पच्चीस सय वर्ष पुराना अन्डा सग्लै भेटिएपछि…

पच्चीस सय वर्ष पुराना अन्डा सग्लै भेटिएपछि…


पुरातत्वविद्हरूले चीनको जियाङ्सु प्रान्तमा दुई हजार पाँच सय वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

नानजिङ म्युजियम इन्स्टिच्युट अफ आर्कियोलोजीका अनुसन्धाताहरूले लियाङ सहरको साङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।

मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एकजना पुरातत्वविद झाओ हेङमिङले बताए ।

‘सेतो र पहेँलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्नेबारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुन सक्ने अनुसन्धाताहरूको भनाइ छ ।

प्राचीन चिनियाँ चिहानहरूमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरूका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो ।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा पुरातत्वविदहरूले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।