तनहुँबाट चन्द समूहका तीन कार्यकर्ता पक्राउ

तनहुँबाट चन्द समूहका तीन कार्यकर्ता पक्राउ


नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनील कुमाल र जुम्लाका अमर बुढा छन् ।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई उनीहरूकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई अनुसन्धान थालिएको छ । उनीहरूका साथबाट चन्दा रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले गत फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो ।