फिल्मको महत्व बुझेर डकुमेन्ट्री बनाउन लगाए । २०४६ मा पञ्चायत ढल्यो र लोकतन्त्र आयो । मुलुकले खुला अर्थनीति अपनायो । यो दशकमा दरबार र राष्ट्रवादका प्रोपोगान्डा मिसिएका फिल्म बने । केही फिल्म निर्माताले समाजका कथावस्तु टिपेर फिल्म बनाए । कथ्यशिल्पको आधारमा यी फिल्म अब्बल थिए । ०६२/६३ को जनआन्दोलनले राजतन्त्र ढल्यो । पटकथा, पात्र, द्वन्द्व र सेटिङमा महत्वपूर्ण परिवर्तन हुन थाले । त्यसपछि लुटले न्यारेसनमा उछाल ल्यायो । समाज यति अगाडि बढ्यो कि विश्वव्यापीकरणबाट काठमाडौं र मोफसल अछुतो रहेन । यद्यपि, फिल्मले आफूलाई राजनीति, समाज र अर्थशास्त्रीय परिवर्तनको गतिमा उभ्याउन सकेन । यसकारण नेपाली फिल्म नेपाली समाजभन्दा निकै पछाडि छ ।

० फिल्ममा मौलिकता भनेको के हो ?
– शुरुमा त म यो टर्मोलजी (कथ्य)सँगै असहमत छु । किनभने म फिल्मलाई मौलिक वा अमौलिक भनेर विभाजन गर्न चाहन्नँ । मेरा लागि शुरुमा फिल्म दृश्य भाषा हो । तपाईं कथालाई कसरी दृश्यमार्फत अभिव्यक्त गर्नुहुन्छ त्यो प्रधान हो । पछिल्लो समय मौलिकता भनेर खुवै भनिन्छ । सम्भवतः यो डिफाइन राष्ट्रवादको सङ्क्षिप्त उदाहरण हुनुपर्छ । नेपाली टोपी, नेपाली हावा, पानी र माटो सुहाउँदो भन्ने महेन्द्रीय परिभाषा, हिमाल, पहाड, प्रकृति वा गरिबी यी विशेषता भए के मौलिकता हुने हो ? यी भनेको फिल्मको कथ्य संरचनामा आवश्यक तत्व मात्र हुन् । राष्ट्रिय सीमाभित्र फिल्मलाई कैद गर्नु अहिले ग्लोबल युगमा सान्दर्भिक देख्दिनँ म । हामी भाषाको आधारमा भन्न सक्छौँ । फिल्मको आफ्नै विधा हुन्छ र इमानदार भएर उक्त विधामार्फत कथा भन्ने हो । बरु, त्यो स्वाभाविक हुनुपर्छ । यसकारण मौलिकता भनेर जार्गन थप्न चाहन्न ।

० नेपाली फिल्मको कमर्सियल इको–सिस्टम के हो ?
– माक्र्सवादअनुसार सङ्ख्याले गुण दिने हो । तर, नेपालमा उल्टो भइरहेको छ । सङ्ख्याले गुण दिएको छैन । हामीकहाँ एन्टी–थेसिस भइरहेको छ । वर्षेनी सय फिल्म बन्छन्, गुणस्तर छैन । लगानीको स्रोत अपारदर्शी (छाया अर्थतन्त्र)मा आधारित छ । गैरआवासीय नेपाली, रियल स्टेट, म्यानपावर एजेन्सी र धेरथोर फन्ड जुटाएर फिल्म बनाउने छन् । सरकार उद्योग मान्न तयार छैन । कर्पोरेट लगानी सुक्खा छ । कर्पोरेट हाउसले नेपाली फिल्मलाई पत्याउँदैन । अर्थात्, उसको परिभाषामा फिल्म घाटाको व्यापार हो । केही फिल्मले कमाउँछन्, तर समग्रता होइन । भविष्य बन्नको लागि वर्तमान पूर्वसर्त हो । नेपाली फिल्मको वर्तमान छैन । नेपाली मध्यमवर्गको उदयसँगै मल्टिप्लेक्स संस्कृति त उदाएको छ, तर खपत हुने फिल्मको गुणस्तर जोखिमपूर्ण छ । नेपाली फिल्मको इको–सिस्टम अहिले बिरामी छ ।

० भविष्यमा हलिउड र भारतीय फिल्मको प्रभुत्व अझै बढ्नेबारे के भन्न चाहनुहुन्छ ?
– वर्ष २०१८ मा मात्र ४ वटा हलिउड फिल्मले नेपालमा डेढ करोड ग्रसभन्दा माथिको व्यापार गरे । झन्डै दर्जन भारतीय फिल्मले वर्ष समाप्तिसम्म राम्रै कमाए । अहिले नेपाली बजारमा दक्षिण भारत प्रभावशाली बन्दै छ । गत वर्ष मोफसलमा मात्र १३ वटा थ्रीडी हल बने । यी सबैमा हलिउड रिलिज भयो र राम्रै रिभेन्यु कमायो । काठमाडौंकै कमाइमा अहिले हलिउडले मोफसलमा समेत व्यापार गर्न थालेको छ । मध्यमवर्ग उदयसँगै मोफसलमा धमाधम फस्टाएको मल्टिप्लेक्स संस्कृतिको अर्थ हो हलिउड पहुँच । भारतीय सांस्कृतिक प्रभुत्व पहिल्यैदेखि हो । अब अमेरिकी सफ्ट पावर आउँदै छ । पछिल्लो दशकमा नेपाली जनताको चेतनास्तर र आर्थिक पक्षमा उल्लेख्य बढोत्तरी भएपछि उनीहरूको रुचि मनोरञ्जनतर्फ ढल्किएको छ । फिल्म कल्चर विकास हुँदै छ । मध्यमवर्गको बानी अस्थिर हुन्छ । ऊ फिल्मलाई राष्ट्रियताको परिभाषामा कैद गर्न चाहन्न । ऊ हलिउड हेर्छ र इन्जोय गर्छ । ऊ साउथ फिल्म हेर्छ र इस्केप्टिक बन्छ । पुँजीवादको विकाससँगै सहरोन्मुख गाउँमा अङ्ग्रेजी भाषाको आकर्षण बढेको छ । जसको प्रभाव हलिउड रुचिमा देखापरेको छ । मध्यमवर्ग ग्लोकल (ग्लोबल र लोकलको मिश्रण) बन्न चाहन्छ । जसको नतिजास्वरूप हलिउड प्रभाव अझै बढ्न सक्छ ।

० वर्ष २०१९ मा नेपाली फिल्मको ट्रेन्ड कता जान सक्छ ?
– मैले नयाँ वर्षबाट खास अपेक्षा गरेको छैन । अघि नै भनेजस्तै भविष्य हुनको लागि वर्तमान चाहिन्छ । नेपाली फिल्मसँग वर्तमान छैन । यसलाई निराशावादी कोण भन्न नमिल्ला । मेनस्ट्रिम फिल्मकै प्रभुत्व स्थापित हुन सक्छ । केही नवीन र फिल्मलाई कलात्मक कोण दिने तन्नेरीले प्रयत्न त गर्नेछन्, तर त्यो आवाज सानो हुनेछ । नेटफिल्क्स प्रभाव अझै बढ्ने मेरो अनुमान छ । यो भनेको नेपाली फिल्म हललाई चुनौती हो । न्यारेटिभमा नवीन प्रयत्न नहुन सक्छ वर्तमान हेर्दा । अवसाद प्रवृत्तिका फिल्मकै बाढी आउनेछ । फिल्ममा अवसाद (अब्र्जडिटी)को अर्थ हाँस्नु न रुनु । यस्ता फिल्म अर्थविहीन हुन्छन् । जसको ध्येय एनिहाउ पैसा कमाउ भन्ने हो । सामाजिक दायित्य यी फिल्मसँग हुनेछैन । यस्ता फिल्मको निर्माण आउने वर्ष अझै बढ्न सक्छ । यद्यपि, आशावादी बन्नुको विकल्पचाहिँ छैन ।