घोराहीमा सिएमए संघको राष्ट्रिय भेला सम्पन्न

घोराहीमा सिएमए संघको राष्ट्रिय भेला सम्पन्न


  • पुनहरि बेल्बासे, दाङ

नेपाल सरकार र नेपाल सिएमए संघबीच भएका सहमति र निर्णय कार्यान्वयन गराउनुपर्ने, त्यसो नभए आन्दोलनमा जानेलगायतका विभिन्न सातवटा प्रस्तावको निर्णय गर्दै नेपाल सिएमए संघको चौथो राष्ट्रिय भेला आइतबार (चैत्र ११) प्रदेश नं ५ को घोराही दाङमा सम्पन्न भएको छ ।

सरकारले नेपालमा रहेका एकलाख बढी सिएमएहरुको पेशागत हकलाई कुण्ठित गरेको कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।

प्रमुख अतिथि तथा नेपाल नेपाल सिएमए संघका संस्थापक अध्यक्ष गणेश साउदले मुलुकी ऐनको दफा २३० मा र जनस्वास्थ्य ऐनको दफा २८ मा नेपालका सिएमएहरुको हकअधिकारलाई सुरक्षित गरिएको भए पनि सरकारले उक्त अधिकारहरुलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको आरोप लगाए ।

उनले मुलुकी ऐनमा व्यवस्था भइसकेको विषयलाई पनि मन्त्रीपरिषदबाट अर्को नमुना ऐन बनाउन खोजेर सिएमएहरुको अधिकार कुण्ठित गर्न सरकार लागिरहेको बताए । मुलुकी ऐन र जनस्वास्थ्य ऐनमा व्यवस्था भएका सिएमएहरुको अधिकारलाई सरकारले अझै पनि कार्यन्वयन गर्न आनाकानी गरेर हाम्रो अधिकारमाथि खेलवाड गर्छ भने जस्तोसुकै संघर्ष गर्न बाध्य हुने विचार उनले व्यक्त गरे ।

नेपाल सिएमए संघका वर्तमान केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ५ का संयोजक गोपाल उपाध्यायले २०७४ साल कार्तिक १ गते स्वास्थ्यमन्त्रीले गरेको निर्णयको किन कार्यान्वयन भएन भनि सरकारसंग प्रश्न गरे । स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा २२ ले सिएमएहरुलाई पेशागत रुपमा बन्देज गरेकाले उक्त निर्देशिका संशोधन गरी संचालनमा रहेका निजी क्लिनिकलाई यथावत संचालनमा रहन दिन मन्त्रालयलाई परिपत्र गर्न निर्देशन दिएको भए पनि सरकारले बेवास्ता गरेको भन्दै सरकारको युवा स्वरोजगार कार्यक्रमको पनि खिल्ली उडाएको आरोप लगाए ।

नेपाल सिएमए संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष दीपक शर्माले हामीले हाम्रो पेशागत हक प्राप्तिको लागि सशस्त्र जनयुद्धका बेलादेखि नै माग राख्दै आउँदा पनि यो १५ वर्षको समयसम्ममा पनि हरेक सरकारले आफूहरुमाथि अन्याय गर्दै आइरहेको जिकीर गर्दै सिएमएहरुलाई एकत्रित गराउन हिँड्ने समयमा आफ्ना छातीमा बन्दुक पनि तेर्साइएको तितो अतीत स्मरण गराए ।

केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले आस्थाका हिसाबले सिएमए साथीहरु आआफ्ना सिद्धान्तमा हुनुहोला त्यो आफ्नो निजी विचार हो तर नेपालका एक लाख बढी सिएमएहरु पेशागत हिसाबले एकजुट भइसकेकाले नेपालका सिएमएहरुलाई सरकाले नजिस्काउन सुझाव दिँदै मन्त्रीस्तरीय बैठकबाट भएका निर्णयहरु तुरुन्त कार्यान्वयनको माग गरे ।

कार्यक्रममा नेपाल सिएमए संघका केन्द्रिय उपमहासचिव इश्वरप्रसाद चापागाईले संघको प्रतिवेदन पेश गरेका थिए ।

आर्थिक वर्ष ०७५÷७६ मा संघको लागि अतुलनीय कार्य गरेकाले केन्द्रिय सदस्य बिन्दु प्रजापतिलाई सम्मान पनि गरिएको थियो ।

सहभागीबाट उठेका प्रश्नहरुको जवाफ संस्थापक अध्यक्ष गणेश साउद र वर्तमान अध्यक्ष रामेश्वर प्रसादले दिएका थिए ।

कार्यक्रम संघका अध्यक्ष रामेश्वर प्रसादको अध्यक्षता, संस्थापक अध्यक्ष गणेश साउदको प्रमुख आतिथ्यता, उपाध्यक्ष गोपाल उपाध्यायको स्वागत तथा महासचिव लालबहादुर खड्काको संचालनमा, सम्पन्न भएको थियो ।